+
+
सहकारी संकट : ४६ :

सहकारी बैंक अध्यक्ष उप्रेती सहित नौविरुद्ध सहकारी ठगीमा मुद्दा दायर

मर्जर अगाडि नै समस्या देखिएका संस्थामा मर्जरपछि एकीकृत कारोबार सुरु नभए पनि सबै संस्थाले बचत फिर्ता गर्न सकेका छैनन् । सात संस्थाको एकीकृत कारोबार ७ अर्बभन्दा धेरै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १९:०५

१४ साउन, काठमाडौं । राष्ट्रिय सहकारी बैंक अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन समेतका आधारमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले उप्रेती सहित नौ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दायर गरेको थियो ।

सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महत विरुद्ध अभियोगपत्र दायर भएको छ ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल विरुद्ध अभियोगपत्र दायर भएको छ । त्यस्तै मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई समेत विपक्षी बनाइएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको हो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको हो ।

उप्रेती तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी अध्यक्ष हुन् । मर्जर अगाडिको सबैभन्दा ठूलो संस्था रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारीको नेतृत्व कुयाङ लामाले गरेका थिए ।

यस्तै नागरिक कल्याणका अध्यक्ष हस्त रावल, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी अध्यक्ष मनोज थापा मगर, घेदुङ बहुउद्देश्यीय सहकारी अध्यक्ष मोहनकुमार लामा हुन् ।

यी पाँच सहकारी ‘मर्ज’ (एकापसमा गाभिनु) भए पनि एकीकृत कारोबार सुरु नगरी ‘डिमर्ज’ (छुट्टिने) निर्णय गर्दै सहकारी विभागमा निवेदन दिएका थिए । तर, विभागले डिमर्जको स्वीकृति दिएन ।

मर्जर अगाडि नै समस्या देखिएका संस्थामा मर्जरपछि एकीकृत कारोबार सुरु नभए पनि सबै संस्थाले बचत फिर्ता गर्न सकेका छैनन् । सात संस्थाको एकीकृत करोबार ७ अर्बभन्दा धेरै छ ।

७ अर्बमाथिको बचत दायित्व रहे पनि प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धान भएर १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी गरेको पुष्टि भएको भन्दै अभियोगपत्र दर्ता भएको हो ।

‘प्रतिवादीहरू कृष्णबहादुर उप्रेती, शिवप्रसाद कट्टेल, मुकुन्द्रप्रसाद पाण्डे, बद्री महत, प्रकाशमान शाही खड्गी, अरुण भण्डारी, विष्णुबहादुर रिमाल, राजु पौडेल, विश्वम्भर रिमाल समेतले बचतकर्तालाई आवश्यक परेको बखतमा सुलभ ब्याजमा ऋण दिने, राम्रो ब्याज दिने, बचत गरेको रकम विनाझन्झट झिक्न चाहेको खण्डमा निकाल्न सक्ने भनी उच्च व्याजदरको लोभ लालच देखाइ प्रभावमा पारी ठगी गरेको देखियो,’ अभियोगपत्रमा छ, ‘प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सजाय गर्नुका साथै मागदाबी गरिएको छ ।’

प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन् । उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

पक्राउ परेका उप्रेतीले मर्जर अगाडिका पाँच वटै संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उपसमिति समेत उक्त सहकारी ठगीमा बराबर जवाफदेही भएको बयान दिएका छन् ।

‘एकीकरण हुनुअघिका हाम्रो सगरमाथा बहुद्देश्यीय सहकारी संस्था सञ्चालक समिति र लेखा समितिमा रहेका व्यक्ति हाल उपसमितिमा रहेका हुँदा निजहरूलाई समेत जिम्मेवारी वहन गर्ने दायित्वबोध गरी जिम्मेवार बनाउनुपर्छ,’ उनले बयान दिएका छन्, ‘प्रतिवादीमध्येका कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्था र हस्त रावत अध्यक्ष रहेकोे नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था सञ्चालक समिति, लेखा समिति र उपसमितिका व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही गरी अपचलन गरेको रकम समेत दिलाउनुपर्छ ।’

उनले एकीकरणपछि आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी उपाध्यक्ष मनोजकुमार थापा मगर, सचिव कुयाङ छ्याङ दोर्जे लामा, कोषाध्यक्ष प्रजुलकुमार गुरुङ समेत कारबाहीको दायरामा आउनुपर्ने र अपचलन गरेको रकम दिलाउनुपर्ने बयान उप्रेतीले दिएका छन् ।

उक्त संस्थाका सञ्चालकहरू प्रकाशमान शाही खड्गी, श्रवणकुमार राई, हस्त रावत, मोहितकुमार तामाङ, गोपीनाथ घिमिरे, लेखा सुपरीवेक्षण समिति संयोजक कुमारसिंह घिसिङ, लेखा समिति सदस्यहरू बद्री महत, रामप्रसाद श्रेष्ठ समेत १२ जनाको संलग्नता र मिलेमतोमा सहकारीको रकम अपचलन गरी ठगी गरेको हुँदा उनीहरूलाई पनि जिम्मेवार बनाउनुपर्ने उप्रेतीको बयान छ ।

उप्रेतीको बयानका आधारमा संस्थाको रकम हिनामिना गर्ने कार्यमा संस्थाको उपसमिति समेत जिम्मेवार हुने भनी खुलाएकाले उक्त संस्थाको उपसमिति सदस्यहरू समेत जिम्मेवार रहेको पाइए सोही बखत कानुन बमोजिम प्रक्रिया अगाडि बढ्ने समेत अभियोगपत्रमा उल्लेख छ ।

 

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?