+
+

मनसुनमा निरन्तर घट्दै पर्यटक आगमन, जुलाईमा यो वर्षकै कम

एक त मनसुनमा आगमन नै कम हुने र अर्कातर्फ मनसुनको समयमा नेपालमा हुने घटना/दुर्घटनाले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक समाचारको असर बढी हुने हुँदा धेरैले नेपाल यात्रा रद्द समेत गर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १७:२१

१७ साउन, काठमाडौं । नेपालमा मनसुन याम सुरु भएसँगै पर्यटक आगमन खस्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सन् २०२४ कै सबैभन्दा कम पर्यटक आएका छन् ।

यो महिना ६४ हजार ५ सय ९९ पर्यटक नेपाल आएका छन् । यो यस वर्ष कुनै पनि महिना आएको पर्यटकको सबैभन्दा कम संख्या हो । कोरोना भाइरस महामारी आउनु अगाडिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत यस महिना पर्यटक कम आएको देखिन्छ । उक्त वर्ष जुलाईमा ७० हजार ९ सय १६ पर्यटक आएका थिए ।

एक त मनसुनमा आगमन नै कम हुने र अर्कातर्फ मनसुनको समयमा नेपालमा हुने घटना/दुर्घटनाले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक समाचारको असर बढी हुने हुँदा धेरैले नेपाल यात्रा रद्द समेत गर्छन् ।

अघिल्लो महिना मुख्य राष्ट्रिय राजमार्गबाट दुई वटा बस त्रिशूली नदीमा बगेर हराउनु र एउटा जहाज दुर्घटनाले नेपालको अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक प्रचार धेरै भएको छ ।

२०२३ को तुलनामा भने यो महिना पर्यटक आगमन केही बढेको देखिन्छ । अघिल्लो वर्ष जुलाईमा ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो सात महिनामा कुल पर्यटक आगमन भने साढे ६ लाख हाराहारी भएको छ । यस वर्ष जुलाईसम्म ६ लाख ४७ हजार ६ सय १५ पर्यटक नेपाल आएका छन् ।

जुलाई २०२४ मा भारतबाट सर्वाधिक २१ हजार ४ सय ९१ पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा केही बढी हो । दोस्रो स्थानमा अमेरिकी पर्यटक आगमन छ ।

अमेरिकी पर्यटक आगमन भने मनसुनमा समेत उत्साहजनक देखिन्छ । यो महिना ८ हजार ८ सय ६८ अमेरिकी आएका छन् । अघिल्लो वर्ष यो महिना अमेरिकी नागरिकको आगमन ६ हजार २ सय १४ रहेको थियो । तेस्रो स्थानमा चिनियाँ पर्यटक आगमन देखिन्छ ।

यो महिना चीनबाट ६ हजार ८ सय १९ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष चीनबाट ५ हजार ६ सय ९३ जना नेपाल आएको देखिन्छ । यस वर्ष मनसुनमा बंगलादेशबाट आउने पर्यटक संख्यासमेत वृद्धि भएको छ ।

पर्यटन बोर्डका अनुसार यो महिना ३ हजार ४ सय ७० बंगलादेशी आएका छन् । यो गत वर्ष यसै महिनाको तुलनामा २८ प्रतिशत धेरै हो । यो वर्ष अस्ट्रेलियाली पर्यटक आगमन समेत उल्लेख्य बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?