+
+

५ महिनापछि छायांकनमा फर्किए दयाहाङ, बाह्रबिसेमा ‘कार्साङ’ खिचिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १६:३५

काठमाडौं । अभिनेता दयाहाङ राई पाँच महिनापछि फिल्म छायांकनमा फर्किने पक्का भएको छ । आगामी फिल्म ‘कार्साङ’को छायांकनका लागि उनी बुधबार सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन् ।

उक्त नगरपालिकाको यार्सा गाउँमा केही दिनदेखि शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्मको छायांकन चलिरहेको छ । दयाहाङले बिहीबारदेखि छायांकन सेट ज्वाइन गर्दैछन् ।

‘घरज्वाइँ’को छायांकन भएको पाँच महिनापछि दयाहाङ फिल्म छायांकन सेटमा फर्किएका हुन् । यसबीचमा उनी ‘गाउँ आएको बाटो’ र ‘घरज्वाइँ’को प्रवर्द्धन, अमेरिकामा आयोजित नेपाल-अमेरिका फिल्म फेस्टिभल, मण्डलामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव लगायतमा व्यस्त रहे ।

‘कार्साङ’को कुरा गर्दा यो फिल्ममा दयाहाङले शेर्पा समुदायको एक व्यक्तिको भूमिका निर्वाह गर्दैछन् । फिल्मबारे थप खुलाइएको छैन । छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए ।

बौद्ध भिक्षुबाट स्क्रिप्ट पूजा गराई शुभमुहूर्त गरिएको फिल्मको मुख्य कलाकारमा सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी पनि छन् । नयाँ कलाकारको रुपमा सिर्जना र छिरिङले डेब्यु गर्दैछन् ।

सिर्जनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी हिमालय टिभीको कार्यक्रम ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेता समेत हुन् ।

फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशि लिम्बू, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ ।

निर्देशक यम शेर्पाको यो डेब्यु फिल्म हुनेछ । निर्माता पुरुषोत्तम प्रधान हुन् भने उनले नै फिल्मको छायांकन गर्नेछन् । गोविन्द बोहरा सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?