+
+
वाग्मतीको बाढी :

‘धन्न पुलिसले ढोका हानेर थाहा पायौं’

विकास रोकामगर विकास रोकामगर
२०८१ साउन १६ गते १८:३९

१६ साउन, काठमाडौं । ललितपुर, कुपण्डोलमा सगरमाथा मोटर वर्कसप चलाइरहेका भोगेन्द्र दास (५३) काखमा नाति च्यापेर वाग्मतीतिर हेर्दै थिए ।

रातभरिको वर्षाले बाढीको रुप लिएको वाग्मती केही शान्त त बनेको थियो, तर बहाव घटेको थिएन । केहीबेर धुलाम्मे सडक छिचोल्दै हुइँकिरहेका गाडीहरु हेरेर बसेपछि नातिलाई सुनाए, ‘चकचक गर्नुहुन्न है ! देख्यौ नि, बाढी आएको ?’

नातिले एकपटक हजुरबुवातिर आँखा डुलाए अनि वाग्मतीतिर ।

मंगलबार राति परेको भारी वर्षाले भोगेन्द्रको मोटरसाइकल वर्कसप, बासस्थान सबै चुर्लुम्म डुबाएको थियो । बाढीले क्षति पुगेको वर्कसप बिहानभर सफा गरेपछि केहीबेर आराम गर्दै उनले नातिसँग बात मारेका थिए ।

एक दशकभन्दा बढी समयदेखि त्यही ठाउँमा मोटरसाइकल वर्कसप चलाइरहेका भोगेन्द्रलाई वाग्मती यसरी उर्लिएको थाहै थिएन । ‘सानैदेखि काठमाडौंमा बस्न थालेको अहिले त ४५/४६ वर्ष भयो होला, यत्रो ठूलो बाढी आएको देखेको थिएन’, भोगेन्द्रले सुनाए, ‘राति त बिजोग बनायो ।’

राति वाग्मतीको बाढी बस्ती छिर्नु केही छिनअघि मात्रै भोगेन्द्रको निद्रा खुलेको थियो । शौचालय गए, फेरि निदाउन खोजे । भारी वर्षाले सजिलै निद्रा लागेन । ‘केहीबेरपछि बल्लबल्ल निदाएको थिएँ, खोला आयो भनेर पुलिस ढोका हान्न आयो’, उनले भने, ‘उठेर केही सामान उठाउँदा उठाउँदै पानी कम्मरकम्मर आइहाल्यो ।’

घरभित्र पसेका पानीले धेरै क्षति नपुर्‍याएपनि हैरानी धेरै खेप्नु परेको उनले बताए ।

****

भिजेको सर्स्युँ र आलसलाई सफा पानीले पखाल्दै लख्खीदेवी बोलिन्, ‘नानी यो सामान माथि लैजा त !’

छोरीले धोएको सर्स्युँको भाँडो थापिसकेपछि लामो सास तान्दै उठ्न कोशिस गरिन्, ‘खत्तम पार्‍यो, अहिले त कम्मर पनि सोझिन छोड्यो !’

लख्खीदेवी रातिको बाढीले भिजेको खाद्यान्न सफा पानीले धोएर सुकाउने काममा लागेकी थिइन् । बाढीले छताछुल्लै बनाएका सामान बिहानैदेखि मिलाउँदामिलाउँदै उनी लखतरान परेकी थिइन् । दिउँसो करिब ३ बजेसम्म मुखमा अन्न नहालेकी उनलाई छोरीले सघाइरहेकी थिइन् ।

बीबीएस दोस्रो वर्ष पढिरहेकी छोरी प्रीति शर्मा (२३)को पनि आज नियमित कक्षा थियो । तर घरको हालत भद्रगोल देखेपछि गइनन् । ‘बस्ने ठाउँ यस्तो छ । मम्मी र म लागेर बिहानदेखि लाग्दा त सकिएको छैन, एक्लै भए त नभ्याइने रै’छ’, उनले सुनाइन् ।

प्रहरीले जानकारी दिएर धेरै क्षति हुनबाट जोगाएको लख्खीदेवीले सुनाइन् । ‘सबै भिजायो । फालम् भने माया लाग्छ । केही सामान ठाउँमै भेटिँदैन, अब साँझ कसरी बस्ने होला !’ उनले भनिन्, ‘धन्न सर (प्रहरी)हरु आएर ढोका ढक्ढक्याएर जानकारी दिनुभयो । अलिअलि चामल पीठो बचाउन पाइयो ।’

