+
+

रोल्पाका कृष्णबहादुर : गाविस अध्यक्षदेखि प्रदेश प्रमुखसम्म

टोपराज शर्मा टोपराज शर्मा
२०८१ साउन १५ गते ९:१०

१५ साउन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निरन्तर साथ दिँदै आएका रोल्पाका ६५ वर्षीय कृष्णबहादुर घर्तीमगर लुम्बिनी प्रदेश प्रमुख भएका छन् ।

२०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए । २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएका थिए । तर जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए । घर्तीले२०५० सालदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन् ।

घर्ती नेपाली कांग्रेस विभाजन भएर देउवाले बनाएको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थिए । घर्ती २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका थिए । २०५९ देखि प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनका नातेदार समेत रहेका घर्तीले पार्टीको १२औं महाधिवेशनमा उनै पुनलाई हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । प्रदेश सभापति पुनसँग गुट फरक भएकाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा उनी माडी गाउँपालिका वडा नं २ मा वडामै पराजित भएका थिए ।

माओवादीको आधार इलाका मानिएको रोल्पामा कांग्रेसलाई जोगाइराख्न सशस्त्र युद्धको समयमा पनि जिल्ला नछाडी बसेका घर्ती जनस्तरमा राम्रो घुलमिल भएका सरल नेताको रूपमा चिनिन्छन् ।

नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले कांग्रेसमा लामो समयदेखि क्रियाशील नेता घर्ती प्रदेशको प्रमुख भएकामा कांग्रेस मात्र नभई सिंगो रोल्पाली र प्रदेशका मगर समुदाय खुशी भएको बताए । ‘लुम्बिनी मगर समुदायको उल्लेख्य जनसंख्या भएको जिल्ला मात्र नभई इतिहासमा मगरात क्षेत्र पनि भएकाले घर्तीलाई प्रदेश प्रमुख बनाएर सिंगो प्रदेशलाई नै न्याय गरेको अनुभूति भएको छ,’ आचार्यले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि पार्टीले घर्तीलाई प्रदेश प्रमुख बनाएर न्याय गरेको बताएका छन् । ‘प्रदेश समितिसँग सल्लाह भएको त हाइन, हुने विषय पनि होइन तर यो निर्णयमा हामी सबै सन्तुष्ट छौं,’ पुनले भने ।

यसअघि मन्त्री छनोटमा केन्द्रले प्रदेश समितिसँग सल्लाह र समन्वय नै नगरेको भन्दै पुन पार्टी नेतृत्वसँग रुष्ट भएका थिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?