+
+

११ वर्ष जेल बसेर निस्केपछि लगातार ८ वटा लुटपाट

जेलबाट निस्केको २ महिनापछि नै स्याङ्तानले लुटपाट सुरु गरेका थिए । २९ चैत २०८० मा चन्द्रागिरी नगरपालिका–८ चालेख देउरालीमा टहरामा होटल सञ्चालन गरी बस्ने इन्द्रकुमारी लामालाई स्याङ्तानको समूहले लुटपाट गरेको थियो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन १४ गते १९:०२

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरुमा पदयात्रा गर्ने समूहमाथि लुटपाट गर्ने समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार पक्राउ परेका धनबहादुर स्याङ्तान श्रंखलाबद्ध लुटपाट, जबरजस्ती करणी, करणी उद्योगमा समेत संलग्न व्यक्ति रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पछिल्लो समय उनी लगातार ७ वटा लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ । उनीसहितको समूहले मान्छेलाई हातखुट्टा बाँध्ने, बन्धक बनाउने र खुकुरी देखाउँदै लुटपाट गर्ने गरेको खुलेको प्रवक्ता अधिकारीले बताए ।

पछिल्लो पटक १२ साउनमा नागार्जुन नगरपालिका–७ स्थित बिन्ध्यबासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा स्याङ्तान काठमाडौंको स्यूचाटारबाट पक्राउ परेका थिए । कारमा जंगल घुम्न आएका ६ जना व्यक्तिहरुको सुनचाँदी, मोबाइल र नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई स्यूचाटारबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले ७ तोला ६४ लालका सुनका गरगहना, ४.७९ तोलाको चाँदीको गहना र नगद १३ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । प्रहरीले उनीबाट लुटपाटमा प्रयोग भएको दुई थान खुकुरीसमेत बरामद गरेको छ । यो समूहका अझै कम्तीमा ५ व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका स्याङ्तानमाथि डाँकाचोरी तथा जबर्जस्ती करणी उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्याङ्तान पक्राउ परेपछि अनुसन्धान गर्दा हाइकिङ जाने व्यक्तिमाथि लुटपाट गर्ने समूहका मुख्य व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

उनी डाँकाचोरी तथा बलात्कारको कसुरमा साढे ११ वर्षभन्दा बढी समय जेल बसेर ११ माघ २०८० मा मात्रै छुटेर पुन अपराधकर्ममा लागेको खुलेको छ ।

जब मोबाइल छाडेर भागे

जेलबाट निस्केको २ महिनापछि नै स्याङ्तानले लुटपाट सुरु गरेका थिए । २९ चैत २०८० मा चन्द्रागिरी नगरपालिका–८ चालेख देउरालीमा टहरामा होटल सञ्चालन गरी बस्ने इन्द्रकुमारी लामालाई स्याङ्तानको समूहले लुटपाट गरेको थियो ।

स्याङतानसहित ३ जनाको समूह उक्त टहराको होटलमा गएर इन्द्रकुमारी र उनका छोरा नवबुद्धलाई आक्रमण गरी घाइते बनाएर १ लाख ७ हजार रुपैयाँ र सुनका गरगहना लुटपाट गरेको पाइएको छ ।

लुटपाट गरेर भाग्ने क्रममा स्याङ्तानको मोवाइल त्यहीँ छुटेको थियो । उक्त मोबाइलमार्फत प्रहरीले अनुसन्धान गर्दा स्याङतानले श्रीमतीको नामबाट एनसेलको सीम निकालेर प्रयोग गरेको खुलेको थियो । त्यसपछि लुटपाटमा स्याङ्तानको संलग्नता रहेको खुलेको थियो ।

लुटपाटमा स्याङ्तान रहेको खुले पनि त्यसको करिब चार महिनापछि मात्रै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

रातभर बन्धक बनाएर लुटपाट र करणी उद्योग

स्याङ्तानको समूहले २८ असार २०८१ मा दुई महिलालाई बन्धक बनाएर करणी उद्योग गरेर लुटपाट गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

