+
+

कमर्स क्याम्पसका प्राध्यापक विष्ट हत्या आरोपी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:३२

१६ साउन, काठमाडौं । नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कोटेश्वरका ३९ वर्षीय रन्जन खड्का छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बैंग्लोरबाट उनलाई पक्राउ गरी ल्याएको हो । हत्या पछिको १७ वर्षसम्म उनी फरार थिए । उनी भारतमा रंग लगाउने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले प्रा. विष्टलाई सुरुमा गालामा थप्पड हानेको र अन्य व्यक्तिले रडले प्रहार गरेर हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

यसअघि हत्यामा संलग्न भएको आरोपमा ६ चैत २०८० मा धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् । उनी भने ३ लाख धरौटीमा छुटिसकेकी छन् ।

२६ असार २०६४ मा ललितपुर महानगरपालिका–२२ शंखमुलमा ललितपुर इमाडोल घर भई नेपाल कमर्स क्याम्पसमा पढाउँदै आएका ३३ वर्षीय विष्ट बेहोस अवस्थामा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार गत चैतमा पक्राउ परेकी सोभित नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको प्राध्यापक विष्टसँग चिनजान भएको थियो ।

क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको थियो । थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको खुलेको थियो ।

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो ।

३ चैत २०६९ मा झापामा लागुऔषधको कसुरमा सोभिताका भाइ विनोद पक्राउ परेका थिए । लागुऔषधको कसुरमा उनलाई ४ वर्ष कैद र २ लाख जरिवानाको फैसला भएको थियो । लागु औषधमा पक्राउ परेपछि उनलाई ललितपुर जिल्दा अदालत उपस्थित गराएर बयान गराइएको थियो । जसमा जन्मकैदको फैसला सुनाइएकोमा उनी कैद बसेर संविधान दिवसको अवसरमा ३ असोज २०७९ मा रिहा भएका थिए ।

त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेर १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।

त्यतिबेला सोभिताको मुद्दा तामेलीमा राखिएको उल्लेख गरेको थियो भने हाल पक्राउ परेका आरोपी रन्जन खड्कको हकमा मुल्तबीमा राखिएको थियो । त्यतिबेला दुई वर्षसम्म रन्जनको सम्पत्तिसमेत रोक्का गरिएको थियो ।

सम्पत्ति रोक्का गर्दा दुई वर्षसम्म पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । घटनाको १७ वर्षपछि भने प्रहरीले उनलाई पक्राउ गरेको हो । अब उनलाई थुनछेक बहसका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?