+
+

एआईजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:४६

१६ साउन, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयले पनि छानबिन गठन गरिएको पुष्टि गरेको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको हो ।

एआईजी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो ।

उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ ।

संगठनमा चेन अफ कमाण्डलाई बाइपास गरेर काम गरेको आरोप पनि ज्ञवालीमाथि लगाइएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले १ चैतमा गृहमा बुझाएको प्रतिवेदनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ६० किलोको अनुसन्धान गर्दा गम्भीर लापरबाही गरेको उल्लेख गरेको थियो ।

त्यसपछि सीआईबीका प्रमुख किरण बज्राचार्यलाई सीआईबीबाट हटाएर कार्य विभागमा कार्यरत रहेका एआईजी ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो ।

त्यसयता उनी सीआईबीमै कार्यरत छन् । उमेर हदका कारण आगामी २६ भदौमा उनी अनिवार्य अवकाशमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?