+

वर्षायाममा योनी संक्रमणबाट बच्न के गर्ने ?

२०८१ साउन  १५ गते १२:४७ २०८१ साउन १५ गते १२:४७
वर्षायाममा योनी संक्रमणबाट बच्न के गर्ने ?

वर्षाले चर्को गर्मीमा राहत दिने भए पनि विभिन्न किसिमका पानीजन्य रोगको जोखिम पनि त्यत्तिकै बढाउँछ । किनकि पानीको थोपा वायुमण्डलमा परेसँगै ओसिलोपन बढ्नाले हानिकारक जीवाणुहरू सक्रिय हुन्छन् ।

जसको प्रभाव कपाल र छालामा मात्र होइन, योनांगको स्वास्थ्यमा समेत पर्छ । सबैभन्दा बढी महिलाको योनीमा संक्रमणको जोखिम बढाउँछ ।

योनांगमा कसरी प्रभाव पार्छ ?

वर्षातको समयमा महिलाको योनांगमा बारम्बार चिलाउने समस्या हुनसक्छ । कतिपयलाई पटक-पटक संक्रमण पनि हुनसक्छ । किनकि यो समयमा योनांगलाई सुक्खा बनाएर राखेन भने हानिकारक सतहमा रहेका जीवाणु र ढुसी बढ्न थाल्छ । यी हानिकारक तत्त्वले नै चिलाउनेदेखि पिसाब संक्रमण समेत गराउँछ ।

ंक्रमणबाट बच्न के गर्ने ?

योनी सुक्खा राख्ने

महिलाको योनांग त्यसै पनि ओसिलो हुन्छ । त्यसैले दिसा-पिसाब गरेपछि योनी सफा गरी टिस्यु पेपरले पुछ्नु पर्छ । यसले कीटाणुहरूको वृद्धिको जोखिम कम गर्छ । तर सुक्खा बनाउँदा योनीलाई जोडले रगड्न भने हुँदैन । अन्यथा पास्ने र पोल्ने हुनसक्छ ।

पानीमा भिजेमा लुगा तुरुन्तै परिवर्तन गर्ने

वर्षाको समयमा लुगा प्रायः भिजेको छ । कसैको बानी भिजेको लुगा ढिला खोल्ने वा कुनै काममा लागेको भए सकेपछि मात्र खोल्ने हुन्छ । भिजेको कपडा लामो समयसम्म लगाइरहेमा योनीमा संक्रमण मात्र होइन, रुघाखोकी र ज्वरोले समेत समात्न सक्छ ।

त्यसकारण भिजेको लुगा तुरुन्तै परिवर्तन गर्नुपर्छ । यसबाहेक वर्षाको मौसममा कपडाहरू चाँडै सुक्दैनन् । कतिपयले भित्रीवस्त्र हल्का चिसो भए पनि लगाउने गर्छन् । यो पनि योनांगको लागि जोखिम साबित हुनसक्छ ।

वर्षातको समयमा आपतकालीन अवस्थाका लागि दुई जोर नयाँ भित्री वस्त्र तयारी अवस्थामा राखेर मात्रै निस्किनुपर्छ ।

सुतीको पेन्टी (अन्डरगार्मेन्ट) को प्रयोग 

आजभोलि बजारमा नाइलन, सिन्थेटिक, सिल्क जस्ता धेरै किसिमका कपडाले बनेका पेन्टी पाइन्छन् । योनांग स्वस्थ राख्न सुतीको पेन्टी नै प्रयोग गर्नु उचित हुन्छ । सुतीको पेन्टीले हावालाई पास गर्न सहज हुन्छ र ओसिलोपनलाई सोसेर सुक्खा राख्न मद्दत गर्छ । सिन्थेटिकबाट बनेका भित्रीवस्त्रले ओसिलोपनलाई बढावा दिने भएकाले संक्रमणको जोखिम हुन्छ ।

सुरक्षित यौन अभ्यास

वर्षायाममा योनांग बढी संवेदनशील हुन्छ । यस्तो अवस्थामा असुरक्षित यौन सम्पर्क भएमा संक्रमणको जोखिम हुनसक्छ । त्यसैले यौन सम्पर्क गर्दा पुरुषले कन्डमको प्रयोग गरेमा सबै प्रकारको संक्रमणको जोखिमलाई कम गर्छ । साथै, यसले योनीको पीएच लेभल कायम राख्न पनि मद्दत गर्छ ।

प्रतिरोध शक्ति बढाउने

वर्षायाममा संक्रमणको जोखिम फोहोरले मात्र नभई प्रतिरोध क्षमता कमजोर हुनाको कारणले पनि हुन्छ । यस्ता संक्रमणबाट जोखिम प्रतिरोध क्षमता बढाउन स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन गर्नुपर्छ ।

प्रतिरोधात्मक क्षमताले शरीरलाई सबै प्रकारका संक्रमणबाट बचाउँछ ।

महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिने

योनी पहिले नै ओसिलो हुने भएकाले वर्षाको मौसममा महिनावारी हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । महिनावारीको समयमा लामो समयसम्म रक्तस्राव हुन्छ । यस्तोमा लामो समयसम्म एकै प्याडको प्रयोगले पनि संक्रमणको जोखिम बढाउँछ ।

महिनावारी हुँदा चारदेखि पाँच घण्टामा रक्तस्राव भए पनि नभए पनि अनिवार्य प्याड परिवर्तन गर्नुपर्छ । यसबेला सम्भव भएमा सेनेटरी प्याडको सट्टा महिनावारी कप र ट्याम्पोन प्रयोग थप प्रभावकारी हुन्छ ।

ंक्रमणको लक्षण देखिए जथाभावी औषधि नखाने

कतिपयले संक्रमणका कारण योनी चिलायो वा राता बिमिरा आएमा जथाभावी औषधि लगाउने वा खाने गर्छन् । जुन हानिकारक हुनसक्छ ।

यदि योनी संक्रमणको लक्षण जस्तै- चिलाउने, पोल्ने, रातो बिमिरा वा सुन्निने भएमा चिकित्सकको सल्लाहमा मात्र औषधि लिनुपर्छ ।

योनी संक्रमण स्त्रीरोग
डा. सुनिता व्यञ्जनकार
लेखक
डा. सुनिता व्यञ्जनकार
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. व्यञ्जनकार हाल पाटन अस्पतालमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल दर्ता नम्बर ८७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय