+
+

बेचन झाको दोहोरो नागरिकता, प्रहरीले माग्यो भारतीय पक्षसँग जानकारी

झा अनुसन्धानको फाइल छिटो बुझाउन दबाब

भारतमा पनि नागरिकता रहेको भन्ने खुलेपछि प्रहरीले कुटनीतिक च्यानलमार्फत विवरण माग गर्दै पत्राचार गरेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ साउन १४ गते २०:२६

१४ साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो ।

झाको नागरिकतामा उल्लिखित विवरणअनुसार उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ ।

तर, अनलाइनखबरले प्राप्त गरेको झाको व्यक्तिगत विवरणका आधारमा भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा हेर्दा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता रहेको देखिन्छ ।

पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ । विस्तृत विवरणमा उनको आफन्तको नाममा दुखनमोचन झा उल्लेख छ । २०६३ सालमा लिएको नेपाली नागरिकताको प्रमाण–पत्रमा दुखमोचन झा उनको बुबा भएको उल्लेख छ । झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले पक्राउ गरेर १५ असारमा काठमाडौं ल्याएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बेचन झाको जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ ।

उनका छोरा विभांशुशेखर झाले ३० असारमा बुबालाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतलमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । तर, जिल्ला अदालतबाट म्याद लिएरै हिरासतमा राखेको देखिएको भन्दै सर्वोच्चले बुधबार रिट निवेदन खारेज गरिदिएको थियो ।

यसरी निवेदन दिएका छोरा विभांशुशेखर झाको नाम पनि सन् २०२४ को भारतीय लोकसभा निर्वाचनमा योग्य मतदाताको रुपमा उल्लेख छ ।४० वर्षका उनको मतदान केन्द्र पनि मरुकियाको प्राथमिक स्कुल नै रहेको मतदाता सेवा पोर्टलमा उल्लेख छ ।

अर्का छोरा जिष्याशुशेषर झा र पत्नी चन्द्रिका देवीको पनि मतदाता नामावलीमा नाम उल्लेख छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बेचन झाको पृष्ठभूमि हेर्दा उनको जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ । यद्यपि, नागरिकता भने दुवैतिरको चलाइरहेको देखिएको उनी बताउँछन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले पनि झाको दोहोरो नागरिकताबारे छानबिन भइरहेको अनलाइनखबरसँग पुष्टि गरेका छन् ।

‘भारतमा पनि नागरिकता रहेको भन्ने खुलेपछि कूटनीतिक च्यानलमार्फत नै विवरण माग गर्दै पत्राचार गरेका छौं’, उनले भने, ‘उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेर भारतीय पक्षसँग आधिकारिक विवरण माग्छौं ।’

अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक नै हुन् । ‘नेपाली नागरिकसँग विवाह गरेपछि बेचनले चाहिँ यता पहुँच बनाएको खुलेको छ’, ती अधिकृत भने, ‘विवाहपछि उनी पुराना तराई कांग्रेसका नेता एवं पूर्वमन्त्री वेदानन्द झाको परिवारसँग जोडिएका थिए ।’

जानकारहरुका अनुसार, त्यसबेला उनले श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए । सामान्य ठेक्कापट्टा हुँदै पछि उनी विद्युत्का सामग्रीको ठेक्कापट्टामा सक्रिय रहे । सुरुमा भारतमा उत्पादन हुने विद्युतका उपकरणको आयातकर्ताका रुपमा काम गरेका उनले पछि अन्य मुलुकबाट पनि सामान ल्याउने थालेका थिए । त्यसक्रममा विभिन्न नेपाली व्यवसायी, कर्मचारी लगायतसँग पनि जोडिएका थिए ।

विवाहपछि बनेको राजनीतिक नेक्सस

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, तराई कांग्रेसका नेता वेदानन्द झाको भाइकी छोरी विवाह गर्नुको लाभ उनले पाएका थिए । त्यही सम्बन्धका कारण उनी नेपाली कांग्रेसका नेताहरुसँग नजिक भएका थिए ।

अधिकृतहरुका अनुसार, कतिपयले उनी कुनै बेला नेपालस्थित भारतीय दूतावाससँग पनि नजिक रहेको समेत बताएका छन् ।

‘एक जना राजदूतसँग राम्रो सम्बन्ध बनाएपछि थप नेताहरुसँग चिनजान हुने अवस्था बनेको थियो’, एक अधिकृतले भने, ‘ठेक्कापट्टाको कामकै सिलसिलामा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो भुषण राणासँग पनि चिनजान भएको देखिन्छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा उनले अधिकांश प्रश्नमा इन्कारी जवाफ दिएका छन् ।

व्यवसायिक कामको सिलसिलामा भुषणसँग जोडिएपछि उनीमार्फत नै आरजु राणा देउवासँग चिनजान भएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । यसपछि उनी तराईका अन्य केही कांग्रेस नेतासँग पनि नजिकिएका थिए ।

‘मूलतः दूतावाससँग राम्रो सम्बन्ध भएको भन्ने ठानेर कतिपय नेताहरु उनीसँग नजिक भएको जस्तो देखिन्छ’, उनले भने, ‘खास उनको केही सम्बन्ध थियो कि थिएन भन्ने खुलेको छैन ।’

