+
+

विराटनगरमा पक्की घर माथि उचालियो, एक ठाउँबाट अर्को ठाउँ सारियो

‘हाउस लिफ्टिङ’का लागि प्राविधिकले घरको बेसको टाइप बिम संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउँछन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् ।

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन १८ गते ८:००

१८ साउन, विराटनगर । विराटनगर बसपार्कका दिनबन्धु गोयलको घर अगाडि विराटनगर–धरान जोड्ने सडकखण्ड छ । केही समयअघि उक्त सडकको स्तरोन्नति गर्दा घरको सतहभन्दा माथि सडक पुग्यो । त्यसपछि सामान्य वर्षामा पनि उनको घर डुबानमा पर्न थाल्यो ।

भएको घरलाई डुबानबाट बचाउन गोयलले नयाँ विधि अपनाए, लिफ्टिङ प्रविधि । उक्त प्रविधि प्रयोग गरेर उनले हालैमात्र आफ्नो घर पहिलेको सतहबाट झण्डै ४ फिट माथि उचालेका छन् । लिफ्टिङ विधिको प्रयोग गरी माथि उचालेपछि गोयलको घर सडककै सतहमा आएको छ ।

विराटनगरमा लिफ्टिङ प्रविधि प्रयोग गरेर पक्की घरलाई माथि उचाल्नेदेखि एक ठाउँबाट अर्को ठाउँमा सार्न लगाउने गोयल एक्ला होइनन्, यसअघि उद्योगी राजेन्द्र राउतले पनि लिफ्टिङ प्रविधि प्रयोग गरेरै आफनो दुई तले भवन एक ठाउँबाट अर्को ठाउँमा सारेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्षसमेत रहेका राउतले पहिलेको स्थानभन्दा करिब ५५ फिट दूरीमा भवन सारेका थिए ।

राउतले नयाँ अस्पतालको संरचना निर्माणका लागि पुरानो भवन एक ठाउँबाट अर्काे ठाउँ सारेको बताउँछन् । ‘पुरानो जग काटेर नयाँ जग बनाएर जगमाथि बिल्डिङ सारिएको छ । सम्भवतः नेपालमा यसरी बिल्डिङ सिफ्ट गर्ने पहिलो हुनुपर्छ’, उनले भने ।

राउतका अनुसार नयाँ घर बनाउँदा लाग्ने खर्चको १०–१५ प्रतिशत लागतमै नयाँ जग तयार गरेर भवन सारिएको हो । भवन एक ठाउँदेखि अर्को ठाउँमा सार्न करिब दुई महिना लागेको थियो ।

करिब डेढ वर्ष अघि उद्योगी राकेश सुरानाले पनि आफ्नो सुनसरीको दुहबीमा एक तले भवन साढे चार फिट उठाएका थिए । सडक विस्तार गर्दा कार्यालय प्रयोजनका लागि बनाएको घर डुबानमा परेपछि लिफ्टिङ प्रयोग गरेर उठाएको उनले बताए । तीन वटै घर उचाल्ने र सार्ने कामका लागि भारतीय प्राविधिसहितको टोली खटिएको थियो ।

यसरी घर माथि उचाल्दा पनि घरमा कुनै समस्या नआएको सुरानाको दाबी छ । ‘अफिस सडक भन्दा तल परेपछि लिफ्टिङबाट सडकभन्दा माथि उठाएँ, त्यस्तो कुनै समस्या छैन,’ उनले भने, ‘विराटनगरजस्तो सडक विस्तार गर्दा सडकभन्दा तल परेका घरहरु माथि उठाउनका लागि लिफ्ट उपयुक्त विधि हो ।’

लिफ्टिङ विधिबाट सडकभन्दा माथि भवन उठाएपछि डुबानको समस्या हटेको सुराना बताउँछन् । विराटनगर बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा बर्खामा डुबानको समस्या हुने गरेको छ ।

कसरी सारिन्छ भवन ?

‘हाउस लिफ्टिङ’का लागि प्राविधिकले घरको बेसको टाइप बिम संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउँछन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् । जग उठाएपछि खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् ।

सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने प्राविधिकको दाबी छ । भारतीय एलबीएल हाउस लिफ्टिङले बसपार्कमा दुई तल्ले घर उठाउन ३ सय वटा जग र ३० जना मजदुर प्रयोग गरेको छ ।

घर उचाल्ने काम गरिरहेका इन्जिनियर लालचन्दकुमार गुप्ताले सामान्य प्रविधिको प्रयोग गरी जोखिमरहित रुपमा लिफ्टिङ गरिरहेको बताए ।

हाउस लिफ्टिङलाई ‘जग टेक्नोलोजी’ पनि भनिने इन्जिनियर गुप्ताले बताए । भारत र नेपालमा काम गरिरहेको बताउने उनी नेपालमा एक सय बढी घर उठाउने र सार्ने काम गरेको बताउँछन् । यसरी घर उचाल्नका लागि न्यूनतम दुई महिना लाग्ने उनको भनाइ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?