+
+

बाहिर झरी, भित्र उखुम गर्मी

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार यस वर्षको मनसुन सुरु भएपछि पनि अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ साउन १७ गते २०:२३

१७ साउन, काठमाडौं । जारी मनसुन अवधिमा हरेक दिनजस्तो वर्षा भइरहेको छ । बाहिर झमझम झरी परिरहेका बेला पनि घरभित्र शीतल महसुस हुनुपर्ने हो, तर जारी मनसुन सिजनमा अवस्था त्यस विपरीत छ ।

बाहिर पानी परिरहेका बेला घरभित्र फ्यान वा एसी चलाएर बस्नुपर्ने गर्मी हुने गरेको छ ।

अहिले मनसुन अवधिमा पनि गर्मी हुनुको कारण देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुनु हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल भन्छिन्, ‘अहिले जारी मनसुन सिजनमा अधिकांश दिन सरदरभन्दा ताता छन् ।’

मौसमविदहरूका अनुसार नेपालमा रातिको समयमा तापक्रम घटी न्युनतम तापक्रम झर्छ। तर केही दिनयता रातिमा पनि तापक्रम सरदरभन्दा बढी नै देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले हरेक दिनको अधिकतम र न्यूनतम तापक्रमको रेकर्ड राख्दछ ।

कहाँको तापक्रम कति ?

जल तथा मौसम विज्ञान विभागको धेरै मौसम स्टेसनमा अधिकतम र न्युनतम तापक्रम मनसुन सिजनको धेरैजसो दिनहरुमा सरदरभन्दा बढी छ ।

उदाहरणका लागि सन् १९९१ देखि सन् २०२० सम्मको ३० वर्षको अवधिमा काठमाडौंमा जुलाई महिनाको सरदर अधिकतम तापक्रम २८.७ र सरदर न्यूनतम तापक्रम २०.३ डिग्री सेल्सियस हो ।

तर यो वर्ष जुलाई ३१ तारिखको दिन काठमाडौंको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुगेको छ ।

जुलाई महिनामा रूपन्देहीको भैरहवाको सरदर अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस भए पनि २९ जुलाईको दिन भैरहवाको अधिकतम तापक्रम झण्डै ४० र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस रेकर्ड भयो ।

जनकपुरको जुलाई महिनाको सरदर अधिकतम तापक्रम ३२.९ र सरदर न्यूनतम तापक्रम २६.५ हो । तर जुलाई ३१ तारिखको दिन जनकपुरको अधिकतम तापक्रम ३८ र न्यूनतम तापक्रम झण्डै ३० डिग्री सेल्सियस रेकर्ड भएको छ । धनगढी, नेपालगञ्ज, घोराही, विराटनगर, धरान लगायत अधिकांश स्थानमा मनसुन अवधिका दिन र रात सरदरभन्दा ताता देखिन्छन् ।

कुनै स्थानको सरदर तापक्रम विगत ३० वर्षको अवधिमा रेकर्ड भएको तापक्रमको आधारमा निकाल्ने गरिन्छ । त्यसैले फरक–फरक स्थानको सरदर तापक्रम पनि फरक–फरक हुने गर्दछ ।

वर्षा पनि सरदरभन्दा बढी

नेपालमा मनसुन भित्रिएको दिन (१० जुन) देखि जुलाई ३१ तारिखको अवधिमा ९१०.६ मिलिमिटर अर्थात् ६१.५ प्रतिशत वर्षा भइसकेको छ । जबकि मनसुन अवधिमा सरदर करिब १ हजार ४८० मिलिमिटर वर्षा हुने गर्दछ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ भए पनि जुन, जुलाई र सेप्टेम्बर सम्मलाई मनसुनको अवधि मानेर हेर्दा हालसम्म ६१.५ प्रतिशत वर्षा भइसकेको छ ।’

यो तथ्यांकले मनसुनको डेढ महिनामै राम्रो वर्षा भएको देखाउने उनी बताउँछिन् ।

विभागका अनुसार भैरहवा, डडेलधुरा, धरान, दाङ, जोमसोम, काठमाडौं, दिपायल, ओखलढुंगा, धनगढी, पोखरा, विराटनगर, ताप्लेजुङमा सरदरभन्दा बढी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । हालसम्मको अवस्था हेर्दा विभागको प्रक्षेपण मिलेको छ ।

हिउँदयामदेखि नै सुक्खा भएको र प्रि-मनसुन सिजनमा पनि पर्याप्त पानी नपरेकाले यस वर्ष देशैभर गर्मी बढेको थियो । सरदर मिति (जुन १३) भन्दा तीनदिन छिटो (जुन १० तारिख अर्थात् जेठ २८ गते) कोशी प्रदेशमा मनसुन भित्रिएको थियो । असार १० गते देशभर मनसुन फैलिएको थियो । तर वर्षा राम्रै भइरहे पनि गर्मीको सामना पनि गर्नु परिरहेको छ ।

जलवायु परिवर्तनको असरका कारण बढ्दो तापक्रम विश्वव्यापी चिन्ताको विषय बनेको छ ।

नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ लाई पनि उछिन्दै सन् २०२४ सबैभन्दा बढी गर्मी वर्षको रूपमा दर्ज भइसकेको छ । २१ जुलाई २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा दर्ज भएको छ । वैज्ञानिकहरूका अनुसार जुलाईको अन्त्य वा अगष्टमा तापमानले पुनः रेकर्ड तोड्न सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघले बढ्दो तापक्रमबाट पृथ्वीलाई जोगाउन र सम्भावित विपत्तिबाट जोगिने तौरतरिका अपनाउन विश्व समुदायलाई आह्वान गरेको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?