+
+

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:३६

१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।

मंगलबार हेटौंडा उपमहानगरपालिका–१०, स्थित प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासकाे मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गाेविन्द लम्सालले जानकारी दिए ।

प्रदेश सभाको बैठक ३ बजेका लागि तय गरिएको छ । सत्ता साझेदार दल नेकपा एमालेकाे पनि विश्वासकाे मतसम्बन्धी निर्णय गर्नका लागि दलकाे बैठक बस्ने तयारी भइरहेकाे एमाले सांसद तथा निवर्तमानमन्त्री एकालाल श्रेष्ठले जानकारी दिए । एमालेले पनि लामालाई विश्वासकाे मत दिन ह्ववीप जारी गर्ने एक सांसदले बताए ।

लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

लामा ९ साउनमा एमालेको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । १० साउनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका उनले त्यसको दुई दिनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

मन्त्री बन्ने आकांक्षी धेरै भएकाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका बीच उनले दोस्रो पटकको प्रयासमा सरकार विस्तार गरेका थिए । कांग्रेस भित्रको विवादकै कारण १० साउन साँझ ५ बजेलाई राखिएको मन्त्रीहरुको सपग ग्रहण रोकिएको थियो । उनले कांग्रेसबाट एक मन्त्री थप्दै १४ सदस्यीय मन्त्रिपरिषद् बनाए ।

प्रदेश मन्त्रिपरिषद्‍मा कांग्रेसका मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन् । लामाले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?