+
+

एक करोडभन्दा बढी खर्चेर बनेको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

रासस रासस
२०८१ साउन १५ गते १२:४१

१५ साउन, पोखरा । आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो ।

बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् ।

पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे । रंगशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए ।

रंगशालाको प्यारापिट पनि लथालिंग छ । ‘अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।’

पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रंगशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ ।

आव ०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख रुपैयाँ, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २५ रुपैयाँ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख रुपैयाँ बजेट खर्च भइसकेको छ ।

उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रंगशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताए । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रंगशाला परेको उनको टिप्पणी छ । ‘राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ’, उनले भने ।

लेखनाथ रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । ‘खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?