+
+

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो

रासस रासस
२०८१ साउन १६ गते १८:३२

१६ साउन, स्वर्गद्वारी । प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ ।

‘तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ’, किसान घर्तीमगरले भने । परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उनले बताए ।

घर्तीमगरजस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन् । कतिपय किसानले भित्र्याइसकेका छन्भने कोही भित्र्याउने तयारीमा छन् । धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ ।

जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ ।

धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ। जसले गर्दा यसअघि चैतेधान लगाएका किसानले निरन्तर धानखेती गर्दै आएका छन् ।

चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा निःशुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ । किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाप्रमुख चुमान गिरीले बताए ।

गत वर्ष एक हजार तीन सय ५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष दुई हजार छ सय रोपनीमा खेती भएको छ । परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो चार सय रोपनीमा सीमित थियो ।

प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये छ हजार पाँच सय ७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । गतवर्ष जिल्लामा २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?