+
+

एउटा दृश्य जसले मन रोयो

तुला राजवंशी तुला राजवंशी
२०८१ साउन १५ गते १८:३०

मान्छे कुन हदसम्म स्वार्थी र निर्दयी हुनसक्छ ? भर्खरैको एउटा घटनाले बताउँछ । घटना, सिरहा जिल्लास्थित लहानको हो ।

एउटा घोडालाई पिकअप भ्यानमा राखेर लहान-१७ स्थित गोविन्दपुरको जंगल पुर्‍याइन्छ । बिहान ४ बजे त्यही छाडिन्छ । त्यो घोडा जो कति दिनदेखि भोको छ । न घाँस खान पाएको, न पानी खान पाएको छ । एकदमै दुब्लो भएको छ । शरीरभरी घाउ छ र त्यहाँ झिंगा भन्किरहेको छ । राम्ररी हिंड्न सक्दैन, अगाडिको एउटा खुट्टा भाँचिएको छ । रोग र बुढ्यौलीले शिथिल भएको त्यो घोडा एकलासे जंगलमा टिठलाग्दो भई लडेको छ ।

‘उसको बल र तागत हुँदा काम लगायो, भारी बोकायो, बग्गी तान्न लगायो । बूढो भएपछि जंगलमा लगेर छाडिदियो । कस्तो पापी मान्छे,’ भनी सामाजिक सञ्जालमा उक्त घोडाको मायालाग्दो फोटो छ्यापछ्याप्ती भयो । त्यहाँ धेरैले मेरो नाम मेन्सन गरेको रहेछ, उद्वारको अपेक्षासहित ।

सामाजिक सञ्जालमा जनाइएअनुसार मान्छेहरुले त्यस घोडालाई वर्षौंदेखि पशुपति मावि लहानको परिसरमा देख्दै आएका रहेछन् । घोडाको जीउभरि घाउ छ र अगाडिको खुट्टा भाँचिदिएको छ भनिएको थियो । फोटोमा घोडाको अवस्था देख्दा मन नै कुँडिने खालको छ ।

त्यसबेला म काम विशेषले काठमाडौं बाहिर थिएँ । त्यतैबाट लहानतिर लागें । ‘हाम्रो लहान, राम्रो लहान’ नामक फेसबुक पेजले उक्त घोडाको फोटो राखेर उद्वारको लागि आह्वान गरेको थियो । म उनीहरुकै सम्पर्क पहिल्याउँदै लहान पुग्दा रातको आठ बजिसकेको थियो ।

म पुग्नुअघि त्यहाँ एनिमल नेपालका प्राविधिकहरु पुगिसकेका रहेछन् । उनीहरुले घोडाको हेरचाह गरिरहेका थिए । हामीले घोडाका लागि घाँसको व्यवस्था गरिदियौं । अनि पानी दिनका लागि भाँडा खोज्न थाल्यौं । तर आसपासका मान्छेहरु त्यति सहयोगी थिएनन् ।

आखिरमा धेरै अनुरोध गरेर काम नलाग्ने स्टिलको भाँडा माग्यौं र घोडालाई पानी दियौं । बल्ल घोडा केही तंग्रियो । त्यहाँका कतिपयलाई त्यो घोडा घाँडो भएको रहेछ । उनीहरुले घोडालाई मर्ने इन्जेक्सन दिनु भनिरहेका थिए । जबकि घोडालाई औषधि उपचार र स्याहारसुसार मात्र नपुगेको थियो, मर्ने अवस्थाको थिएन । यदि अहिलेकै अवस्थामा छाडिदिने हो भने त खान र पानी नपाएर मर्न सक्थ्यो ।

त्यसैले हामीले उक्त घोडालाई काठमाडौं ल्याएर थप उपचार गर्ने, स्याहारसुसार गर्ने बन्दोबस्ती मिलायौं । तर यसबाट मान्छेले के नबुझुन् भने आफूले पालेको पशुप्राणी रोगी भएमा, बूढो भएमा अन्यत्र लगेर छाडेपछि कसैले उद्धार गर्छ । वास्तवमा यो अपराध हो । हामीले उक्त घोडालाई त्यो अवस्थामा पुर्‍याउने धनेश्वर यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छौं ।

उनी लहान नगरपालिका वडा नम्बर १ मा बस्ने रहेछन् । उनले घोडालाई बग्गी तान्ने काममा खटाउने गरेका रहेछन् । घोडाको बल हुँदा र रोग नलाग्दासम्म त कति बग्गी ताने । तर रोगी भएपछि त्यसलाई खानापानी नदिने मात्र होइन कुट्दै, तर्साउँदै लखेट्न थालिएछ । हामीले यादवलाई सोध्यौं, ‘किन रोगी पशुलाई त्यसरी छाड्नुभयो ?’

उनले जवाफमा भने, ‘बूढो भयो, अनि लखेटिदिएँ ।’ उनमा यो कृत्यप्रति कति पनि ग्लानि वा अपराधबोध थिएन । जीवनभर त्यही घोडालाई काम लगाएर हातमुख जोरे होलान्, पैसा कमाए होलान् । जब घोडा अशक्त र कमजोर हुँदै गयो त्यसपछि घरबाट, टोलबाट, सहरबाट लखेटियो ।

कतिलाई यस्तो कृत्य सामान्य र आम लाग्न सक्छ । तर बोल्न नसक्ने निरीह र अबोध प्राणीमाथि गर्ने यो अत्याचार सानो होइन । मान्छेले आफ्नो लागि नियम कानुन बनाएको छ । आफ्नो लागि अधिकार बनाएको छ । यी पशुप्राणीलाई सधैं अन्याय, अत्याचार गरेको छ । दुःख दिएको छ, पीडा दिएको छ । बोल्न नसक्ने, लड्न नसक्ने निरीह प्राणीलाई जे गरेपनि हुन्छ भन्ने मनोविज्ञानले मान्छेलाई ग्रस्त बनाएको छ । जबकि यो अपराध हो ।

पशुप्राणीलाई अनावश्यक दुःख दिनु, बूढो र रोगी भएपछि लखेट्नु, क्षमताभन्दा बढी भारी बोकाउनु दण्डनीय अपराध हो । यस्ता अपराध नगरौं र अरुलाई गर्न पनि नदिऔं । किनभने अहिले सामाजिक सञ्जालमार्फत हामी यस्ता कुराहरु सबैमाझ साझेदार गर्न सक्छौं र दबाब सिर्जना गर्न सक्छौं । र, मनकारीहरुले यी अबोध प्राणीको हकहितका लागि केही गर्न सक्छौं । अहिले हामीले लहानको उक्त घोडालाई काठमाडौं ल्याउँदैछौं । उसलाई चोभारस्थित आश्रयस्थलमा राखेर औषधि उपचार र स्याहारसुसार गर्नेछौं ।

(राजवंशी टीएफसी नेपालका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?