+
+

आखिर यो कथा कसको लागि ?

धर्मसँग गाँसिएको कथाले त अन्यायविरुद्ध आवाज उठाउन सिकाउँछ, कृष्णले पाण्डवलाई सिकाएझै, न कि अत्याचार सहन गर्न ।

अस्मिता विष्ट अस्मिता विष्ट
२०८१ साउन १५ गते १७:१०

संघर्षबाट थकित, कर्तव्य र सपनाको भारबाट अर्धमूर्छित हामी शहरबासी मुक्ति/उन्मुक्तिको हावामा सास फेर्न आतुर भएका बखत के गर्छौं ? सायद प्रवेश गर्छौं– कल्पनाको तिलस्मी संसारमा ।

त्यो संसार सायद सिनेमा हुनसक्छ वा हुनसक्छ कहिलेकाहीँ कन्सर्ट । त्यो हुनसक्छ– टेलिभिजनका गुलाबी पर्दामा आउने रियालिटी सो, फुटबल, क्रिकेट, ब्यूटी पजेन्ट पनि वा कहिलेकाहीँ पुराण ।

मन जब अशान्त हुन्छ र कुनै ठूलो पहाडले थिचेझै अनुभूति हुन्छ वा बाक्लो कुहिरो ढम्म बसेझै प्रतीत हुन्छ तब अघि बढ्न तय गरिएका गोरेटो अन्योलमा पस्छ । त्यसपछि लाग्छ, जिन्दगीको लय त्यसैत्यसै बिग्रिएको छ ।

त्यसबेला हामी आफूलाई एउटा स्थिरतातिर डोर्‍याउने हात खोजिरहेका हुन्छौं । र हृदयमा शान्ति सञ्चार गराउने मखमली कथा सुन्न चाहिरहेका हुन्छौं । सँगसँगै हामीलाई सपना देखाउने, सपना पूरा गरिदिने साथ पनि खोजिरहेकै हुन्छौं ।

त्यस घडीमा हाम्रो सामु आएर हार्दिकताले बढाएको कुनै पनि हातमा हामी सजिलै आफ्नो हात राखिदिन्छौं । सायद कहिलेकाहीँ त्यो हातले हामीलाई उन्मुक्तिको बाटोमा डोर्‍याउँछ । र सायद यस्तो पनि हुनसक्छ– कहिलेकाहीँ अन्धविश्वासको गहिरो खाडलमा पनि जाकिदिन्छ ।

०००

झण्डै सय वर्ष अघिकी योगमायाको सम्झना गरौं । योगमायाले नेपालको पूर्वी पहाडमा सामाजिक र राजनीतिक अन्यायमा परेर पिल्सिएका आफ्नै र छिमेकी गाउँका मानिसको हृदयमा मल्हम लगाएकी थिइन् । र सुनाएकी थिइन्– करुणाले ओतप्रोत अनि क्रान्तिले ओजिलो स्वरमा कैयौं भजन–प्रवचन ।

उसबेला ज्ञानको आभाले प्रदीप्त भएको थियो होला योगमायाको मुहार । उनी आफैंले भोगेकी थिइन्, दुःखको अन्त्यहीन शृंखला । सुनेकी थिइन्– पति गुमाएर सति जान बाध्य पारिएका दिदी, बहिनी, आमा, भाउजूका चित्कार ।

त्यसैले उनले बोलेका आवाज त्यही दुःखको गहिरो इनारबाट निस्किएको प्रतिध्वनि थियो । तिनका आवाजले बनेका थिए, सयौं अनुयायी । उनको क्रान्तिमा बुलन्द स्वरले डोरिएका थिए, उनीजस्तै पीडा बाँचिरहेका मानिसहरू । र तिनको लक्ष्य एउटै थियो– राणाविरुद्धको विद्रोह ।

योगमायाको प्रवचन सुन्न आउनेहरू दिनभरी मिठामिठा कथा सुनेर, भजनमा रमाएर, नृत्यमा मग्न भएर साँझमा आफ्नो मुलायम बिछ्यौनामा आराम गर्दै रंगीन भविष्यका कल्पना गर्नेहरू थिएनन् । बरू अन्याय र विभेदको खाडलबाट निस्कन संघर्ष गर्नेहरू थिए ।

योगमायाले तिनलाई सिकाएकी थिइन्– परोपकारको पाठ, कर्तव्यको पाठ, करुणाको पाठ, सनातन हिन्दू धर्मले पढाएका सच्चा पाठ ।
०००

योगमायाझै धार्मिक कथा–वाचकका अनुयायी नेपाली समाजमा दिनप्रतिदिन बढिरहेकै

छन् । सत्संग र अनेक धार्मिक कार्यले हामीलाई झनझन् बढी सम्मोहित गरिरहेको छ ।

यसो हुनुका अनेकौं कारण होलान्– धर्म, समुदायप्रतिको असिम प्रेम र लगाव होला वा त्यहाँ व्यतित गरिएको सन्तोषजनक आनन्दप्रदायक क्षण होला वा दान गरेर पुण्य कमाइने अपूर्व आनन्द पनि होला ।

