+

पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको चुनौती समाप्त, कसले कस्तो खेले ?

२०८१ साउन  १७ गते १४:२२ २०८१ साउन १७ गते १४:२२
पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको चुनौती समाप्त, कसले कस्तो खेले ?

१७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका एलेक्जेन्डर (एलेक्स) शाह र डुवाना लामा आआफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिए ।

एलेक्सले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पेरिसमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । बुधबार पेरिस पुगेकी एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ११ अगष्टमा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

अहिलेसम्म नेपाली खेलाडीका लागि ओलम्पिकमा सहभागिता नै उपलब्धि हुँदै आएको छ । ओलम्पिक जस्तो ठूलो मेलामा कम्तीमा एक खेल जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र प्रतिस्पर्धात्मक खेल खेलेर छाप छाड्ने सबै खेलाडीको चाहना हुन्छ । तर नेपाली खेलाडीले त्यो स्तर कायम गर्न सकेका छैनन् । पौडीका एलेक्सबाहेक नेपालका अरु ६ खेलाडीको लागि यो पहिलो सहभागिता हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्य नेपाली खेलाडीको प्रदर्शनलाई सन्तोषजनक मान्नुपर्ने बताउँछन् । ‘विपक्षी खेलाडीहरु शीर्ष वरियताका थिए, त्यसैले नेपालका सबैले राम्रै प्रदर्शन दिन प्रयास गरेका हुन्’, उनले भने ।

ओलम्पिकमा राम्रो प्रदर्शन गर्न लगानी बढाउनुपर्ने उनले बताए । ‘यहाँ वर्षौं प्रशिक्षण र कडा मिहिनेत गरेर आएका खेलाडीहरु छन् । तर उनीहरुको ओलम्पिककै लागि भनेर तयारी छैन । हाम्रोमा प्रशिक्षण, लगानी र वातावरण त्यो अनुसार छैन’, उनले भने ।

खेल पदाधिकारीहरुको लापरबाहीका कारण ब्याडमिन्टनका खेलाडी प्रिन्स दाहाल प्रशिक्षक बिना नै ओलम्पिकमा सहभागी हुनुपर्‍यो । प्रिन्सका लागि एल साल्भाडोरका प्रशिक्षकसँग सहयोग लिइयो भने जुडो खेलाडी मनिताकी प्रशिक्षक देवु थापा खेलस्थलमा बस्न पाइनन् । यस्ता अनेक समस्याका बाबजुद समग्रमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

स्यान्टु श्रेष्ठ (टेबलटेनिस)

स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी हुन् । उनीअघि तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । १६ वर्षपछि छनोट चरण पारेर गरेर ओलम्पिक खेल्ने अवसर स्यान्टुले पाए । काठमाडौंमै भएको ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोटमा पुरुषतर्फ स्वर्ण जित्दै उनले पेरिस ओलम्पिको सहभागिता पक्का गरेका थिए ।

छनोट चरण पार गरेको मेरिटकै आधारमा उनले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोक्ने अवसर पाए । टेबलटेनिसको मेन्स सिंगल्समा सहभागी ६७ खेलाडीमध्ये अन्तिम वरियतामा रहेका स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए ।

स्यान्टुको पहिलो खेल सेनेगलका अनुभवी खेलाडी इब्राहिम डियावसँग थियो । उक्त खेल जितेमा राउण्ड अफ ६४ मा प्रवेश गर्ने अवसर थियो । पहिलो गेममा स्यान्टुले ७-३ को अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेनन् । १०-१० अवस्थामा पुगेपछि इब्राहिमले ट्राईब्रेक गर्दै लगातार दुई अंक जोडेर खेल आफ्नो पक्षमा पारे ।

इब्राहिमले दोस्रो गेम ११-३ ले, तेस्रो गेम ११-४ ले र चौथो गेम ११-५ ले आफ्नो पक्षमा पार्दै खेल जिते । पहिलो खेलबाट बाहिरिएपछि स्यान्टुले ओलम्पिकमा सोचे भन्दा फरक अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताएका थिए ।

फेसबुकमा स्टाटस लेख्दै उनले ४-० को हार भने अपेक्षा नगरेको बताए ।

प्रिन्स दाहाल (ब्याडमिन्टन)

ब्याडमिन्टनका प्रिन्स दाहाल वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा छनोट भएका थिए । समूह चरणमा ३ खेल खेल्न पाएका उनी सबै खेलमा पराजित भए पनि धेरै अनुभव लिन पाए । प्रिन्स रहेको समूहमा टोकियो ओलम्पिकका स्वर्ण विजेता तथा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सलसेनसहित अनुभवी खेलाडी थिए ।

पहिलो खेलमै उनको प्रतिस्पर्धा भिक्टरसँग थियो । प्रशिक्षक बिना नै पेरिस पुगेका प्रिन्सको खेलमा एल साल्भाडोरका प्रशिक्षक बसेका थिए । उनी भिक्टरसँग २१-८, २१-६ ले सहजै पराजित भए ।

त्यसपछि प्रिन्स दोस्रो खेलमा आयरल्याण्डका एनहात गुएनसँग २१-७, २१-५ तथा अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२, २१-१० ले पराजित भए । अन्तिम खेलमा एल साल्भाडोरका प्रशिक्षक बिरामी हुँदा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नै प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

