+
+

एक वर्षमा वीरगञ्ज भन्सारबाट दुई हजार गाडी आयात   

रासस रासस
२०८१ साउन १७ गते १०:३६
फाइल तस्वीर : वीरगञ्ज भन्सारमा नयाँ गाडी ।

१७ साउन, वीरगञ्ज, (पर्सा) । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको तुलनामा इन्धनबाट चल्ने सवारी साधन धेरै आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा यो नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ । सोही अवधिमा पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार रुपैयाँ बराबरका इन्धनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् ।

ती सवारी साधन आयात हुँदा भन्सार कार्यालयले चार अर्ब ९६ करोड ९२ लाख १८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । आव २०७९/८० मा भने यो कार्यालय हुँदै एक अर्ब ७८ करोड ८७ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको एक हजार एक सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए ।

ती सवारीसाधन आयात हुँदा राज्यले चार अर्ब नौ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए ।

‘गत आवमा आर्थिक मन्दी र सवारीसाधनको आयातमा कमी हुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ’, उनले भने ।

आव २०८०/८१ मा एक अर्ब १४ करोड ५० लाख ६७ हजार रुपैयाँ मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले ५८ करोड १३ लाख १३ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।

कार्यालय काअनुसार आव २०७९/८० मा यो भन्सार कार्यालय हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आवमा यो कार्यालयले भन्सारवापत ६० करोड ८८ लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

आव २०८०/८१ मा ३५ करोड ३८ लाख ४० हजार रुपैयाँ मूल्य पर्ने दुई सय ४० वटा डबल क्याव पिकअप सवारी आयात भएको थियो ।

सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो । जबकी आव २०७९/८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो ।

ती गाडी आयात हुँदा राजस्व भने एक अर्ब ५५ करोड ४३ लाख १९ हजार रुपैयाँ सङ्कलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आव २०७९/८० को तुलनामा गत आवमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।

आव २०८०/८१ मा २७ करोड ४४ लाख ८९ हजार रुपैयाँ मूल्य पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट ३४ करोड ५४ लाख १० हजार  रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

जबकी आव २०७९/८० मा भने ८३ करोड १९ लाख दुई हजार मूल्य पर्ने आठ हजार सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व सङ्कलन भयो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।

आव २०८०/८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा ५७ करोड नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आव २०७९/८० मा भने ८३ करोड ७४ लाख ६९ हजार मूल्यका तीन सय ५४ वटा ट्रक, मिनि ट्रकको आयात हुँदा राज्यले ४८ करोड ३२ लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

आव २०७९/८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ ।

कार्यालयका अनुसार गत आवमा आयात भएका सवारीसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व सङ्कलनमा आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?