+
+

गृहमन्त्री फेरिनासाथ सीआईबी प्रमुखमाथि छानबिन किन ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ साउन १६ गते २०:५७

१६ साउन, काठमाडौं । गृहमन्त्री फेरिनासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखमाथि छानबिन हुन थालेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । यो प्रवृत्ति शृङ्खलाबद्ध रुपमा अगाडि बढ्दा पर्ने दूरगामी असरबारे ख्याल गर्न सरकारलाई सुझाएका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरुलाई बोलाएको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले आफ्नो धारणा राखिसकेपछि समिति सभापति रामहरि खतिवडाले ‘सीआईबीको बारेमा पनि कुरो उठेको छ’, भनेर सोधे । बुधबार मात्र सीआईबी प्रमुख श्याम ज्ञवालीमाथि अनुसन्धान थालेको सूचना बाहिरिएको थियो ।

प्रहरी प्रमुख कुँवरले यो विषयमा धेरै नबोल्ने बताए । सञ्चार माध्यम विषय आइसकेको भन्दै उनले भने, ‘तालुक कार्यालयहरुबाट प्राप्त भएका पत्राचारको बारेमा यसले आन्तरिक प्रशासनिक कोर्स लिएको अवस्था छ । यति मात्रै म व्यक्त गर्न चाहन्छु ।’

सत्तारुढ सांसदहरुले नै उनको जवाफमा चित्त बुझाएनन् । उनीहरुले गृहमन्त्रीलाई प्रश्न गरे ।

सत्तारुढ एमालेका सांसद रघुजी पन्तले सरकार फेरिएपछि सिआईबी प्रमुखमाथि छानबिन गर्ने प्रबृतिमाथि प्रश्न उठाए । प्रचण्ड सरकारमा गृहमन्त्री फेरिनासाथ सीआईबी प्रमुखमाथि छानबिन भएको स्मरण गर्दै भने, ‘सुनकाण्डको छानबिन भइरहेको थियो । गृहमन्त्री फेरिनुभयो र त्यसको अनुसन्धानमा संलग्नमाथि छानबिन भयो, त्यसपछि अर्को टोली आयो । अहिले त्यो टोलीमाथि छानबिन भइराखेको छ ।’

गृहमन्त्रीहरुको कार्यशैलीले गर्दा प्रहरी विवादमा परेको भन्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने बताए ।

भविष्यमा कसैले असल नियतका साथ काम गर्दा, अनुसन्धान गर्दा प्रहरीले गर्ने छानबिनमाथि प्रश्न उठ्ने वा आशंका गर्ने अवस्था बनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । ‘तपाईंहरु आफूले आफैंभित्र छानबिन गरेर समय बिताउनुहुन्छ कि साँच्चै छानबिन हुन्छ’, एमाले सांसद पन्तले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे ।

कांग्रेस सांसद हृदयराम थानीले सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति नै बनाउनुपर्ने आवश्यकता किनपर्‍यो भनेर प्रश्न गरे । ‘आफैं आईजीपी हुनुहुन्छ । आफैंले कारबाही गर्न मिल्छ होला । समिति नै बनाउनुपर्ने किन ?’ उनले प्रहरी प्रमुख कुँवरलाई प्रश्न गरे ।

उनले कुँवरलाई भविष्यमा आफैंमाथि छानबिन गर्न अर्को समिति बन्न सक्नेतर्फ ख्याल गर्न सचेत गराए । ‘अब तपाईं जानुहुन्छ, फेरि तपाईंमाथि (छानबिन गर्न) अर्को समिति बन्छ यहाँ’ उनले आफ्नो असन्तुष्टि पोखे, ‘हे भगवान कहाँ जान खोज्दैछ मुलुक आज ।’

उनले पार्टीका नेता समेत रहेका गृहमन्त्री लेखकलाई पनि मनपरीतन्त्र रोक्न आँट गर्न आग्रह गरे ।

बज्राचार्यकै शैलीमा ज्ञवालीमाथि छानबिन

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा सीआईबी प्रमुखमा किरण बज्राचार्य थिइन् । त्यसबेला सीआईबीले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा बदनियतपूर्वक अनुसन्धान गरेको आरोप लागेको थियो ।

