+

ओडीआईमा श्रीलंकाका १६ खेलाडीको भन्दा कोहली एक्लैको रन बढी

२०८१ साउन  १७ गते १९:१९ २०८१ साउन १७ गते १९:१९
ओडीआईमा श्रीलंकाका १६ खेलाडीको भन्दा कोहली एक्लैको रन बढी

१७ असार, काठमाडौं । भारत र श्रीलंकाबीच तीन ओडीआई खेलको सिरिज शुक्रबारबाट सुरु हुँदैछ । टी–२० विश्वकप जितेपछि विराट कोहली र रोहित शर्माले टी–२० आईबाट सन्न्यास लिएका थिए ।

बंगलादेशसँग सेप्टेम्बरमा हुने दुई टेस्ट सिरिज तयारीलाई भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले विराट कोहली र रोहित शर्मा दुबैलाई ओडीआई टिममा समेटेका छन् ।

श्रीलंकाले चरिथ असलंकाको नेतृत्वमा भारतसँग खेल्ने तीन ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । रोचक तथ्य भारतविरुद्ध खेल्ने श्रीलंकाका १६ खेलाडीको भन्दा विराट कोहली एक्लैको ओडीआईमा बढी रन छ ।

३५ वर्षीय कोहलीले २९२ ओडीआईमा ५० शतक र ७२ अर्धशतकसहित १३ हजार ८४८ रन बनाएका छन् । श्रीलंका १६ खेलाडीको ओडीआईमा कुल रन १२ हजार ८८५ छ । कोहलीको ५० शतक बराबर ५ हजार रन बनाउने कुनै पनि श्रीलंकाली ब्याटर यस सिरिजमा छैनन् ।

श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले १३० ओडीआईमा सर्वाधिक तीन हजार ८५९, पाथुम निसांकाले ५५ खेलमा दुई हजार २२५ र कप्तान चरिथ असलंकाले ५९ ओडीआई खेलमा एक हजार ९१८ रन बनाएका छन् ।

अविष्का फ्रेनान्डो ३८ खेलमा एक हजार २१५ र विकेटकिपर सदिरा समाविक्रमाले ४१ ओडीआईमा एक हजार १७० रन बनाएका छन् । भारतविरुद्ध खेल्ने श्रीलंका अन्य १० खेलाडीले ओडीआईमा ५ सय रन पनि कटाएका छैनन् ।

कामिन्दु मेन्डिस ७ ओडीआईमा १२७, जेनिथ लियानागे ९ ओडीआईमा ३४६, दुनिथ वानिन्दु हसरंगा ५४ ओडीआईमा ८९५, वेलालागे २१ ओडीआईमा २२३ र चामिका करुणारत्ने २६ ओडीआईमा ४५१ रन बनाएका छन् ।

स्पिनर महेश थिक्सेना ४२ ओडीआईमा २६४, अकिला धनन्जयले ४० ओडीआईमा २९१ र तीव्र गतिका बलर असिथा फ्रेनान्डो ७ ओडीआईमा १ रन बनाएका छन् ।

बलर एसान मलिङ्गा, मोहम्मद शिराज र विकेटकिपर निशान मदुशाकाले ओडीआई खेलेका छैनन् । म्याच विनर र भरपर्दा ब्याटर नहुनु श्रीलंका क्रिकेट पछिल्लो समय खस्किनुको प्रमुख कारण हो ।

खस्किँदो प्रदर्शनका कारण श्रीलंकाले टोलीमा निरन्तर खेलाडी र कप्तान परिवर्तन गर्दै आएको छ । जसका कारण टोली र प्रदर्शन दुबै अस्थिर छ ।

कोहली ओडीआईमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा छन् । भारतकै सचिन तेन्दुलकर ४६३ ओडीआईमा ४९ शतकसहित १८ हजार ४२६ रनका साथ शीर्ष र श्रीलंकाका कुमार संगाकारा ४०४ ओडीआईमा २५ शतकसहित १४ हजार २३४ रन जोड्दै दोस्रो स्थानमा छन् ।

भारत र श्रीलंकाबीचको तीन ओडीआई खेल शुक्रबार, आइतबार र बुधबार कोलोम्बोमा हुनेछ । तीन टी–२० आई सिरिजमा भने भारत पहिलो खेलमा ४३ रन, दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।
दुबै टोलीको ओडीआई सिरिजको मुख्य उद्देश्य सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीको तयारी हो

भारत-श्रीलंका ओडीआई विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय