+
+

अन्तरिक्षमा किन भीमकाय छाता बनाउन चाहन्छन् इजरायली वैज्ञानिक ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:४४

काठमाडौं । जलवायु परिवर्तन तथा उष्णीकरण वर्तमान विश्वको ज्वलन्त समस्याको रुपमा रहेको छ । यो विश्वव्यापी चुनौतीको सामना गर्नका लागि इजरायली वैज्ञानिकले एउटा अनौठो उपाय पत्ता लगाएका छन् ।

वैज्ञानिक प्राध्यापक योरम रोजेनले एउटा अन्तरिक्ष छाताको नमूना (प्रोटोटाइप) विकसित गर्नका लागि डेढ करोड डलर लगानी जुटाउँदै छन् । सो अत्याधुनिक परियोजनाको लक्ष्य भनेको ठूलो परिमाणमा उक्त अन्तरिक्ष छाताका माध्यमबाट पृथ्वीमा छहारी प्रदान गरी जलवायु परिवर्तनको प्रभाव कम गर्नु हो ।

इजरायल इन्स्टिच्युट अफ टेक्नोलोजीको एसर स्पेस रिसर्च इन्स्टिच्युटका शोधकर्ता रोजेनले पृथ्वीभन्दा १५ लाख किलोमिटरको दूरीमा अन्तरिक्षमा २५ लाख टन वजनको छाता स्थापित गर्ने कल्पना गरेका छन् । उक्त छातालाई यस्तो प्रकारले डिजाइन गरिनेछ कि त्यसले सूर्यबाट आउने विकिरणमध्ये २ प्रतिशतलाई रोक्नेछ र पृथ्वीलाई छहारी प्रदान गर्नेछ ।

यो छाताको छहारीले १२ देखि १८ महिनाभित्रमा विश्वको तापमानलाई १.५ डिग्री सेल्सियससम्म कम गर्ने अनुमान वैज्ञानिकको छ ।

स्मरण रहोस् औद्योगिक क्रान्तिको समय भन्दा अगाडिसम्म सूर्यको तर्फबाट पृथ्वीलाई तताउने र पृथ्वीबाट उक्त अधिक तापमानलाई अन्तरिक्षमा परावर्तन गर्ने प्रक्रियाको बीचमा सन्तुलित अवस्था कायम थियो । तर औद्योगिक क्रान्ति पश्चात् मानवीय क्रियाकलापबाट हरितगृह ग्याँसको उत्सर्जन अत्यधिक बढ्दा पृथ्वीको आफैंलाई शीतल राख्ने क्षमतामा ह्रास आएको छ र तापमान वृद्धि भैरहेको छ ।

कसरी गर्नेछ यो छाताले काम ?

प्राध्यापक योरम रोजेन र उनको टिमले एउटा यस्तो भीमकाय छाताको कल्पना गरेको छ जसले पृथ्वी तात्ने गतिलाई कम गर्नेछ ।

यो अवधारणामा एउटा परावर्तक तथा अपारदर्शी छातालाई एक स्थिर कक्षमा स्थापित गरिनेछ । यो सूर्यको परिक्रमाका क्रममा पृथ्वीसँगै घुम्नेछ । यो छाता पातलो तथा परावर्तक सामग्रीबाट बनेको हुनेछ र यसको स्थानका उद्देश्य गुरुत्वाकर्षण तथा सौर्य हावाको प्रभावलाई कम गर्नु हुनेछ ।

यो परियोजनामा भविष्यमा ठूलो आकारको छाता तयार गर्ने महत्वाकांक्षी योजना रहेको भए पनि सुरुवाती लक्ष्य चाहिं ब्ल्याकबोर्ड आकारको एउटा प्रोटोटाइप बनाएर परीक्षण गर्नु रहेको रोजेनले बताएका छन् ।

कति लाग्छ खर्च ?

यो प्रोटोटाइपले पूर्णस्तरमा परियोजना कार्यान्वयन गर्नुभन्दा पहिले सो प्रविधिलाई प्रमाणित गर्नमा सहयोग गर्नेछ ।

यो परियोजना पूर्णरुपमा सम्पन्न गर्न ३० ट्रिलियन डलरसम्म खर्च लाग्ने बताइएको छ । यो भनेको अमेरिकाको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि धेरै हो । तथापि यो रकम यस शताब्दीको अन्त्यसम्ममा विश्वमा जलवायु परिवर्तनका कारण हुने अनुमानित प्रत्यक्ष आर्थिक क्षतिको मात्रा भन्दा कम रहेको बताइन्छ । उसो त प्रोटोटाइप तयार गर्न पनि मनग्गे रकम चाहिन्छ ।

वैज्ञानिक रोजेनका अनुसार यो छाता सूर्य र पृथ्वीको बीचमा बादल लागेको जस्तो होइन । यसले सुदूर आकाशमै सूर्यका विकिरण अर्थात् तापमानको उल्लेख्य हिस्सा रोकेर पृथ्वीमा आइपुग्ने तापमानको हिस्सामा कमी ल्याइदिनेछ । जसले गर्दा पृथ्वीमा हरेक दिनको दिउँसोको उच्चतम तापमान तथा औसत तापमानमा कमी आउनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?