सुन तस्करी प्रकरणको अध्ययन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको उच्चस्तरीय आयोगले प्रमुख बज्राचार्यसहितका अधिकृतहरुलाई कारबाही गर्न सिफारिस गरेको थियो । खासगरी जीवन चलाउनेलाई कागज गरेर छाडेको, तर प्रतिवेदनमा फरार भनेर लेखेपछि सीआईबी प्रमुख बज्राचार्यमाथि प्रश्न उठेको थियो ।

२१ फागुन २०८० मा सत्ता समीकरण फेरिएपछि प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भए । उनले त्यही प्रतिवेदनलाई देखाएर सुरुमै बज्राचार्यलाई सीआईबी प्रमुख बज्राचार्य हटाइए र श्यामलाल ज्ञवालीलाई ल्याए ।

त्यसपछि बज्राचार्यसहितका प्रहरी अधिकृतमाथि छानबिन गर्न समिति पनि बनेको थियो । तर असार अन्तिममा गृह मन्त्रालय छाड्दासम्म लामिछानेले यो विषयमा थप कदम चालेनन् । अनि, उनले सीआईबी प्रमुख बनाएका ज्ञवालीमाथि सुन प्रकरणका आरोपी जीवन चलाउनेसँग आर्थिक सहयोग मागेको लगायतका आरोप पहिल्यै लागेको थियो ।

सुनका काण्डमा ज्ञवाली नेतृत्वको सीआईबीले गरेको अनुसन्धानमा माओवादी नेताहरुलाई उन्मुख दिएको आरोप लाग्यो । स्वयं रविले संसदमा सुन तस्करीमा माओवादी नेता र उनीहरु निकट केही मान्छेको संलग्नता रहेको दाबी गरेका थिए ।

त्यसैले लामिछानेमाथि सहकारीको रकम अपचलनमा आफ्नो संलग्नताबारे छानबिन गरेको प्रतिशोध साँध्न मात्र बज्राचार्यलाई सीआईबीबाट हटाएको आरोप लाग्यो । प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बन्यो ।

नयाँ सरकारले सीआईबी प्रमुख ज्ञवालीलाई त हटाएको छैन, तर उनीमाथि छानबिन शुरु भएको छ । ‘विभिन्न बैंकसँग जोडिएका लेनदेन, जन्ममितिको विवाद सहितका विषयमा प्रहरीकै उजुरी छानबिन शाखामा निवेदन परेको थियो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘एआईजीमाथि प्रश्न उठेका कारणले छानबिन गर्न भनिएको हो ।’

प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) टेकप्रसाद राईको नेतृत्वको समितिले ज्ञवालीमाथि छानबिन भइरहेको छ ।

रविको प्रतिवाद, लेखक मौन

बैठकमा निवर्तमान गृहमन्त्री रवि लामिछाने र वर्तमान गृहमन्त्री रमेश लेखक दुबै उपस्थित थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले आफूले गृह मन्त्रालयको नेतृत्व गर्दा प्रहरी प्रशासनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको दाबी गरे । साथै तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यमाथि अनुसन्धान गर्ने निर्णयको बचाउ गरे ।

सुन तस्करीको अनुसन्धान पर्याप्त भएन भनेर संसदमा आवाज उठेपछि न्यायिक समिति बनेको भन्दै उने भने, ‘समितिको प्रतिवेदन आयो र प्रतिवेदनका आधारमा अगाडि बढ्यो । अहिले बनाएको कमिटी के हो ? यसको जवाफ अहिलेको संयन्त्रले देला ।’

गृहमन्त्री लेखक यो विषयमा सांकेतिक रुपमा मात्रै प्रस्तुत भए । सीआईबी प्रमुख ज्ञवालीमाथिको छानबिनतर्फ संकेत गर्दै उनले विगतमा भएका काम हेर्ने विषयलाई अन्यथा नलिन आग्रह गरे ।

‘केही कुरा बुझ्ने, कसैले गरेका काममा के भएको हो भनेर हेर्न प्रहरी संगठनको आन्तरिक जीवनको विषय हो । यसलाई त्यही रुपमा लिइदिनुपर्छ’, उनले भने ।

साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए ।

‘प्रहरी संगठनको, प्रशासनको, सरकारका कुनै पनि अंग प्रत्यअंगको दुरुपयोग गरिने छैन, दुरुपयोग हुन दिइने छैन’, गृहमन्त्री लेखकले भनेका छन्, ‘कुनै पनि रुपमा कसैलाई जोगाउन, कसैलाई नजोगाउन त्यो हुन दिइने छैन । यति प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?