+
+

कर्णालीमा राजीवविक्रमको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते ११:०४

१८ साउन, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको कांग्रेस प्रमुख सचेतक विष्टले बताए । ‘अहिले हामी प्रदेश प्रमुखज्यूको पदभार ग्रहण कार्यक्रममै छौँ । आज नै सरकारमा सहभागी हुने करिब निश्चित नै हो,’ उनले भने ।

तर कंग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिनसकेको विष्टले बताए । ‘सरकारमा को सहभागी हुने, कसको नेतृत्वमा जाने भन्ने कुरा अझै टुङ्गो लागेको छैन । त्यो माथिबाटै आउँछ,’ उनले भने ।

शीर्ष नेताहरूले सरकारमा जाने मन्त्रीहरूको नाम पठाएपछि मुख्यमन्त्रीलाई बुझाइने विष्टले बताए । कांग्रेस नेता जीवनबहादुर शाही र उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीका लागि अन्तिम नामावली पठाउने छन् ।

जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने स्रोतको दाबी छ । दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्रीका मुख्य दाबेदार हुन् । ‘राजीव दाइको नेतृत्वमा सरकारमा जाने टुङ्गो एक साता अगाडि नै लागिसकेको हो । मन्त्रीमा विवाद थियो त्यो पनि मिलिसक्यो’ कांग्रेसका एक सांसदले भने ।

शाह नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले वरिष्ठताका आधारमा उनकै नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो ।

दैलेखबाट निर्वाचित सांसद पूर्ण चालिसे र घनश्याम भण्डारी बीच मन्त्री बन्न कडा प्रतिस्पर्धा रहेको नेताहरू बताउँछन् । पछि शीर्ष नेताहरूले नै यो पटक घनश्यामलाई मन्त्री बनाउन तयार भएको ती सांसदको भनाइ छ । ‘पछि शपथ लिने बेलासम्म केही चेन्ज पनि हुन सक्छ । यदि नभए उहाँहरू चार जना नै मन्त्री बन्नु हुन्छ,’ ती सांसदले भने ।

स्रोतका अनुसार शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग पर्यटन वन तथा वातावरण र बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । चारमध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सल्यानका सुरेश अधिकारी इतर पक्षधर हुन् ।

८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चार वटा कांग्रेसले सम्हाल्ने सहमति भएको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?