+
+

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार घटना : मुद्दा चलाइएका ३ जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १८:४६

१५ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा मुद्दा चलाइएका मध्ये तीन जना कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबारको इजलासले तीन जनालाई पुर्पक्षका लागि काराचार चलानको आदेश दिएको हो ।

कारागार चलान हुनेहरुमा ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, धराने भनिने विभाग गुरुङ र दीपक वान्तवा राई छन् । उनीहरुलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

त्यसैगरी पक्राउ परेका दुई जनालाई भने जनही ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ । अदालतको आदेश अनुसार ३÷३ लाख धरौटी बुझाएर ललितपुरका सुरेन्द्र महर्जन र आलिंकन लामिछाने रिहा भएका छन् ।

११ साउनमा ५ जनालाई पक्राउ प्रतिवादी र ३ जनालाई फरार प्रतिवादी बनाउँदै ललितपुर सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फरार प्रतिवादीहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन् ।

यो घटनाका मुख्य योजनाकार हाल पुर्पक्षमा कारागार चलान भएका बाबा भनिने राजेश केसी हुन् । उनकै योजनामा बाँनियामाथि ७ असारमा खुकुरी प्रहार भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।

बाँनिया र बाबाबीच जग्गा सम्बन्धी विवाद भएपछि बाबाको समूहले बाँनियामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । खकुरी प्रहारबाट घाइते भएका बाँनियालाई नख्खुस्थित मेडिसिटीमा उपचार गराइएको थियो । उनको बायाँ हात, खुट्टा र तीघ्रामा गहिरो चोट लागेको थियो । अहिले भने उनी डिस्चार्ज भइसकेका छन् ।

खकुरी प्रहार घटनामा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको खुलेको छ । धराने भनिने विभाग गुरुङ यसअघि ठगी र सरकारी कागजात कीर्ते प्रकरणमा फरार रहेका अभियुक्त हुन् ।

ठगी कीर्तेमा उनको समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो भने उनी फरार हुँदै आएका थिए ।

दीपक वान्तवा राई भने बाँनियामाथि खुकुरी हान्ने मुख्य व्यक्ति रहेको खुलेको छ । उनी खुकरी प्रहार गर्नकै लागि भनेर धनकुटादेखि काठमाडौं आएको खुलेको थियो । राई यसअघि लागु औषधको कसुरमा जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?