+
+

ढल्को घटना : प्रहरीले आफ्नो मान्छे थुनेको निहुँमा विवाद र हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १७:३७

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्ली ढल्कोमा बुधबार अपराह्न छिमेकीबीच विवाद भयो ।

छिमेकीका दुई समूहबीच भएको विवादले उग्र रुप लियो । सोही क्रममा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भयो भने ६ जना घाइते भए । घटनामा पोडेटोल बस्ने अन्दाजी ३३ वर्षका अनित पुजारीको ज्यान गयो ।

खुकुरी प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् ।

पोडेटोलकै ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी घाइते भएका छन् । उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

व्यक्ति हत्या हुनेगरी आक्रमणमा उत्रिएको आरोपमा प्रहरीले ४ पुरुष र ३ महिला गरी ७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा पोडेटोलका १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रविन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् ।

उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

व्यक्ति हत्या हुनको कारण भने प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको विषयसँग जोडिएको छ ।

घाइते भएका किरण र पक्राउ परेका सुविन्द्र, रविन्द्र एउटा समूहका हुन् । मृतक अनित, घाइते विक्रम, दिनेश र पक्राउ परेका अमृत अर्को समूहका व्यक्ति रहेको खुलेको छ ।

१४ साउनमा मात्रै किरणमाथि वडा नम्बर १७ मै रहेको इन्द्रायणी मन्दिरमा कुटपिट भएको थियो । मर्मत भइरहेको मन्दिर कुल्चिएको निहुँमा विवाद हुँदा किरणमाथि कुटपिट भएको थियो ।

कुटपिट भएको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही विषयमा हाम्रो मान्छेलाई किरणले थुनाएको भन्दै अनित, विक्रम, अमृत, दिनेशले किरणलाई आरोप लगाएपछि बुधबार उनीहरूबीच विवाद भएको थियो ।

सोही विषयमा छिमेकीको दुई समूहबीच झडप हुँदा अनितको मृत्यु भएको पाइएको एक अनुसन्धान अधिकृतले बताए । उनले भने, ‘कुटपिटको आरोपमा एक जनालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका थियौं । सोही विषयमा हाम्रो मान्छेलाई थुनायो भन्दै विवाद भएपछि झडप हुँदा व्यक्तिको मृत्यु भएको देखिन्छ । यो आवेश प्रेरित घटना हो ।’

हाम्रो मान्छे थुनाइस भन्दै बाटोमा विवाद भएपछि घर गएर सुविन्द्रले खुकुरी लिएर आएको प्रहरीले जनाएको छ । रविन्द्रले प्रहार गरेको खुकुरी लागेर अनितको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?