+

पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

२०८१ साउन  १५ गते ७:५१ २०८१ साउन १५ गते ७:५१
पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

१५ साउन, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१-७, २१-५ ले सहजै पराजित भए ।

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता  हो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १७२औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८, २१-६ ले पराजित भएका थिए ।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह पी मा प्रिन्ससहित ४ खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

पेरिस ओलम्पिक प्रिन्स दाहाल ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय