+

जापानी स्टार केसुके होन्डा फुटबल खेल्न नेपाल आउने

२०८१ साउन  १४ गते २०:३८ २०८१ साउन १४ गते २०:३८
जापानी स्टार केसुके होन्डा फुटबल खेल्न नेपाल आउने

१४ साउन, काठमाडौं । जापानी फुटबल स्टार केसुके होन्डा नेपाल आउने भएका छन् ।

उनी यही साउन २९ गते काठमाडौंमा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेल्न आउन लागेका हुन् ।

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको शहीद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच काठमाडौंमा खेल हुँदैछ ।

होन्डा त्यसै खेलका लागि पारो एफसीको टिमसँग आउन लागेका हुन् । पारोले आफ्नो अफिसियल फेसबुक पेजमा होन्डालाई अनुबन्ध गरेको जानकारी गराएको छ । होन्डाले इटलीको चर्चित क्लब एसी मिलान, रसियन क्लब सिएसकेए मस्को जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

सन् २००८ देखि २०१८ सम्म जापानको राष्ट्रिय टिमका लागि खेलेका उनले ९८ खेलमा ३७ गोल गरेका छन् । होन्डाले कम्बोडियाको राष्ट्रिय टिम र यू-२३ टिमको प्रशिक्षक समेत सम्हालेका थिए ।

होन्डाको आगमनले एसियन फुटबलको उच्च स्तरमा प्रतिस्पर्धा गर्नका लागि क्लबलाई सहयोग पुग्ने पारोले जनाएको छ ।

पारोले विलियम ओपोकु, जापानको कोकी नारितालाई पनि क्लबमा अनुबन्ध गरेको छ ।

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलका लागि नेपाली लिग च्याम्पियन चर्च ब्वाइजले पनि घरेलु फुटबलका नाम चलेका खेलाडीहरु अनुबन्ध गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।

चर्च ब्वाइजको कप्तानमा अनन्त तामाङ छन् भने राष्ट्रिय टोलीका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अञ्जन विष्ट पनि छन् । यस्तै एरिक विष्ट, आयुष घलान, लकेन लिम्बु, सनिश श्रेष्ठ, दीप कार्की लगायत खेलाडी पनि चर्च ब्वाइजमा अनुबन्ध भएका छन् ।

चर्च ब्वाइजले प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । यसअघि महर्जनकै प्रशिक्षणमा चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।

एएफसी होण्डा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय