+
+

अन्योलमा विद्याभूषण पदक वितरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १८:५१

१७ साउन, काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वितरण गर्ने विद्याभूषण पदक लामो समयदेखि अन्योलमा परेको छ ।

२०७६ देखि विद्याभूषण पदक आर्थिक अभावका कारण वितरण गर्न नसकेपछि यो वर्ष के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको छ ।

सरकारले गत वर्ष अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ जारी भएको दिन २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो । सोही दिन पदक वितरण गर्ने सरकारको योजना थियो ।

९ जेठको मन्त्रिपरिषद् बैठकले २०७६ सालदेखि २०८० सालसम्मका सर्वाेत्कृष्ट ९६२ विद्यार्थीलाई विद्याभूषण पदक प्रदान गर्ने निर्णय गरेको थियो । तर, आर्थिक अभावले गर्दा यो वर्ष पनि पदक वितरण अन्योलमा छ ।

गत वर्ष शिक्षा मन्त्रालयले विद्याभूषण पदकका लागि ४ करोड बजेट अर्थ मन्त्रालयसँग माग गरे पनि नपाएपछि पदक बनाउन नसकेको बताएको थियो ।

यसवर्ष विद्याभूषण पदक पाउने विद्यार्थीको सूची तयार गर्नुपर्ने समय नजिकिन थालेपछि मन्त्रालयले के गर्ने भन्ने विषयमा छलफल अगाडि बढाएको जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार २०७६ सालपछिदेखि २०८१ सालसम्मका लागि करिब ६ करोड रकम आवश्यक पर्नेछ । उनले भने ‘छिट्टै निर्णयमा पुग्छौं ।’

सरकारले राष्ट्रिय शिक्षा दिवसको दिन नेपाल विद्याभूषण (उत्कृष्ट विद्यार्थीलाई दिइने पदक) क, ख, ग, नेपाल छात्रा विद्या पदक क, ख का साथै गत वर्षदेखि नेपाल प्रविधि विद्याभूषण पदकको समेत घोषणा गरेको थियो ।

कसले पाउँछन् पदक ?

दिवसको अवसरमा सरकारले विश्वविद्यालयस्तरीय सर्वोत्कृष्ट विद्यार्थी र राष्ट्रियस्तरका सर्वोत्कृष्ट विद्यालय छनोट गर्दै आएको छ । सर्वोत्कृष्ट विद्यार्थी र विद्यालयहरूलाई नेपाल विद्याभूषण पदक तथा नगद राशीले सम्मान गरिन्छ ।

नेपाल विद्याभूषण ‘क’ बाट विद्यावारिधी गर्ने विद्यार्थी (विदेशी शैक्षिक संस्थाबाट गरेर आएकालाई समेत) लाई सम्मान गर्ने, नेपाल विद्याभूषण ‘ख’ स्नातकोत्तर तहका विधागत सर्वोत्कृष्ट विद्यार्थीलाई र नेपाल विद्याभूषण ‘ग’ स्नातक तह तथा कक्षा ११, १२ का सर्वोत्कृष्टलाई दिने चलन छ ।

यसपटकदेखि सरकारले विज्ञान प्रविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भएको छ ।

विद्यार्थीको हकमा विश्वविद्यालयको सम्बन्धित डीन कार्यालयले र विद्यालय तहको राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर गरेको विद्यार्थीलाई सम्मानित हुनेछन् ।

विद्यालयको हकमा राष्ट्रिय पुरस्कारमा देशभरबाट छनोट भएको सर्वोत्कृष्ट तीनलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख राशीबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

सर्वोत्कृष्ट विद्यालय छनोट गर्न भर्ना विद्यार्थी संख्या, एसईईको पछिल्लो तीन वर्षको नतिजा लगायतलाई आधार मान्ने गरिएको छ । त्यस्तै समाज कल्याण शिक्षा पुरस्कार (व्यक्ति वा संस्था) लाई पुरस्कृत गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?