+
+

दुर्घटनामा परेका सौर्य एयरका पाइलट डिस्चार्ज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १४:५६

१७ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।

‘उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार उहाँलाई डिस्चार्ज गर्ने तयारी छ । परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’ उनले अनलाइनखबरसँग भनिन् ।

डा. थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । ‘घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । हाडजोर्नी विशेषज्ञ, न्यूरो सर्जरी, ईएनटी (नाक, कान, घाँटी) र आँखाका विशेषज्ञसँग निरन्तर सल्लाहमा बस्नुपर्ने हुन्छ’, डा. थापाले भनिन् ।

जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।

एमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन नगरेको उनले बताइन् । उपचारको क्रममा थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान नसकेको र त्यसपछि तल खस्न थालेपछि जहाजलाई नियन्त्रणमा राख्न नसकेको उनले बताएका थिए ।

९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

त्यसै दिन अस्पताल भर्ना भएका शाक्य ८ दिनको उपचारपछि डिस्चार्ज हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?