+
+

विराटनगरमा बालिकाको अपहरण, तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १२:२६

१७ साउन, विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।

बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी छन् । मंगलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।

प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन् ।

तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ ।

बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए । चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन् ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?