+

काभा वुमन्स भलिबल : पहिलो जितले नेपाल उत्साहित

२०८१ साउन  १७ गते २१:०० २०८१ साउन १७ गते २१:००
काभा वुमन्स भलिबल : पहिलो जितले नेपाल उत्साहित

१७ साउन, काठमाडौं । बिहीबार काठमाडौंमा सुरु भएको काभा वुुमन्स भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।

मध्य एसियाका नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा पराजित गरेको हो । दोस्रो सेटमा श्रीलंकाले ४–२ सम्म अग्रता लिएको थियो, तर नेपाल लयमा फर्कदै श्रीलंकालाई १८ मा नै रोक्यो ।

तेस्रो सेटमा श्रीलंकाले १५ अंक जोड्दासम्म नेपाल पछि परिरहेको थियो । १५ अंकमा बराबरी अंक जोडेपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

बिहीबारको खेलमा तीन अंक जोडेपछि नेपाली टोली उत्साहित छ । कप्तान अरुणा शाही भन्छिन्, ‘हामीले पछिल्लो पटक खेल्दा बेस्ट अफ ५ खेलेर जितेका थियौं, यो पालि सोझो सेट हराउँदा एमदमै खुसी छौं ।’

यसअघि सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा श्रीलंकालाई नेपालले ३–२ को सेटमा पराजित गरेको थियो ।

कप्तान शाहीले आजको खेलको तेस्रो सेटमा सेटिङमा केही गल्ती भएका कारण श्रीलंकाले अग्रता लिएको बताइन् । ‘तेस्रो सेटमा मेरो सेटिङ मिस्टेक भयो । तेस्रो सेटमा मेरो हातबाट बल चिप्लिरहेको थियो । जम्प पास गर्दा पनि मिस्टेक भयो । पछि हामीले सेटर चेञ्ज गरेपछि खेलमा फर्कियौं’, उनले भनिन् ।

प्रशिक्षक जगदिश भट्ट पनि यो जितले नेपाली टिममा उत्साह थपेको बताउँछन् । खेलमा सबै खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको उनले बताए । ‘प्रशिक्षकको रुपमा मैले जस्तो सोचेको थिएँ त्यस्तै खेल खेलाडीले खेले’, भट्टले भने ।

नेपालले यसपछिका खेलमा पनि सम्हालिएर खेल्नुपर्ने उनले बताए । ‘हामीले भारत र इरानसँग खेल्नुपर्ने छ । यी दुई टिमलाई जितेर पोलको विजेताको रुपमा सेमिफाइनल खेलेमा मात्रै फाइनलमा पुग्न हामीलाई सहज हुनेछ’, उनले भने ।

नेपालको भलिबलको भविष्यका लागि यो खेल कोशेढुंगा सावित हुने प्रशिक्षक भट्टले बताए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो पालि उपाधि जितेमा भलिबल खेल निकै माथि जाने भएकाले हामी उपाधिका लागि निकै गम्भीरताका साथ लागि परेका छौं ।’

नेपालका लागि बिहीबारको नतिजा अपेक्षित नै थियो । कप्तान शाही यो जित भारतसँगको खेलअघिको राम्रो अभ्यास भएको बताउँछिन् । ‘पहिलो जितले आत्मविश्वास बढाएको छ । यो खेल भारतसँग खेल्नुअघि अभ्यासजस्तो पनि भयो । भारतसँग खेल्न हामीले अझै मिहिनेत गर्नुपर्नेछ’, उनले भनिन् ।

दुई नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शन

बिहीबारको खेलमा सुमित्रा रेग्मी र आरती सुवेदीले आधिकारिक रुपमा ठूलो प्रतियोगितामा डेब्यू गरे । पहिलो खेलमा नै उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक जगदिश भट्टले बताए ।

‘उनीहरु भनेको ५/७ वर्ष नेपाली महिला टिम हाँक्ने खेलाडी हुन् । उनीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय एरेनामा आएर जुन प्रकारको प्रदर्शन गरे त्यो उत्कृष्ट छ’, उनले भने ।

न्यू डाइमन्ड क्लबबाट भलिबल खेलेकी सुमित्राले २ वर्षसम्म घरेलु प्रतियोगिता खेलेपछि राष्ट्रिय टिममा अवसर पाएकी हुन् । अन्तर्राष्ट्रिय खेलको कम अनुभव हुँदा पनि उनले आमविश्वासका साथ खेलेको भट्टले बताए ।

बिहीबार ब्लकमा सुमित्राले राम्रो गरिन् । बेला बेला उनको स्पाइक र उचाइको फाइदा पनि उनले नेपाली टिमले पायो । कप्तान अरुणा शाहीले पनि दुबै नयाँ खेलाडीको तारिफ गरिन् । ‘टिममा आएका नयाँ बहिनीहरुले राम्रो गरिरहेका छन्’ उनले भनिन् ।

बिहीबारको खेलमा रिसिभर सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरिन् । सलिनाले बल उठाउँदा दर्शकहरुले हुटिङ गरेका थिए ।

काभा भलिबल खेलकुद महिला भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय