+
+

धरहरा निर्माण अन्तिम चरणमा, सञ्चालन ‘मोडालिटी’ अन्योलमै

२०७८ सालमा आयोजनाको भौतिक संरचना आधा पनि नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन भएको तीन वर्षपछि बल्ल धरहरा पूर्णरूपमा सञ्चालन चरणमा पुगेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन १७ गते २०:५९
फाइल तस्वीर

१७ साउन, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट ढलेको धरहरा नवनिर्माणको अन्तिम चरणमा छ । धरहरा निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको र आगामी असोज तेस्रो सातासम्म निर्माणको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

सहरी विकास मन्त्रालय भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार २० असोजसम्म यो आयोजना निर्माणको अन्तिम म्याद हो ।

उक्त अवधिसम्म शतप्रतिशत निर्माण सक्ने लक्ष्यसाथ अहिले धमाधम काम भइरहेको उनी बताउँछन् । ‘भौतिक निर्माणको काम सम्पन्न भइसकेको छ,’ उनी भन्छन्, ‘अब विद्युतीय उपकरण र रङरोगनको काम जारी छ ।’

विद्युतीय उपकरण जडान अन्तर्गत समेत केबुल बिच्छ्याउने काम सकिएको र अब बल्ब (चिम) जडान गरी फिटिङ गर्न बाँकी रहेको उनले जानकारी दिए ।

उता, अन्तिम तहको रङरोगन, फायर फाइटिङ उपकरण तथा अन्य सुविधाजन्य उपकरण जोड्ने काम भइरहेको उनले बताए । जसमा एयर कन्डिसन (एसी), हिटिङ सिस्टम जस्ता उपकरण जडान पर्छन् ।

२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माण शिलान्यास तीन वर्षपछि १२ पुस २०७५ मा भएको थियो । त्यसको तीन वर्षपछि २०७८ मा आयोजनाको भौतिक संरचना आधा पनि नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन भएको तीन वर्षपछि बल्ल धरहरा पूर्णरूपमा सञ्चालन चरणमा पुगेको हो ।

फाइल तस्वीर ।

धरहरा ११ वैशाख २०७८ मा उद्घाटन गरिएको थियो । यो आयोजनाको म्याद ६ पटकसम्म थप्नुपरेको छ । धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत अगाडि बढेको थियो । प्राधिकरणको अवधि समाप्त भएसँगै सहरी विकास मन्त्रालयबाट निर्माण अगाडि बढेको हो ।

अझै तय भएन सञ्चालन ‘मोडालिटी’

धरहरा निर्माण अन्तिम चरणमा पुगे पनि यसलाई सञ्चालनको ‘मोडालिटी’ भने अझै तय भइसकेको छैन ।

‘सर्वसाधारणको अवलोकनका लागि कहिलेबाट खोल्ने, शुल्क के हुने, सञ्चालन कसले गर्ने, कसरी गर्ने जस्ता विषय अझै टुंगिएको छैन,’ इन्जिनियर भट्टराईले भने ।

यसको मोडालिटी भने सरकारले तय गर्ने उनको भनाइ छ । अहिले धरहराको बेसमेन्टमा महानगरपालिकाको व्यवस्थापनमा अन्डरग्राउन्ड पार्किङ भने सञ्चालनमा छ ।

मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सञ्चालनमा रहेको अन्योलबारे अभिव्यक्ति दिएका थिए । साथै, उनले धरहराको स्वामित्व महानगरको नभएको भन्दै आलोचना समेत गरेका थिए ।

‘पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि त !,’ सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए ।

फाइल तस्वीर ।

ओलीले धरहराको लिफ्ट खिया लागेर बसेको समेत बताए । ‘धरहराको टुप्पोबाट देखेको काठमाडौं साँच्चै मनमोहक देखिन्छ, अनि किन सञ्चालन नगर्ने ?,’ उनले कुन मन्त्रालयबाट कसरी सञ्चालन गर्ने हो, त्यसको कार्यविधि बनाउन समेत उनले निर्देशन दिए ।

उनको यो निर्देशनले निर्माणको अन्तिम चरणमा पुग्दासमेत धरहरा कसरी सञ्चालन गर्ने भन्नेमा रहेको अन्योल देखाउँछ ।

धरहरा पुनर्निर्माण जीआईईटीसी–रमण जेभीले गरिरहेको छ । धरहरा उद्घाटनकै समयमा सरकारले त्यसपछिको १० महिनामा सर्वसाधारणले चढ्न पाउने दाबी गरेको थियो ।

तर, धरहरा ढलेको साढे आठ वर्षमा पनि सर्वसाधारण चढ्न सक्ने गरी निर्माण हुन सकेको छैन । धरहरा उद्घाटन भएको समयमा तीन तले भूमिगत पार्किङ, भूकम्प र टक्सार सम्बन्धी संग्रहालय, फुडकोर्ट सहित युटिलिटी ब्लक, बगैंचा, सुन्धार सहित संरचना बनेका थिएनन् ।

धरहरा बनाउन ३ अर्ब ४९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सरकारले आयोजना निर्माण गर्न ‘म बनाउँछु मेरो धरहरा’ नामक अभियान चलाएको थियो । अभियानबाट २४ करोड हाराहारी उठेको थियो ।

फाइल तस्वीर ।

कस्तो बन्यो धरहरा ?

बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालय समेत यहाँ बन्दैछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?