कथा वाचकको मखमली आवाज वा तिनको मुहारमा हरदम देख्न पाइने सम्मोहित मुस्कान पनि होला । त्यहाँ वाचन गरिने कथा अद्वितिय हुन सक्छन् । तर कारण जे भए पनि कथा केवल कथा हुने हो भने वा त्यसलाई कथाकै रूपमा ग्रहण गर्ने हो भने स्रोतालाई सुन्दर अनुभूति/अनुभव हुन्छ ।

कथा धर्मप्रचार हो भने सहभागी र आयोजकका निम्ति पनि त्यो सन्तुष्टिको विषय हुँदो हो । तर कथाबीच दिइने व्यक्तिगत अभिव्यक्तिले यदि समाजको निमित्त एउटा गलत भाष्य निर्माण गर्ने प्रकृतिको भयो भने चाहिँ के होला ?

हिजोआज सामाजिक सञ्जालामा व्यापक सेयर गरिएको यस्तै एउटा धार्मिक कथाले मेरो पनि ध्यान आकृष्ट भयो । त्यसले मेरो मस्तिष्कमा थुप्रै प्रश्न उब्जायो । आखिर यो कसको कथा हो ? यो कसले सुन्न चाहेको कथा हो ? यो आजको हाम्रो समाजको कथा हो ? समाजमा भिजेर, योगमायाले झै समाज बुझेर भनिएको कथा हो ? वा भेला भएका मानिसको विचार बटुल्ने कथा ? यो घर जोड्ने कथा हो कि कसैको जीवनलाई छियाछिया बनाउने कथा ?

धर्म कर्तव्य हो, करुणा हो, प्रेम हो । यसको गलत व्याख्या जतिसुकै मधुर मुस्कानका साथ, जतिसुकै मखमली आवाजमा गरे पनि त्यसलाई सचेत मस्तिष्कले ग्रहण गर्दैन ।

हामीले हुर्काउँदै गरेका छोरीहरूलाई अन्याय सहन सिकाउने कथा हो कि विवेक गुमाएर हाम्रा भाउजू/दिदी/बहिनी/आमा/छोरीलाई निर्ममतापूर्वक हिंसा गरिरहेका दाजु/भाइ/ज्वाइँ/बुबाहरूले गरेको हिंस्रक व्यवहारमा ताली बजाउन सिकाउने कथा ?

अहिलेका कुन बुबाले तिनका प्राणभन्दा प्यारी छोरी एउटा हिंस्रक पतिसँग विवाह बन्धनमा बाँधिएकै भरमा जीवन उसैसँग बिताओस् भन्ने चाहना राख्ला ?

अहिलेका बुबाहरू त छोरीहरू हरेक क्षेत्रमा अब्बल बनोस्, उसले कुनै प्रकारको अन्याय–अत्याचार विरुद्ध प्रखर आवाज उठाओस् भन्ने कामना गर्छन् । त्यही अनुसार वातावरण प्रदान गर्न तत्पर देखिन्छन् ।

अहिलेका आमाहरू छोरीको सुरक्षालाई सर्वाेपरी मानेर त्यही अनुरूपको कानुन बनाउन लागिरहेकै छन् । घर होस् वा विद्यालय वा कार्यालय, कतै पनि छोरीको सुरक्षा वर्तमानमा सबभन्दा प्राथमिकतामा राखिने विषय हो । यदि त्यसो भए कोटीहोममा हजारौं सहभागीबीच वाचन गरिएको यो कथा कसको हो ?

०००

हाम्रो देशले विगत केही वर्षमा ठूलो छलाङ मारिसकेको छ । भलै त्यो आर्थिक उन्नतिको छलाङ होइन होला, तर सामाजिक चेतनाको छलाङ भने अवश्य हो । यो परिवर्तन आत्मसात् नगरी वाचन गरिएको कुनै पनि कथाले त्यो श्रवण गर्नेलाई सन्तुष्टि प्रदान गर्न सक्दैन । र यो उसको कथा हुन सक्दैन ।

त्यसैले धर्मप्रति उद्वेलित भएर कथा वाचकले सुनाएका कथामा क्षणिक सहमत भएको भ्रममा हजारौं हातबाट बजेका तालीका गडगडाहट केही समयपछि विनाशको विगुल जस्तो सुनिन सक्छ । धर्मसँग गाँसिएको कथाले त अन्यायविरुद्ध आवाज उठाउन सिकाउँछ, कृष्णले पाण्डवलाई सिकाएझै, न कि अत्याचार सहन गर्न ।

धर्म कर्तव्य हो, करुणा हो, प्रेम हो । यसको गलत व्याख्या जतिसुकै मधुर मुस्कानका साथ, जतिसुकै मखमली आवाजमा गरे पनि त्यसलाई सचेत मस्तिष्कले ग्रहण गर्दैन ।

आखिर मखमली आवाज, मधुर मुस्कान, कान्तीमय मुहार क्षणिक हो, तर त्यो व्यक्तित्वबाट निसृतः विचार चाहिँ स्थायी हो । यदि त्यो विचारले मानिसलाई सद्भाव र प्रगतिको पथमा डोर्‍याउँछ भने मात्रै अनुकरणीय हुन्छ, नत्र त्यो केवल एक बरबराहट हुनसक्छ ।

कुनै पनि विषयमा स्थायित्वको निमित्त परिवर्तन अपरिहार्य हुन्छ । चाहे त्यो धर्मसँग गाँसिएकै विषय नै किन नहोस् । जुन धर्मले मानवतालाई गौण ठान्छ वा कुनै पनि प्रकारको विभेदलाई बढावा दिन्छ, त्यो धर्मको संकुचन निश्चित छ ।

समयको बदलावसँग बदलिनुपर्नेमा धर्मग्रन्थमै उल्लेखित दृष्टान्तलाई चटक्कै बिर्सिएर कुनै जाति, लिंग वा वर्गको भावनामा चोट पुर्‍याउने कार्य गर्नु भनेको कथा वाचक आफ्नो कर्तव्यबाट विमुख हुनु हो । धार्मिक ग्रन्थमा उल्लेखित पात्रको दृष्टान्त दिँदै महिलाले प्राप्त गरेको र उपभोग समेत गरेको स्वनिर्णयको अधिकार बिर्सनु चाहिँ अपरिपक्वताको सूचक हो । पाण्डवले द्रौपदीलाई गरेको असिम प्रेम र सम्मानको उल्लेख गर्न बिर्सिएको कथा, अपूरो कथा होइन ?

यदि यस्तै कथाको प्रभावमा परेर कोही महिलाले आफ्नी छोरीलाई अत्याचार सहन गर्ने पाठ पढाए भने वा पतिको हिंसा सहनुपर्छ त्यसलाई प्रतिवाद गर्नु हुन्न भन्ने सिकाए भने के होला ?

पाण्डवहरूले माता कुन्तीलाई गरेको सम्मान वा गंगाले लिएको आत्मनिर्णयको अधिकारलाई शान्तनुले गरेका सम्मानको कथाका दृष्टान्तले हो– हाम्रो समाजमा पारिवारिक सद्भाव बढाउने । यस्ता कथाले पो पति–पत्नीलाई, माता–पुत्रलाई एकआपसमा प्रेम र सम्मानको भावना बढाउन अभिप्रेरित गर्छ ।

यसरी पुरुष–महिलाले एकआपसमा प्रेम र सम्मान गरेका प्रशस्त दृष्टान्त छन्, हाम्रा धार्मिक ग्रथहरूमा । कुरा यत्ति हो हामी ती कथालाई कसरी प्रस्तुत गर्छौं ?

फेरि कथाकै कुरा गरौं । कथा वाचकले कथा सुनाउँदै गर्दा स्रोतालाई पनि ध्यान दिएकै हुन्छन् । अहिले सर्सती हेर्दा के देखिन्छ भने पुराण सत्संगमा धेरैजस्तो स्रोता महिला हुने गर्छन् । तिनले आफ्नो अमूल्य समय दिएर एउटा पुस्ता हुर्काइरहेका छन् ।

यदि यस्तै कथाको प्रभावमा परेर कोही महिलाले आफ्नी छोरीलाई अत्याचार सहन गर्ने पाठ पढाए भने वा पतिको हिंसा सहनुपर्छ त्यसलाई प्रतिवाद गर्नु हुन्न भन्ने पाठ पढाए भने के होला ? तिनले आफ्ना छोरालाई परमेश्वर बन्ने अभ्यास गराए भने कस्तो होला ? त्यसपछि हाम्रो भविष्यको स्वरूप कस्तो होला ?

अनन्तः संघर्षहरू पछि आएको महिलाको हक, अधिकार कागजमै सीमित रहला र त्यसले धज्जी उडाउला महिला स्वतन्त्रताको । अनि आफ्नी छोरी अत्याचारको जाँतोमा पिसिएको हेर्नुपर्ने अवस्था आउला ? त्यस्तो भए के धड्किइरहन सक्ला ती छोरीहरूमा प्राण अड्किएको बुबाहरूको मुटुमा ? यस्ता कथाले डोहोर्‍याउलान् त हामीलाई स्थिरतातिर ? वा ती कथाले गराउलान् त हाम्रो हृदयमा शान्तिको सञ्चार ?

लेखकको बारेमा
अस्मिता विष्ट

दुई दशकदेखि महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी अस्मिता विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे ४ दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?