+
+

युनिसेफले भन्यो-बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा

बाढीपहिरोबाट दक्षिण एसियामा ६० लाख बालबालिका प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते ७:२०
Photo Credit : पुष्पराज जोशी

१५ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ । युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६० लाख बालबालिका प्रभावित भएको अनुमान छ ।

मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । युनिसेफले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी यी देशहरुमा ६० लाखभन्दा बढी बालबालिका र तिनीहरुको परिवारको सुरक्षा र रहन-सहनलाई लिएर चिन्तित छौं, जसको घर छैन, जो विस्थापित भएका छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।’

युनिसेफका अनुसार वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ । बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ । दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ । उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ ।

युनिसेफका अनुसार जलवायु परिवर्तनका कारण अत्यन्त गम्भीर मौसमी घटनाहरु भइरहेका छन्, जसबाट बालबालिकाको जिन्दगी नै बदलिएको छ ।

युनिसेफको बाल जलवायु जोखिम सूचकांकका अनुसार नेपालभन्दा बढी अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानका बालबालिकाहरुले जलवायु परिवर्तनबाट सिर्जित विपत्तीको सामना गरिरहेका छन् । उसले पूरै दक्षिण एसियामा बालबालिकाको सुरक्षाका लागि विपद्को पूर्व तयारी र जलवायु अनुकूलन कार्यक्रम अझ मजबुत बनाउन ९३ लाख डलर खर्च गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिलसेमत गरेको छ ।

युनिसेफले नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ । कयौं घाइते भएका र कम्तिमा १ हजार ५८० परिवार प्रभावित भएका युनिसेफको तथ्यांक छ ।

युनिसेफले भनेको छ, ‘हामी प्रभावित बालबालिका र तिनका परिवारको सहायताका लागि नेपाल सरकार र साझेदारहरुसँग मिलेर काम गरिरहेका छौं ।’ नेपालका १ हजार ८१० बालबालिकासहित ४ हजार ५४० जनासम्म युनिसेफ पुगेको र उनीहरुलाई अस्थायी आवास, भाँडाबर्तन, पानी शुद्ध पार्ने औषधि, झुल र मनोपरामर्श सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

तस्वीर : पुष्पराज जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?