+
+

ललितपुरको सुयोग सहकारी : सरसफाइ मजदुरलाई उपाध्यक्ष बनाएर ९ करोड ठगी

सहकारीबारे जानकारी नै नभएकी र राम्रोसँग लेखपढ गर्नसमेत नजान्ने महिलालाई उपाध्यक्षमा मनोनित गरेर संस्थाका सञ्चालक सुनिल महर्जनले बचतकर्ताको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन १५ गते १९:४४

१५ साउन, काठमाडौं । ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा अध्यक्ष सुनिल महर्जनले सरसफाइ मजदुरलाई डमी उपाध्यक्ष बनाएर ९ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।

अध्यक्ष महर्जनले ललितपुर महानगरपालिका–१२ बस्ने ६० वर्षीया मलिका महर्जनलाई सहकारीको उपाध्यक्षमा नियुक्त गरेर ठगी गरेको खुलेको हो ।

सामान्य लेखपढ र आफ्नो हस्ताक्षर मात्रै गर्न सक्ने मलिका ललितपुरकै एक गुम्बामा सरसफाइ मजदुरका रूपमा कार्यरत छन् ।

आफूलाई उपाध्यक्ष बनाएको थाहै नदिएको र थाहा पाएलगत्तै आफूले राजीनामा दिएको महर्जनले बताएकी छन् । मलिकाले ११ फागुन २०७९ मै सहकारीको उपाध्यक्षबाट राजीनामा दिएको खुलेको छ ।

अध्यक्ष महर्जनले मिटिङ भन्दै बोलाउने गरेको र त्यहाँ गएबापत एक हजार रुपैयाँ भत्तासमेत दिने गरेको उनले बताएकी छिन् ।

‘मिटिङ भन्दै मलाई कहिलेकाहीँ बोलाइन्थ्यो । भत्ता बुझेको रेकर्ड भन्दै हस्ताक्षर गर्न लगाएर १ हजार दिन्थे,’ मलिकाले बयानमा भनेकी छिन् ।

सहकारीबारे जानकारी नै नभएकी र राम्रोसँग लेखपढ गर्नसमेत नजान्ने महिलालाई उपाध्यक्षमा मनोनित गरेर बचतकर्ताको रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले पुष्टि गरेको छ ।

मलिकाले आफूले जग्गा बेचेर बचत गरेको ३० लाख रुपैयाँ समेत फिर्ता नपाएको दाबी गर्दै सरकारी वकिल कार्यालयमा बयान दिएकी थिइन् ।

‘मेरो हैसियत उपाध्यक्ष बन्ने होइन । मलाई थाहै नदिई सुनिल महर्जनले उपाध्यक्ष बनाएर हस्ताक्षर गर्न लगाएका रहेछन् । सोबारे जानकारी पाए पछि मैले राजीनामा दिएकी हुँ । ललितपुरको सानागाउँमा रहेको अंशको जग्गा बेचेपछि आएको १५ लाख र बचत गरेर राखेको १५ लाख गरी ३० लाख रुपैयाँ मैले यो सहकारीमा राखेको थिएँ । त्यो समेत फिर्ता पाएको छैन,’ मलिकाले बयानमा भनेकी छन् ।

मलिकाले काम गर्ने गुम्बाका एक भिक्षुको समेत यो सहकारीले ९० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । ती भिक्षुलाई रकम बचत गर्न लगाएर फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ ।

केही बचतकर्ताको भने रकम यो सहकारीले फिर्ता गरेको पाइएको छ । अहिलेसम्म तीन सयभन्दा बढी बचतकर्ताहरूको रकम समेत फिर्ता गरेको पाइएको छ ।

काठमाडौं, ललितपुर, चितवन, बारा लगायत जिल्लामा जग्गा दिएर तथा केही व्यक्तिलाई भने रकम नै दिएर जग्गा फिर्ता गरेको पाइएको छ ।