झाले पनि त्यसबारे केही बताउँदैनन् । जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा उनले अधिकांश प्रश्नमा इन्कारी जवाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी सानु भण्डारीले भने झाले मन्त्रिपरिषद्बाटै आफूहरु अनुकूल निर्णय गराइदिने जिम्मा लिएको बताएका थिए ।

प्रकरणमा मुछिएका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि शरणार्थी समस्यालाई राजनीतिक परियोजनाको रुपमा विकास गरेको देखेको भन्दै झाको बयान लिएपछि मात्र यसबारे गहिराइमा पुग्न सकिने बताएका थिए ।

कसरी जोडिए शरणार्थी प्रकरणमा ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको गिरोहले कार्यदल गठन गराएर त्यसको प्रतिवेदनमै फर्जी व्यक्तिहरुको नाम राख्ने योजना बनाएको अनुसन्धानबाट खुलेको थियो ।

रामबहादुर थापा बादल गृहमन्त्री रहेका बेला तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलका छोरा प्रतिक थापा लगायतको साथ भएपछि यो सम्भव हुने गिरोहको बुझाइ थियो ।

त्यसका लागि गिरोहले शरणार्थी समस्या समाधानबारे छानबिन गर्न बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलमा पनि आफू अनुकूल सदस्य पनि नियुक्त गराएको थियो । यद्यपि, २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बुझाएको प्रतिवेदनमा विचौलियाका सूचीका व्यक्तिहरु परेनन् ।

कार्यदलसमक्ष ८७५ जनाले शरणार्थी गणनामा छुटेको भन्दै निवेदन दिएका थिए । तर, कार्यदलले प्रमाण नभेटिएको भन्दै नाम समावेश गर्न अस्वीकार गरेको थियो । यसपछि उनीहरुले फेरि कार्यदलको प्रतिवेदन नै हेरफेर गर्ने योजना बनाए ।

त्यहीबेला तत्कालीन सचिव राईले अध्ययनका लागि भन्दै ११ फागुन २०७७ मा त्यो प्रतिवेदन मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाए । २९ असार २०७८ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । गिरोहका सदस्यलाई आफू अनुकूल निर्णय गराउन नयाँ सरकारमा छुट्टै नेक्सस चाहियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी लगायत अदालतमा । फाइल तस्वीर ।

‘यो चरणमा चाहिँ सानु भण्डारीले पहिल्यैदेखि चिनजानका बेचन झासँग कुराकानी गरेको पाइएको छ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतले भने, ‘झाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग कनेक्सन गराइदिन सक्छन् भन्ने भएपछि उनले प्रस्ताव गरेको देखिन्छ ।’

अनुसन्धान अधिकृतहरुका अनुसार, त्यसबापत झालाई दुई करोड रुपैयाँ दिने अनौपचारिक सहमति भएको भेटिएको छ । प्रतिवादी रामशरण केसीले त्यो रकम बराबरको चेक दिएको अनुसन्धानका क्रममा पनि खुलेको थियो ।

‘झाले त्यसपछि भुषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत शरणार्थी सम्बन्धी काम अघि बढाउन सहजीकरण गरिदिन भनेका थिए’, प्रहरी स्रोतले भन्यो, ‘त्यसक्रममा तत्कालीन प्रधानमन्त्री देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरुबारे हेरिदिन सन्देश दिइएको भेटिएको छ ।’

यसपछि गृह प्रशासनको नेतृत्व गरेका खाँणसँग विचौलिया झाले भेट गरेर आफू अनुकूल निर्णय गराएको पाइएको अधिकृतहरु बताउँछन् । अनुसन्धान अधिकृतहरुका अनुसार, प्रतिवेदनमा आफूहरुको सूचीका व्यक्तिहरु नपरेपछि पन्थी कार्यदलको प्रतिवेदनबारे पुनर्विचार गर्न फेरि अर्को समिति मन्त्रालयले बनाएको थियो ।

नयाँ समितिका सदस्यहरुलाई आफू अनुकूल निर्णय गराउन पटकपटक ताकेता गरिदिनु पनि झाकै दबाबको परिणाम भएको अधिकृतहरुको भनाइ छ । यसबारे प्रतिवादी सचिव टेकनारायण पाण्डेले पनि प्रहरीसँगको बयानमा खुलाएको ती अधिकृत बताउँछन् ।

पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली राखिएको अनुसन्धानबाट खुलेको थियो । ‘त्यो प्रतिवेदन कसले फेर्‍यो भन्नेमा पहिल्यैदेखि अलमलमा थियौं’, एक अनुसन्धान अधिकृतले भने, ‘झा पक्राउ परेपछि त्यो सुल्झिएको छ – सानुले ल्याएर दिएपछि उनले नै मन्त्रालयमा दिएर प्रतिवेदनमा फर्न लगाएको खुलेको छ ।’

जानकारहरुका अनुसार, काठमाडौंका प्रहरी प्रमुख वसन्त रजौरेलाई झा प्रकरणको फाइल छिटो बुझाउन दबाब छ । यहीबीचमा उनको सरुवाको तयारी पनि भइरहेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?