+
+

कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १५:३३
प्रधान सेनापति प्रभुराम शर्मा र रथी अशोक सिग्देल ।

१६ साउन, काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो ।

जंगीअड्डामा ३ साउन २०८१ मा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’मा उमेर, प्रमाण पत्र नम्बर र जारी मिति फरक नपरेको बताएका थिए ।

सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उनको भनाइ थियो ।

योसँगै कामु प्रधानसेनापति सिग्देल २६ भदौपछि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नेछन् ।

को हुन् सिग्देल ?

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो ।

उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेरसमेत काम गरेका थिए ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?