+
+

‘कछुवा गति’ मा नारायणघाट–बुटवल सडक आयोजना, तेस्रो पटक म्याद थप

यस पटक निर्माण कम्पनीले दिएको तालिका अनुसार काम नभए जुनसुकै बेला ठेक्का तोड्न सक्ने सर्तसहित अन्तिम पटकका लागि म्याद थपको निर्णय भएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन १४ गते १९:३६

१४ साउन, काठमाडौं । ‘कछुवा गति’ मा अगाडी बढिरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद तेस्रो पटक थप गर्ने निर्णय भएको छ ।

सडक विभागका अनुसार आयोजनाको म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो । तर, यस पटक सर्तसहित म्याद थपको निर्णय भएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

८ साउनमा आयोजनाको म्याद सकिएको थियो । यस पटक निर्माण कम्पनीले दिएको तालिका अनुसार काम नभए जुनसुकै बेला ठेक्का तोड्न सक्ने सर्तसहित अन्तिम पटकका लागि म्याद थपको निर्णय भएको उनले बताए ।

आयोजनाले दुई वर्ष म्याद थपका लागि प्रस्ताव गरे पनि विभागले एक वर्षका लागि, त्यो पनि अन्तिम पटक म्याद थप गर्न सकिने जानकारी निर्माण कम्पनीलाई गराइएको उनको भनाइ छ ।

यो आयोजनामा सरकारले सुरुको अवधिपछि यो तेस्रो पटक म्याद थप भएको हो । तर, आयोजनाको गति भने निकै सुस्त छ । आयोजना निर्देशक चुडाराज ढकालका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म नारायणघाट–बुटवल सडककोे भौतिक प्रगति ५२.५३ प्रतिशतमात्र छ ।

यो आयोजना निर्माण जिम्मेवारी चिनियाँ सरकारको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । आगामी फेब्रुअरी/मार्चसम्म दुई लेन सडक कालोपत्र गरिसक्नुपर्ने र म्याद थप बापत नेपाल सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने सर्तमा मात्र यस पटक म्याद थपको निर्णय भएको निर्देशक ढकालले जानकारी दिए ।

यसमध्ये आर्थिक भार नपर्ने गरी आयोजनाको काम अगाडि बढाउन कम्पनी सहमत देखिएको छ । तर, भौतिक प्रगतिलाई गति दिने सम्बन्धमा भने निर्माण कम्पनीले अझै पनि विभिन्न कारण देखाउने गरेको छ ।

कहिले–कहिले थपियो म्याद ?

पूर्व–पश्चिम महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर खण्ड यस आयोजनाभित्र पर्छ । सरकारले माघ २०७५ मा यो आयोजना निर्माण सम्झौता गरेको थियो । त्यसबेला आयोजनाको काम ४२ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो ।

सम्झौता अनुसार काम भएको भए आयोजना साउन २०७९ मा सकिनुपर्ने थियो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले एक/एक वर्ष म्याद थप गर्र्दै आएको छ ।

साउन २०८१ मा तेस्रो पटक म्याद थप भएको हो । आयोजनाको ठेक्का लागेको सुरुवाती वर्षहरूमा निर्माण सामग्री अभावमा कामले गति लिन नसक्नु, त्यही बेला कोभिड महामारी सहित समस्या आउनुलाई निर्माण कम्पनीले मुख्य समस्याका रूपमा लिने गरेको छ ।

के छ आयोजनाको हालसम्मको प्रगति ?

यो सडक आयोजनालाई गैंडाकोट–दाउन्ने (६४.४२ किलोमिटर) पूर्वी खण्ड र दाउन्ने–बुटवल (४८.५८ किलोमिटर) पश्चिम खण्डमा विभाजित गरिएको छ ।

सडक विभाग अन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार यो आयोजनामा २०८०/८१ मा १५.३६ प्रतिशतमात्र भौतिक प्रगति भएको देखिएको छ । जसमध्ये कल्भर्ट निर्माण र कालोपत्रको कामले केही गति लिएको देखिन्छ । तर, पुल निर्माण र साइड ड्रेन निर्माणको काम भने सुस्त देखिन्छ ।

आयोजनामा कुल ४ सय ६२ कल्भर्ट निर्माण गर्नुपर्ने छ । तर, २०८०/८१ सम्म ३ सय ८० मात्र निर्माण भएका छन् । यस आयोजना अन्तर्गत साना–ठूला गरी कुल ६४ पुल निर्माण गर्नुपर्ने छ । यस आवको अन्त्यसम्म ४५ मात्र पुल निर्माण भएको देखिएको छ ।

यो आयोजनामा कुल १ सय १३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ । असार २०८१ सम्म ७५.२९ किलोमिटर मात्र सडक कालोपत्र भएको छ । आयोजनामा कुल १०६.१७ किलोमिटर साइड ड्रेन निर्माण लक्ष्य छ । गत आव अन्तिमसम्म ६१.५६ किलोमिटर निर्माण भइसकेको देखिएको छ ।

पाँच वर्षमा कति बन्यो नारायणघाट–बुटवल सडक ?

क्रियाकलाप लक्ष्य २०८०/८१ सम्मको प्रगति
कल्भर्ट (वटा) ४६२ ३८०
पुल (वटा) ६४ ४५
सडक कालोपत्र (किमी) ११२.९६ ७५.२९
साइड ड्रेन (किमी) १०६.१७ ६१.५६

वित्तीय प्रगति कति ?

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी यो आयोजनाको ठेक्का लागेको हो । आयोजनामा एसियाली विकास बैंक (एडीबी) ले लगानी गरिरहेको छ । ८५ प्रतिशत एडीबी र बाँकी नेपाल सरकारको सहवित्तीय लगानीमा आयोजना अगाडि बढाइएको हो ।

आयोजनाको २०८०/८१ सम्मको वित्तीय प्रगति ४५.२६ प्रतिशत पुगेको आयोजनाको विवरणमा उल्लेख छ । यो आयोजनामा गत आवमा मात्र १९.४१ प्रतिशत वित्तीय प्रगति भएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?