+

काभा वुमन्स नेसन्स लिग खेल्ने नेपाली खेलाडीलाई नजिकबाट चिन्नुहोस्

२०८१ साउन  १६ गते २०:०१ २०८१ साउन १६ गते २०:०१
काभा वुमन्स नेसन्स लिग खेल्ने नेपाली खेलाडीलाई नजिकबाट चिन्नुहोस्

१६ साउन, काठमाडौं । नेपाली महिला भलिबल टिमले साउन १७ देखि २३ गतेसम्म घरेलु मैदानमा काभा अन्तर्राष्ट्रिय वुमन्स नेसन्स लिगमा प्रतिस्पर्धा गर्नेछ । मध्य एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा श्रीलंका, माल्दिभ्स, इरान, भारत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

दशरथ रंगशालास्थित कभर्ड हलमा हुने उक्त खेलमा नेपालले उद्घाटन खेल श्रीलंकासँग खेल्नेछ । काभा नेसन्स लिग खेल्ने १४ सदस्यीय नेपाली टोलीमा आरती सुवेदी र सुमित्रा रेग्मी दुई नयाँ खेलाडी छन् । उनीहरुले काभाकै तयारीस्वरुप रुससँग भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।

महिला टिमको प्रमुख प्रशिक्षकको रुपमा जगदिश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् । टिम व्यवस्थापकको रुपमा निलम बज्रचार्य रहेकी छिन् ।

जगदिश भट्ट, प्रमुख प्रशिक्षक 

सन् २००६ देखि राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक रहँदै आएका भट्टले सन् २०१३ देखि महिला टिमको प्रशिक्षण सम्हाल्दै आएका छन् । ११ वर्ष अवधिमा उनले महिला टिमलाई दुई पटक उपाधि जिताएका छन् ।

सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स लिगमा नेपालले स्वर्ण पदक जितेको थियो । प्रशिक्षक हुनुअघि उनी राष्ट्रिय टिमका खेलाडी समेत थिए ।

अरुणा शाही, कप्तान (सेटर)

सन् २०१४ मा नेपालमा माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी अरुणा चार वर्षअघि नेपाली टिमको कप्तान बनेकी थिइन् ।

३० वर्षीया सेटर अरुणाकै नेतृत्वमा नेपालले काभाको २०१९ र २०२१ को संस्करणको उपाधि जितेको थियो ।

 सरस्वती चौधरी, ओपन स्पाइकर

कैलाली, धनगढीकी २८ वर्षकी सरस्वती नेपाली महिला टिमकी सबैभन्दा अग्ली खेलाडी हुन् । सन् २०१४ मा श्रीलंकासँग भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा राष्ट्रिय टिमबाट डेब्यू गरेकी उनी चोटको बेलाबाहेक राष्ट्रिय टिमकी नियमित सदस्य हुन् ।

१३ औं सागमा गरेको प्रदर्शनका कारण उनले जापान युनिभर्सिटी अफ टिसुकुमा एक महिनाको प्रशिक्षणको मौका पाएकी थिइन् । महिला टिमकी महत्वपूर्ण र अनुभवी सदस्य सरस्वती स्पाइकर हुन् ।

उषा भण्डारी, ओपन स्पाइकर

तनहुँ, भिमादकी १९ वर्षकी उषाले काठमाडौंमा विद्यालयस्तरमा नै भलिबल खेल्न सुरु गरेकी हुन् । २०७४ सालमा पुलिस स्कुलमा पढ्दा पुलिसकै क्लबबाट घरेलु भलिबल खेल्न थालेकी उनले १४ वर्षको उमेरमा सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको लामो समय भए पनि उनले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर भने पाएकी छैनन् । उनले यस पटकको काभा वुमन्स च्यालेञ्ज कपमा ओपन स्पाइकरको रुपमा खेल्नेछिन् ।

पुनम चन्द, ओपन स्पाइकर

कञ्चनपुर महेन्द्रनगरकी २३ वर्षीया पुनमले सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत भलिबलको राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् ।

नेपालले २०१९ मा सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा पुनम राष्ट्रिय टिमकी सदस्य थिइन् । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ५ बाट खेलेकी उनी उत्कृष्ट प्रदर्शनका कारण राष्ट्रिय टिममा आवद्ध हुन पुगिन् ।

पुलिस क्लबबाट खेल्दै गर्दा उनको प्रदर्शनको आधारमा नै उनले निरन्तर राष्ट्रिय टिममा मौका बनाइरहेकी छिन् ।

निरुता ठगुन्ना, ओपन स्पाइकर

२०७३ सालदेखि राष्ट्रिय स्तरको भलिबल खेल्न थालेकी दार्चुलाकी २६ वर्षीया निरुता ठगुन्नाले ३ वर्ष आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेलिन् । त्यसयता भने घरेलु भलिबलमा उनी एपीएफ क्लबबाट खेल्दै आएकी छन् ।

विसं २०७६ (सन् २०१९) कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्णपदक जित्दा उनी राष्ट्रिय टिमकी सदस्य थिइन् ।

सफिया पुन, मिडल ब्लकर

बागलुङकी २८ वर्षकी सफिया पुन विभागीय क्लब आर्मीकी खेलाडी हुन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदबाट उनले नेपाली राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् ।

२०७३ सालमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी उनले त्यहाँ गरेको प्रदर्शनका कारण राष्ट्रिय टिममा नियमित स्थान बनाइरहेकी छन् ।

