+
+

भरतपुर अस्पतालले लियो ५६ करोड बीमा दाबी भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १६:४०

१७ साउन, चितवन । चितवनको भरतपुर अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट स्वास्थ्य बीमा दाबी भुक्तानीवापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको छ ।

अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ५० लाख रुपैयाँ बीमा भुक्तानी लिएको जानकारी दिए ।

अस्पतालमा एकै दिन बीमाका औसत १५ सय र आकस्मिक औसत ८० वटा टिकट काट्ने गरिएको पौडेलले बताए । अस्पतालमा सरदर दैनिक ३० जना बिरामी भर्ना हुने गरेका छन् ।

पौडेलका अनुसार गत असोज ४ गते सबैभन्दा धेरै ओपीडीमा ३ हजार २ जना बिरामीले टिकट काटेकोमा त्यसमध्ये बीमाका मात्रै २१ सय ४३ जना रहेका थिए ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमा गरेका बीमितहरू हुने गर्दछन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले हरेक वर्ष बीमा गर्नेहरू २–३ प्रतिशतले बढ्दै गएको बताए । स्थानीय तहहरूले विपन्नहरूको निःशुल्क बीमा गर्न थालेपछि संख्या बढेको उनको भनाइ छ । यसले नागरिकलाई सहज भएको पौडेलले बताए ।

भरतपुर अस्पताल बीमाको प्राथमिक र रेफरल दुवै सेन्टरका रुपमा रहेको छ । पौडेलले बीमा गर्दा बिरामीलाई आर्थिक रूपमा निकै सहयोग हुने बताए ।

अस्पतालमा २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम सुरु भएको हो ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलका अनुसार गत आर्थिक वर्षसम्मको १४ करोड रकम अझै पाउन बाँकी रहेको छ ।

अस्पतालमा बीमा कार्यक्रम लागू भएपछि गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १५८ रुपैयाँ दाबी भुक्तानी भएको छ ।

पौडेलको भनाइमा स्वास्थ्य बीमा बोर्डमा सबैभन्दा बढी दाबी गर्ने भरतपुर अस्पताल पहिलो हो । यस अस्पतालपछि दोस्रोमा दाबी भुक्तानी लिनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धुलिखेल अस्पताल रहेका छन् ।

भरतपुर अस्पतलामा बीमा कार्यक्रममा १७ जना कर्मचारीहरूले सेवा दिइरहेका छन् ।

औषधिको उपलब्धता, चिकित्सकबाट अनावश्यक परीक्षणको दबाब लगायत स्वास्थ्य बीमामा समस्या रहेको इन्चार्ज पौडेलले बताए ।

चितवनसहित नवलपरासी, तनुहँ, गोरखा, मकवानपुर, धादिङलगायत जिल्लाका नागरिकले पहिलो सेवाबिन्दु भरतपुर अस्पताललाई बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?