+
+

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:२०

१६ साउन, जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् ।

जनकपुरधामस्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन् ।

ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । स्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिए ।

ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् ।

धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ठाकुरको हत्या भएको थियो । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ परेका छन् ।

घटना पश्चात मिटरब्याज पीडित संघर्ष समितिले मृतक मिटरब्याज पीडित रहेको बताएको छ । उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दावी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग छ ।

मिटरब्याजी शिवजीलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले बताए ।

पासवानका अनुसार मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । ऋणको उचित व्याजसहित साँवा दिन तयार रहेपनि शिवजीले नमानेकाले उनीहरुबीच बीच विवाद हुने गरेको थियो ।

यही कारण शिवजीले पटक पटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कर्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएको अध्यक्ष पासवानको भनाई छ । त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुन सक्ने पासवानको आरोप छ ।

शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने मिटरब्याज पीडितहरुको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?