+
+

गुल्मीमा वर्षेनी घट्दैछ कोदो खेती

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते ९:१६

१५ साउन, गुल्मी । जिल्लाका किसानहरु हिजोआज कोदो रोप्न ब्यस्त छन् । असारदेखि साउनको अत्यसम्म किसानहरु मकैबारीभित्र कोदो रोप्छन् । पछिल्लो समय भने जिल्लामा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ ।

जिल्लामा प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल पनि घटिरहेको छ । गत वर्ष दुई हजार ८८१ हेक्टर क्षेत्रफलमा कोदो खेती गर्दा तीन हजार ३४१ दशमलव ९६ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

त्यो भन्दा अघिल्लो वर्ष दुई हजार ९०५ क्षेत्रफलमा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन उत्पादन भएको थियो । पछिल्लो समयमा बसाइँसराइ बढेको, युवा जनशक्तिले गाउँ छाड्ने गरेको र कोदो खेती झञ्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घटेको ज्ञानकेन्द्रका प्रमुख भण्डारीले बताए ।

बीउ छर्ने बेला खडेरी पर्दा कम उम्रनु र छिर्केमिर्के रोग देखिनुले पनि कोदो खेती कम भएको ज्ञानकेन्द्रको भनाइ छ । जङ्गली जनावर, जङ्गली बाख्रा, खरायो, मुसा लगायत जनावरले कोदो खेतीमा नोक्सान पुर्‍याएको किसानहरु बताउँछन् ।

जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो बढी लगाउने गरिन्छ । यहाँका इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट मुख्य पकेटक्षेत्रहरु रहेका छन् ।

कोदो नेपालमा धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण मानिने किसानहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?