सुमित्रा रेग्मी, मिडल ब्लकर

गत हप्ता रुसी टिमसँग मैत्रीपूर्ण खेल खेल्दै राष्ट्रिय टिममा प्रवेश पाएकी सुमित्रा रेग्मी घरेलु भलिबलमा न्यू डायमण्डबाट खेल्छिन् ।

६ फिट १ इन्च अग्ली २३ वर्षीया सुमित्राले दुई वर्ष घरेलु प्रतियोगिताहरु खेलेपछि राष्ट्रिय टिममा स्थान बनाएकी हुन् ।

संगम महतो, मिडल ब्लकर

चितवनकी २६ वर्षीया संगमले एक वर्षअघि नेपालमै भएको काभा वुमन्स च्यालेन्ज कपमा राष्टिय टिममा डेब्यु गरेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबलमा स्पाइकरको भूमिकामा खेल्ने उनी राष्ट्रिय टिममा भने मिडल ब्लकरका रुपमा खेल्छिन् । उनको ब्लकसँगै सर्भिसको पनि तारिफ हुने गर्छ ।

घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी पछिल्लो एक वर्षयता राष्ट्रिय टिममा नियमित खेलिरहेकी छन् ।

 कामना विष्ट, स्पाइकर

जाजरकोटकी २४ वर्षकी कामनाले सन् २०२१ मा भएको सेन्ट्रल जोन भलिबलमा राष्ट्रिय टिमबाट डेब्यू गरेकी थिइन् । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने उनी पछिल्लो एक वर्षयता चोटका कारण खेल्न सकेकी थिइनन् ।

उनको हिप बोन र खुट्टामा समस्या आएको थियो । एनभीए लिगमा पुलिस टिमबाट खेल्दै पुनरागमन गरेकी कामनाले पारिवारिक माहोलका कारण १४ वर्षमा क्षेत्रीय प्रतियोगिता खेल्ने अवसर पाएकी थिइन् । २०७३ सालमा नेपाल पुलिस क्लबमा आवद्ध भएकी उनले सातौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

प्रगति नाथ, सेटर

रुकुमकी प्रगतिले १४ वर्षको उमेरमा न्यू डाइमन्ड एकेडेमीमा आएर पढाइसँगै भलिबल सिक्न थालिन् ।

अग्लो कदकी १९ वर्षीया प्रगतिले सुरुमा स्पाइकरको रुपमा प्रशिक्षण गर्न थालेकी थिइन् । न्यू डाइमन्डमा अरुणा शाहीको ब्रेक भएपछि प्रगतिले सेटरको रुपमा मौका पाएकी हुन् ।

उनले यसअघि भएको काभा वुमन्स च्यालेन्ज कपमा अन्तिम १४ मा स्थान बनाएकी हुन् । उनले सेटरमा कप्तान अरुणा शाहीसँग सहकार्य गर्नेछिन् ।

आरती सुवेदी, स्पाइकर

घरेलु भलिबलमा ५ वर्ष बिताएपछि राष्ट्रिय टिममा मौका पाएकी आरती सुवेदी हाल त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन् । तीन वर्ष एपीएफ क्लबबाट खेलेकी चितवन मेघौलीकी आरतीले एपीएफमा आवद्ध हुनुअघि चितवन टाइर्गसबाट पनि खेलिन् ।

५ फिट १० इन्च अग्ली उनी स्पाइकरका रुपमा टिममा परेकी हुन् । आरतीले एक हप्ताअघि रुसी टिमसँग भएको मैत्रीपूर्ण खेलमा डेब्यू गरेकी हुन् ।

कविता भट्ट, मिडलब्लकर

डडेल्धुराकी कविताले गत सिजनको काभा वुमन्स च्यालेञ्ज कपमा डेब्यु गरेकी हुन् ।एपीएफ क्लबबाट घरेलु फुटबल खेल्ने उनले त्यसअघि केही समय आर्मीबाट पनि खेलिन् ।

एपीएफकी खेलाडी उषा विष्टलाई प्रतिस्थापन गर्दै उनले गरेको प्रदर्शन नै राष्ट्रिय टिमसम्म आइपुग्ने बाटो बन्यो ।

 

सलिना श्रेष्ठ, लिबेरो

सलिना श्रेष्ठ नेपाली महिला भलिबलकी पहिलो रोजाइकी लिबेरो हुन् । २६ वर्षीया सलिनाले घरेलु भलिबलमा न्यूडाइमन्ड क्लबबाट खेल्छिन् ।

उनले नेपालका लागि २०१९ को सेन्ट्रल जोन भलिबलमा नेपालका लागि डेब्यु गरेकी हुन् । छरितो खेलाडीका रुपमा चिनिने उनको रिसिभिङ क्षमताको प्रशंसा हुने गरेको छ ।

 शान्तिकला तामाङ, लिबेरो

खोटाङकी शान्तिकला तामाङ नेपाली महिला भलिबलकी उत्कृष्ट लिबेरो हुन् । गत वर्ष नेपालमा नै भएको काभा वुमन्स च्यालेन्ज कपबाट राष्ट्रिय टिममा डेब्यू गरेकी २९ वर्षीयाा उनी नेपाल पुलिस क्लबमा पनि लिबेरोको रुपमा खेल्छिन् ।

राष्ट्रिय टिमका दुई लिबेरोमा सलिना र शान्तिले सहकार्य गर्नेछन् ।

काभा अन्तर्राष्ट्रिय वुमन्स नेसन्स लिग काभा वुमन्स नेसन्स लिग नेपाली महिला भलिबल टिम
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय