+
+

मलिका महत अभिनित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १५:२५

काठमाडौं । महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुको फिल्म ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मको सामाजिक र सिनेम्याटिक सन्दर्भबारे चर्चा गरे ।

छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गर्ने यो फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट भएको यो फिल्मले छोरी हुनुको महत्व दर्शाउन खोजेको छ ।

फिल्मको शीर्ष पात्र सतीदेवीको भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । यसअघि यात्रा, पानीफोटो र अगस्त्यजस्ता विभिन्न कथाका फिल्ममा अभिनय गरेकी महतको यो चौंथो फिल्म उनको करिअरमा महत्वपूर्ण हुने देखिन्छ ।

ट्रेलर सार्वजनिक गर्दै निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई फिल्ममा उतारेको बताए । समाजको परिवर्तनमा यो फिल्मले खास अर्थ दिने उनको भनाई छ ।

सुवेदी भन्छन्, ‘एकै खालको फिल्म हेरेर दर्शक वाक्क थिए । यथार्थ फिल्म बनेका थिएनन् । हामीले देखेका कथामा बनेका फिल्म कम छन् । आफैंले देख्दै भोग्दै आको कथामा फिल्म बनाउन मन थियो । यो जमर्कोमा सतीदेवी बनेको हो ।’

अभिनेत्री महतले छायांकन अनुभव सुनाएकी थिइन् । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो । छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा ।

फिल्ममा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । मलिकासँगै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ पनि फिल्ममा छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।

फिल्मको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मणकै छ । यो फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ ।

‘सतीदेवी’ भदौ ७ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?