२८ असारको राति ९ बजे बुढानीलकण्ठ नगरपालिका–३ बाट तारेभिरतर्फ जाने क्रममा स्याङ्तानसहित चार जनाको समूहले गिरिजा शान्ति पार्कमा दुई महिलालाई बन्धक बनाएको खुलेको छ ।

राति ९ बजेदेखि बिहानको ४ बजेसम्म बन्धक बनाएर यातना दिई उनीहरुको साथमा रहेको २ थान मोबाइल लुटपाट गरेको प्रहरीको भनाइ छ । पछि पीडितले प्रहरी प्रभाग बुढानीलकण्ठमा लुटपाटको उजुरी दिएका थिए ।

यस्ता छन् अन्य लुटपाटका घटना

१५ असारको बिहान करिब साढे ६ बजेतिर दक्षिणकाली नगरपालिका–५ चम्पादेवी मन्दिर नजिक स्याङ्तानको समूहले लुटपाट गरेको थियो । यो समूहले लालबहादुर खड्का समेत ७ जना व्यक्तिलाई खुकुरी देखाउँदै लुटपाट गरेको थियो । उनीहरुबाट ८ थान मोबाइल लुटिएको प्रहरीको भनाइ छ ।

प्रहरीले अहिले स्याङ्तानलाई पक्राउ गर्दा बरामद भएको सामसुङको जे फाइभ मोबाइल समेत त्यसबेला लुटिएको ८ थानमध्ये एउटा रहेको पाइएको छ ।

त्यस्तै २९ असारमा बागद्वारबाट ६ जनालाई स्याङ्तानकै योजना र प्रत्यक्ष संलग्नतामा लुटपाट भएको पाइएको छ । बिहान साढे १० बजेतिर बुढानीलकण्ठ नगरपालिका–३ बाट बागद्वारतर्फ जाने क्रममा स्याङ्तानसहित ४ जनाको समूहले शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बागद्वारबाट दीपक शर्मा पोख्रेलसमेतका ६ जना व्यक्तिलाई लुटपाट गरेका थिए । त्यतिबेला ६ थान मोबाइल र २ थान घडी लुटपाट भएको थियो ।

त्यही दिन राति ८ बजेतिर बुढानीलकण्ठ–३ बाट गिरिजा शान्तिपार्क तर्फ जाने क्रममा दिनेश पोखरेलको साथमा रहेको २ थान मोबाइल लुटेर स्याङ्तान फरार रहेको पाइएको छ ।

२९ असारकै राति साढे ११ बजेको समयमा गिरिजा शान्तिपार्कतर्फ जाने क्रममा प्रविण शेर्मा लिम्बूको २ थान मोबाइल, सुनको औठी र सिक्री लुटेर स्याङ्तान फरार रहेको पाइएको छ ।

बालगृहमा लुटपाट र बलात्कार

स्याङ्ताङ यसअघि पनि जेल बसेर निस्केका व्यक्ति रहेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । ललितपुरको खोकनामा उत्तम टमाटाले सञ्चालन गरेको बाल गृहमा स्याङ्तानसहित ३ जनाको समूहले लुटपाट गरेका थिए । ८ जेठ २०६९ मा टमाटाको बाल गृहमा स्याङ्तानको समूह गएको थियो ।

त्यतिबेला उनीहरुले खुकुरी र पेस्तोलसमेत देखाएर लुटपाट गरेको खुलेको छ । त्यसबेला स्याङ्तानको समूहले २ लाख ७६ हजार रुपैयाँ लुटपाट गर्नुका साथै बलात्कारसमेत गरेको पाइएको छ ।

घटनाको करिब डेढ महिनापछि १७ असार २०६९ मा उनी पक्राउ परेका थिए । डाँका चोरी तथा जबर्जस्ती करणीको मुद्दामा दोषी ठहर भएर उनी ११ वर्ष ६ महिना २४ दिन कैद बसेर ११ माघ २०८० मात्रै ललितपुरको नख्खु कारागारबाट छुटेका व्यक्ति हुन् ।

कारागारबाट छुटेपछि फेरि उनले श्रंखलाबद्ध रुपमा लुटपाटको धन्दा चलाएको खुलेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?