+
+

जब ऋणमा डुबेका मजदुरले भेट्याए १ करोड ३० लाखको हिरा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:३०
फाइल फोटो

काठमाडौं । छिमेकी मुलुक भारतको मध्यप्रदेशका एकजना मजदुर रातारात करोडपति भएका छन् । राजु गोँड नामक ती व्यक्तिले पन्ना जिल्लामा भाडामा लिएको खानीबाट एउटा ठूलो आकारको हिरा फेला पारेका छन् ।

१९.२२ क्यारेटको उक्त हिरा सरकारी लिलामीबाट करीब ८० लाख भारु अर्थात् १ करोड ३० लाख रुपैयाँमा बिक्री भएको छ । राजुले उक्त खानी विगत १० वर्षदेखि लिजमा लिएका थिए ।

पन्ना विशेष गरी हिराको लागि प्रसिद्ध छ । त्यहाँ धेरै मानिसहरुले सरकारबाट खानी लिजमा लिएर हिरा खोज्ने कोसिस गर्दछन् ।

भारतको केन्द्र सरकारले राष्ट्रिय खनिज विकास निगम मार्फत् पन्नामा एउटा यान्त्रिक हिरा उत्खनन परियोजना सञ्चालन गर्दछ ।

निगम मार्फत् खानीहरु लिजमा लिएर सर्वसाधारण समेतले सानातिना औजारको माध्यमबाट हिरा खोज्ने गर्दछन् । स्थानीय मानिसहरुले तिर्नुपर्ने भाडादर निकै सस्तो छ । खानीलाई निश्चित समयका लागि करीब ३ सय भारुमा लिजमा दिइन्छ ।

उनीहरुले उत्खननका क्रममा फेला पारेका चिजवस्तु निगमको कार्यालयमा जम्मा गर्नु  पर्दछ । उक्त कार्यालयले प्राप्त हिराको मूल्यांकन गर्दछ ।

यसअघि सन् २०१८ मा स्थानीय अर्का एक मजदुरले पनि डेढ करोड भारु मूल्य पर्ने हिरा फेला पारेका थिए ।

यसपटक गत बुधबार राजु गोँडले ठूलो हिरा फेला पारे, जसले उनको भाग्य चम्काइदियो । त्यो क्षण सम्झिँदै उनी भन्छन्– मैले चट्टानहरुलाई धोएर निकाल्दै थिएँ । तब काँचजस्तो देखिने एउटा टुक्रा देखियो । मैले त्यसलाई समाएर आँखाको नजिकै ल्याएर हेरेँ । मन्द प्रकाश देखियो । त्यसपछि मलाई महसुस भयो कि मैले हिरा फेला पारेँ ।

त्यसपछि उनले सो हिरालाई सरकारी हिरा कार्यालयमा लगे । त्यहाँ सो हिराको नापजाँच तथा मूल्यांकन गरियो । जसको मूल्य ८० लाख भारु तोकियो ।

सरकारी लिलामीमा बिक्री भएसँगै रोयल्टी र कर कट्टा गरी बाँकी रकम राजुलाई दिइने छ ।

लाखौँको हिरा पाएपछि राजुको परिवारमा खुसी छाएको छ । उक्त पैसाबाट परिवारका लागि राम्रो घर बनाउने र सन्तानलाई राम्रो शिक्षा दिने राजुको योजना छ । साथै ५ लाख भारु ऋण पनि त्यसबाटै तिर्ने बताएका छन् ।

यति धेरै कमाएपछि पनि राजुले परिश्रम गर्न भने छाड्दैनन् । उनी भन्छन्– भोलि म पुनः सोही खानीमा काम गर्न जानेछु र फेरि हिराको खोजी गर्न सुरु गर्नेछु ।

–बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?