+
+

जनकपुरमा हत्या गरिएका व्यक्तिको शवसहित मिटरब्याज पीडितको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १५:११

१७ साउन, जनकपुरधाम । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् ।

स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुर बजारमा प्रदर्शन गरेका हुन् ।

स्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन् ।

उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका छन् ।

ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको हो ।

ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते छिन् ।

हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मिटरब्याज पीडितलाई बिहीबार ११ बजे वार्तामा बोलाए पनि नआएको बताए । आफन्तले शव जलाउन खोजेपनि मिटरब्याज पीडितले शव नियन्त्रणमा लिएर प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?