+
+

सैनिक कलेजमा एमबीबीएस पढिरहेका राजेश तीन वर्षदेखि बेपत्ता

सेनासँग बुबाको माग – लास कि सास देऊ

राजेशले मोबाइल होस्टलमै छाडेको देखिएको छ । ‘लगभग डेढ/दुई सय मिटर अगाडि गएपछि सीसी टीभीको कभरेज छैन’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘फोन पनि होस्टलमै छाडेर गएकाले पत्ता लगाउन गाह्रो भयो ।’

गौरव पोखरेल गौरव पोखरेल
२०८१ साउन १५ गते २०:३३

१५ साउन, काठमाडौं । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी अहिलेसम्म फेला परेका छैनन् ।

सानोभर्‍याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय राजेश शाही १७ भदौ २०७८ मा बेपत्ता भएका थिए । उनको खोजीका लागि परिवारले जंगीअड्डा, नेपाल प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्म गुहारेपनि हालसम्म केही पत्ता लागेको छैन ।

बेपत्ता राजेशका बुबा दानबहादुर शाहीले उनको खोजीका लागि पहल गरिदिन भन्दै प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री, सभामुख र चारवटै दलका सचेतकसम्मलाई पटकपटक गुहारिसके ।

तर अहिलेसम्म केही पत्ता लागेको छैन । ‘पेन्सन र बैंकमा सुरक्षागार्डको काम गरेर आएको पैसा जति सबै कलेजमा बुझाएको थिएँ, नपुगेर श्रीमतीको पसल चलाइयो, ऋण समेत गरियो’, शाहीले भने, ‘अहिले न छोरो छ न त धनसम्पत्ति ।’

सैनिक कलेजको होस्टलबाट राजेशले अन्तिम पटक १६ भदौ २०७८ को राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतमा रहेकी आमा कृष्णा शाहीलाई फोन गरेका थिए ।

आफूले १६ वर्ष जागिर खाएको नेपाली सेनामा कार्यरत उच्च अधिकृतहरुसँग छोराको खोजी गरिपाउँ भन्दा पाएको रुखो व्यवहारप्रति उनी असन्तुष्ट छन् ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी भने शाहीको खोजीका लागि नेपाल प्रहरीलाई संलग्न गराइएको बताउँछन् । ‘यो अलि पहिलेकै घटना हो, उहाँको खोजी गरिदिन भनेर प्रहरीलाई पत्राचार गरेका थियौं’, उनी भन्छन्, ‘अहिले पनि के प्रगति भएको छ भनेर पत्र पठाइराख्छौं, तर उपलब्धी हात लागिसकेको छैन ।’

सैनिक कलेजको लापरबाही

सैनिक कलेजको होस्टलबाट राजेशले अन्तिम पटक १६ भदौ २०७८ को राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतमा रहेकी आमा कृष्णा शाहीलाई फोन गरेका थिए ।

‘झण्डै आधा घण्टासम्म कुरा हुँदा एकदमै हँसिलो र फुर्तिलो थियो, मेरो पढाइ सकिन लागेको छ दशैंमा घर आउँछु भनेको थियो’, आमासँग भएको कुराकानी उधृत गर्दै बुबा दानबहादुर भन्छन्, ‘त्यतिबेला बच्चा कुनै समस्यामा थियो भने बोली, मुड फरक हुन्थ्यो होला । तर त्यतिञ्जेल ऊ ठीकठाक थियो ।’

त्यसको केही समयपछि दिदी कल्पना शाहीसँग कुरा हुँदा राजेशका साथी आएर बोलाएको उनी सम्झन्छन् । ‘दिदीसँग कुरा भइरहेका बेला एक्कासी एकजना साथी आएर सरले बोलाउनुभएको छ, तुरुन्त जानुपर्‍यो भनेछ’, शाहीले भने, ‘त्यतिबेला आत्तिंदै पछि कुरा गरौंला भनेर काटेको थियो, त्यसपछि सम्पर्क नै भएन ।’

एकैपटक चार दिनपछि २१ भदौ २०७८ मा राजेशका एक जना साथीले फोन गरेर बेपत्ता भएको खबर सुनाएको शाही बताउँछन् ।

‘छोराको साथीले ल तपाईंहरु तुरुन्तै आउनू, तपाईंहरुको ठूलाबडा मान्छे कोही छन् भने त्यता पनि भन्नुस् भनेको थियो’, उनले थपे, ‘त्यसपछि आत्तिंदै काठमाडौं आउने तयारी गरिरहेका थियौं, बल्ल कलेजको वार्डेनको पनि फोन आयो ।’

कलेजका तत्कालीन वार्डेन मेजर डा. विकल श्रेष्ठले पाँचौं दिनमा फोन गरेर बल्ल ‘तपाईंको छोरा यहाँ छैनन्’ भनेर जानकारी गराएको शाही बताउँछन् ।

‘छोरा हराएको त्यत्तिका दिनसम्म जानकारी नदिनु सैनिक कलेजको लापरबाही हो कि होइन ?’, उनी प्रश्न गर्छन्, ‘अझ मैले हामी टाढा भएको परिवारले विश्वास गरेर कलेजलाई पूर्ण रुपमा जिम्मा लगाएको हो, तपाईंहरुलाई थाहा हुनुपर्छ भनेर भन्दा उनले फोन नै काटिदिए ।’

सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान ।

छोरा नभेटिएपछि शाहीले सैनिक कलेजबाटै अपहरण गरेर बेपत्ता पारिएको व्यहोराको जाहेरी लेखेर जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे । तर प्रहरीले जाहेरी लिन मानेन ।

दुई पटक दरपीठ भएपछि उनले जाहेरी दर्ता गराइदिन भन्दै सर्वोच्च अदालतमा निवेदन दिए । जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिलको कार्यालय, सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र गृह मन्त्रालयलाई विपक्षी बनाएर दिएको रिट निवेदनमा कलेजका पदाधिकारीले पीडित परिवारसँग राम्रो व्यवहार नगरेको उल्लेख छ ।

काठमाडौं आएपछि कलेजका प्राचार्य अरुण शर्मालाई भेटेर छोराबारे सोध्दा ‘तिम्रो छोरा बेपत्ता छ, खोजी कार्य विस्तारै हुन्छ’ भनेर निर्दयी जवाफ दिएको रिट निवेदनमा उल्लेख छ ।

‘सेनाको जिम्मेवार पदमा बसेका रथी बालकृष्ण कार्की, उपरथी सुरेश कार्की, प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग पनि अथक प्रयासपछि भेट गर्न सफल भएको थिएँ’, निवेदनमा भनिएको छ, ‘मैले मेरो छोराको कि लास चाहियो कि सास चाहियो भन्दा मिडियामा नजानु, गए राम्रो हुँदैन भनेर कोठाबाट बाहिर निकालेका थिए ।’

अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार, जाँचका क्रममा १७ भदौमा एक जना युवक कलेजको गेटबाट बाहिर निस्किएको देखिन्छ । ती व्यक्ति राजेश हुनसक्ने आशंका प्रहरी अधिकृतहरु गर्छन् ।

२० वैशाख २०७९ मा सुर्खेतमा भएको भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेर छोराको जीवन रक्षाका लागि अनुरोध गरेको उनले उल्लेख गरेका छन् ।

‘तर, मैले लास वा सासको भिख माग्दै रोइकराइ गरेर अनुनय विनय गर्दा चिफ सा’बबाट हराएको केटाको बाबु तँ होस् ? म कहाँबाट ल्याइदिउँ ? भन्ने जवाफ आयो’, शाही भन्छन्, ‘तैंले मिडियामा गएर म, जर्नेलहरु लगायत संस्थाको अपमान गरेको छस् विचार गर भनेर अभिभावकीय तथा पदीय मर्यादा विपरीत दुर्व्यवहारयुक्त वचन व्यक्त गर्नुभएको थियो ।’

के देखिएको छ अनुसन्धानमा ?

नेपाली सेनाको जंगीअड्डा स्रोतले राजेशको बानी व्यवहारमाथि प्रश्न उठाउँदै उनको खोजीका लागि अधिकतम प्रयास गरिएपनि फेला पार्न नसकिएको भनेको छ ।

बुबा दानबहादुर शाहीले भने अदालतमा बुझाएको रिट निवेदनमा ‘आफू अनुकूलको बोर्ड बनाएर अनुकुलको व्यहोरा खडा गरी नक्कली र झुटो विवरणसहितको प्रतिवेदन बनाइएको’ र त्यो प्रतिवेदन आफूलाई नदिइएको बताएका छन् ।

‘सुने अनुसार मेरो छोरालाई बेपत्ता बनाइसकेपछि चरित्र हत्या हुने गरी प्रतिवेदन बनाएर सो झुटा प्रतिवेदनको आधारमा कसैले सोधेमा जवाफ दिने गरेको सुनेको छु’, उनले भनेका छन् ।

अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार, जाँचका क्रममा १७ भदौमा एक जना युवक कलेजको गेटबाट बाहिर निस्किएको देखिन्छ । ती व्यक्ति राजेश हुनसक्ने आशंका प्रहरी अधिकृतहरु गर्छन् ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, राजेशले मोबाइल होस्टलमै छाडेको देखिएको छ । ‘लगभग डेढ/दुई सय मिटर अगाडि गएपछि सीसी टीभीको कभरेज छैन’, उनले भने, ‘फोन पनि होस्टलमै छाडेर गएकाले पत्ता लगाउन गाह्रो भयो ।’

बुबा दानबहादुरका अनुसार सेनाले त्यो भिडियो उनीहरुलाई पनि देखाएको थियो । ‘पछाडि मात्र देखिने खालको  छ, त्यो मेरो छोरा होइन’ उनले दाबी गरेका छन् ।

२४ घण्टा निगरानी र सुरक्षा घेरामा हुने सेनाको होस्टलबाट बच्चा आफूखुशी गयो भनेर अधिकृतहरु पन्छिएको भन्दै परिवारका सदस्यहरुले प्रश्न गरेका छन् । शाही भन्छन्, ‘सेनाको कलेजबाट एउटा विद्यार्थी आफूखुशी त्यति राति कसैको जानकारीबिना बाहिर निस्कियो भन्ने जवाफ कति गैरजिम्मेवार छ ?’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?