९ वर्षदेखि त्यही ठाउँमा बसिरहेकी लख्खीदेवीले पनि आफूले पहिलो पटक यति ठूलो घटना भोगेको बताउँछिन् । ‘कहिलेकाहीं उता बाटोसम्म आउँथ्यो । तर यसरी घरमै छिरेको थाहा थिएन’, उनले भनिन्, ‘बिहान त एकदम डरलाग्दो थियो ।’

करिब एक दशकदेखि परुवा फर्निचर चलाइरहेका माधव गौतम (४०) लाई त झन् पसलमा बाढी पसेर उत्पात मच्चाएको थाहै थिएन ।

पसलभन्दा भित्र दोस्रो तलामा बसिरहेका उनको परिवारले बिहानपखमात्रै घटना थाहा पाएको थियो । ‘त्यही पनि छिमेकीहरुले ढुंगा फालेर उठाएपछि मात्रै थाहा पाएको हो । ढोका कति ढक्ढक्याए होलान्, थाहै भएन’, गौतमले भने ।

छिमेकीहरुले बाढी पसलमा छिरेको थाहा दिएपछि उनी हतारहतारमा बाहिर निस्केर हेर्दा स्थिति हेरिनसक्नु थियो ।

भान्सामा रहेको फ्रिज बाहिर ल्याइदिएको थियो, ग्यास चुलोलगायत सामान पनि पानीमै तैरिरहेका थिए । ‘हामी त होपलेस भयौं, माथिबाट तल हेर्दा सबै सम्मै थियो । पसल हो कि ताल हो भन्ने भएको थियो’, गौतमकी श्रीमती गीताले भनिन्, ‘पुलिस आएर खबर गरेको थियो होला, हामी भित्र बसेर थाहै पाएनौं ।’

बाढीले फर्निचर उद्योग, व्यक्तिगत सामग्री गरी कम्तीमा २० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको गौतम बताउँछन् । ‘साना मेसिनहरु त घाम लागेको बेला सुकाइयो । अरु मेसिन, सनमाइका, प्लाई त अब काम लाग्दैनन्,’ उनले भने ।

काठमाडौं, कुलेश्वरमा मंगलबार राति पसेको पानी बुधबार दिउँसोसम्म सुकेको थिएन । स्थानीय बासिन्दा मोटर लगाएर बिहानैदेखि पानी घटाउन खोजे पनि कमी नभएको बताइरहेका थिए ।

‘यहाँ म बस्न थालेको ३७ वर्ष बेंसी भयो । पहिले यहाँ खेतमात्रै थियो । कहिलेकाहीं खोलाको पानी माथि आउँथ्यो । एकैछिनमा सुक्थ्यो । तर, घर बनेपछि यो समस्या देखिन थाल्यो’, एकजना स्थानीय कड्किँदै थिए, ‘घर बनाउने नाममा ढल, नाला सबै छोपेपछि कसरी सुक्छ पानी ?’

मंगलबार राति परेको भारी वर्षाका कारण बुधबार बिहानै वाग्मती, विष्णुमतीलगायतका नदी किनारका घरहरु डुवानमा परेका थिए । बाढीले काठमाडौंका करिडोर क्षेत्र बढी प्रभावित भएका छन् । च्यासल, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी, कुपण्डोल, बल्खुलगायत क्षेत्र बाढीका कारण बढी प्रभावित भएका थिए ।

बल्खुखोलाले बगाउँदा एकजनाको ज्यान पनि गएको छ । बल्खु पुलमुनि अड्किएको अवस्थामा ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको थियो ।

काठमाडौंको सुन्दरीजलस्थित धाप बाँधमा रहेको स्टेसनले गएराति (२४ घन्टामा) १०८.२ मिलिमिटर वर्षा भएको देखाएको थियो । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षाको रुपमा लिइन्छ ।

जल तथा मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा बूढानीलकण्ठमा ९०.८ मिलिमिटर, कपनमा ७४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, बबरमहलमा ५२.२ मिलिमिटर र नैकापमा ६१.४ मिलिमिटर वर्षा भएको थियो ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?