यो सहकारीमा करिब ५ सय बचतकर्ताहरूको करिब ४५ करोड रुपैयाँ बचत रहेको प्रहरीको भनाइ छ । त्यसमध्ये २५ करोड रुपैयाँ जग्गा तथा नगद नै दिएर फिर्ता गरेको अध्यक्ष महर्जनले प्रहरीमा बयान दिएका छन् ।

९ करोड ठगीको मुद्दा, ३० लाखमा रिहा

सुयोग सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १८ असारमा तीन जानलाई पक्राउ गरेको थियो । त्यतिबेला अध्यक्ष सुनिल महर्जन, मलिका र सहकारीका सचिव अर्पण कवा पक्राउ परेका थिए ।

यो सहकारीले १३६ जनाको ८ करोड ९८ लाख २८ हजार ७८३ रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । प्रहरीले सोही अनुसारको बिगो मागदाबी गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

साथै ८ जनालाई फरार प्रतिवादी बनाइएको थियो । फरार हुनेहरूमा सहकारीका कोषाध्यक्ष गीता सिख्वाल, व्यवस्थापक रेश्मी शिल्पकार, अर्का व्यवस्थापक विष्णु सन्जेल, लेखा समिति संयोजक भुपेन्द्र महर्जन, सदस्यहरू रवीन महर्जन, नरबहादुर साउद, रंजित श्रेष्ठ र राजमोहन अवालाई प्रतिवादी बनाइको थियो ।

मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को अनुसारको कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो ।

पक्राउ परेका तीनैजना प्रतिवादीहरू भने धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले उनीहरूलाई धरौटीका लागि रिहा गर्ने आदेश दिएको हो ।

जसअनुसार सुनिललाई ३० लाख रुपैयाँ तथा अर्पण र मलिकालाई क्रमशः ५/५ लाख धरौटी माग भएको थियो । अहिले मुद्दा चलाइएकाहरू विरुद्ध सम्पत्ति शुद्धीकरण विरुद्धको कसुरमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

लालिगुँरास सहकारीका पदाधिकारी पनि छुटे

ललितपुर प्रहरीले नै अनुसन्धान गरेर मुद्दा चलाइएका लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी पनि धरौटीमा छुटेका छन् । सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी २५ लाख, अध्यक्ष अमरदास श्रैष्ठ २० लाख, अमृतकुमार अर्याल १० लाख, कदम जोशी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

पुल्चोकमा रहेको यो सहकारीका ९ जना विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जसध्ये ५ जना भने अहिलेसम्म पनि फरार छन् ।

२५ लाख रुपैयाँ धरौटीमा रिहा भएका भण्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत हुन् ।

त्यसैगरी उपाध्यक्ष हजुरी विष्ट, सञ्चालक भोलाकुमार श्रेष्ठ, सहकारीका लेखा समिति संयोजक पुण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जित भने अहिलेसम्म फरार छन् ।

सर्वसाधारणलाई सहकारीमा रकम बचत गर्न लगाई बचतकर्ताको रकम फिर्ता नगरी यो सहकारीले ठगी गरेको खुलेको थियो । यो सहकारी विरुद्ध भने एक जना महेश थापाले मात्रै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । थापाले आफ्नो २ करोड १४ लाख २४ हजार ४ सय ५१ रुपैयाँ ठगी गरेको दाबी गर्दै जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो ।

यो सहकारीमा २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडभन्दा धेरै बचत फिर्ता भएको छैन । बाँकी बचतकर्ताहरूले भने समस्याग्रस्त सहकारी व्यवस्थापन समिति जाहेरी दिएका छन् ।

यो सहकारीले पर्सामा गाई फार्म, ललितपुर गोदावरीमा दुग्ध प्रशोधन सेन्टर, सिन्धुपाल्चोकमा भैरवकुण्ड हाइड्रोपावर, ललितपुरमा लालीगुराँस अस्पताल तथा विभिन्न परियोजनामा लगानी गरेको देखिएको छ ।

*यसअघि ललितपुर मानभवनको सुयोग सहकारीको तस्वीरको ठाउँमा भुलवश जडिबुटीको सुयोग सहकारीको तस्वीर परेकाले हटाएका छौं । 

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?