+
+

समूहबाट स्वावलम्बी बन्दै बाँकेका दलित महिला

रासस रासस
२०८१ साउन १८ गते १२:३३

१८ साउन, बाँके । समूह गठन गरेर बाँकेका दलित महिला उद्यमीसँगै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । स्थानीय सृजनशील दलित महिला समूहमा आबद्ध भएर गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका हुन् ।

‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’, महिला समूहमा आवद्ध रहनुभएकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर घरखर्च धानें, श्रीमान्ले कतारमा कमाएको पैसा बचाउन सक्यौं ।’

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले गाउँमै सञ्चालन गरेको नास्ता पसलबाट मनग्य आम्दानी गर्दै आएकी छन् । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुईदेखि ३ हजारसम्मको नास्ता बिक्री हुने गरेको छ ।

सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका धेरै दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा सबल बन्न थालेका छन् । थोरै पैसाका लागि विगतमा श्रीमानको भर पर्दै आएका महिला अहिले कुखुरापालन, तरकारीखेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरेका हुन् ।

समूहमा आबद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका–३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् ।

आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले सहयोग गर्नसके महिला हिंसा घटाउन मद्दत पुग्ने जुनाको भनाइ छ । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने विपन्न वर्गका दलित महिला पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–१ स्थित हातेमालो कृषक समूहकी अध्यक्ष बिन्दु विकले बताइन् ।

‘दलित महिलाहरुलाई आम्दानीको स्रोतको सृजना गरी विभिन्न पेसा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानी गर्ने गरिएको छ’, उनले भनिन्, ‘समूहमा बचत गरेर १० लाख रुपैयाँ जम्मा गरेका छौं, समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’

समूह गठनपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ ।

हातेमालो समूहअन्तर्गतका २५ जना दिदीबहिनीले गाउँमा सामूहिक धान रोपाइँ गरेर ३ लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । ‘गत वर्ष १७ जनाको समूह बनाएर सामूहिक रोपाइँको सुरु गरेका थियौं, त्यसबाट एक लाख पाँच हजार रुपैयाँ आम्दानी भएको थियो’, हातेमालो कृषक समूहकी सचिव अञ्जली सुनारले भनिन् ।

बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेसामा होमिएकी छन् । अहिले उनको फार्ममा बाख्रा, लोकल र कडकनाथ जातका  कुखुरा छन् । कुखुरा किन्न व्यापारी घरमै आउने गरेको उनले बताइन् ।

दलित महिला सङ्घको सहजीकरणमा गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रूपमा सक्षम भएका छन् । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ जना सदस्य रहेका ५४ महिला समूह सक्रिय रहेका दलित महिला सङ्घकी अध्यक्ष निर्मला सुनारले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?