पहिलो ओलम्पिकमा धेरै कुरा सिक्न पाएकाले ओलम्पिक सहभागिता आफ्ना लागि महत्वपूर्ण रहेको प्रिन्स बताउँछन् । ‘धेरै भन्दा धेरै प्रतियोगिता खेलेर अर्को ओलम्पिकमा केही गर्न सकिन्छ जस्तो लाग्छ’, उनले भने ।

 एलेक्जेन्डर शाह (पौडी)

पौडीका एलेक्जेन्डर (एलेक्स) शाहले लगातार दोस्रो पटकको ओलम्पिक सहभागितामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गरे । उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वर्ल्ड अक्याटिक च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि पनि राम्रो हो’, एलेक्सले भने, ‘म अझ चाँडै जान चाहन्थे ।’ एलेक्स हिट ३ मा ८ खेलाडीमध्ये तेस्रो भएका थिए । तर कूल ७९ खेलाडी सहभागी यस इभेन्टमा एलेक्स समग्रमा ५९औं स्थानमा रहे ।

अमेरिका बस्दै आएका एलेक्सले अमेरिकामै ओलम्पिकको तयारी गरेर पेरिस पुगेका थिए । अब उनी नेपाल नआई अमेरिका फर्किनेछन् । न्यूयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्स फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्ससंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

एलेक्सअघि प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिका सिंहले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए ।

नेपालबाट म्याराथन धावक वैकुण्ठ मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा सहभागिता जनाएका छन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

 सुस्मिता नेपाल (सुटिङ)

वाइल्ड कार्डमार्फत पहिलो पटक ओलम्पिक खेल्न गएकी सुटिङ खेलाडी सुस्मिता नेपालले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी थिइन् । तर महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी उनी ६०७.८ अंक मात्रै जोडेर क्वालिफिकेसन राउण्डबाटै बाहिरिइन्, र राष्ट्रिय कीर्तिमान पनि बनाउन सकिनन् ।

यस इभेन्टमा कूल ४३ खेलाडीले प्रतिस्पर्धा गरेकामा सुस्मिता रिफ्युजी ओलम्पिक टिमकी लुना सोलोमन (६०१.२ अंक) भन्दा मात्र अघि रहिन् । यस इभेन्टको क्वालिफिकेसन राउण्डमा दक्षिण कोरियाकी बान ह्यो-जिनले ६३४.५ अंक जोड्दै ओलम्पिक रेकर्ड बनाइन् ।

मनिता श्रेष्ठ प्रधान (जुडो)

एसियन कोटाबाट पहिलो पटक ओलम्पिकमा छानिएकी जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा कम्तीमा एक बाउट जित्ने लक्ष्य राखेकी थिइन् । मनिताकी पहिलो प्रतिस्पर्धी सर्वियाकी मारिका पेरिसिक विश्व नम्बर ९ वरियतामा थिइन् । उनी जम्मा १ मिनेट २ सेकेण्डमै पेरिसिकसँग पराजित भइन् ।

मनिताको प्रशिक्षकको रुपमा देवु थापा पेरिस पुगेकी थिइन् । तर खेल हुँदा भने मनिताको साथमा प्रशिक्षक देवु उपस्थित थिइनन् ।

मनिताको गि अर्थात खेल हुँदा लगाउने पोशाक परिवर्तन गर्नुपरेकाले प्रशिक्षकलाई खेल स्थलमा उपस्थित हुन नदिएको खेल पदाधिकारीहरुले अनलाइनखबरलाई जानकारी दिएका छन् । सुरुमा मनिताले खेल हुँदा लगाएको पोशाकमा मनिता र नेपालको नाम पनि लेखिएको थिएन ।

डुवाना लामा (पौडी)

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी उनले २०० मिटर फ्रिस्टाइल २ मिनेट २०.७४ सेकेण्डमा पूरा गर्दै अन्तिम स्थान अर्थात सातौं स्थानमा आइन् र राष्ट्रिय कीर्तिमान पनि बनाउन सकिनन् ।

प्रशिक्षक नयना शाक्यले खराब स्वास्थ्य अवस्थाका कारण डुवानाले राम्रो खेल्न नसकेको बताइन् ।

‘तीन दिनअघि हिंड्दाहिंड्दै खुट्टामा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउँदा एंकलमा पुरानै समस्या बल्झिएको देखियो । खुट्टा सुन्निएको थियो’, शाक्यले भनिन्, ‘तीन दिनको उपचार र फिजियाथेरापीपछि खेल्न सक्ने अवस्था भएको हो । त्यसैले उसको समय सोचे अनुसारको आउन सकेन ।’

डुवानाले खेलपछि इन्स्टाग्राममा गरेको पोस्टमा पनि चोटका कारण खेल्ने वा नखेल्ने स्थितिसम्म पुगेको उल्लेख गरेकी छन् । उनले आफूले राम्रो प्रदर्शन गर्न नसकेकामा माफी पनि मागेकी छन् ।

नेपाली खेलाडी पेरिस ओलम्पिक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय