+
+

‘हजुर आउनु’ गजल नक्कल गरेर युट्युबमा राखेको भन्दै अञ्जु पन्तसहित सर्जकको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १३:२६

काठमाडौं । अञ्जु पन्तको स्वरमा पाँच वर्षअघि सार्वजनिक भएको गजल ‘हजुर आउनु’लाई हुबहु नक्कल गरी युट्युबमा सार्वजनिक गरिएकोप्रति सर्जकले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका पन्त, संगीतकार मुरारी गुरागाईं र रचनाकार शिशिर भट्टराईले सिर्जनात्मक सम्पत्ति चोरी गर्नेमाथि कारवाहीको माग गरेका छन् ।

अहिले उक्त गीत ‘नेपाल मिडिया’ नामक युट्युब च्यानलमा अरुकै संगीत र स्वरमा रेकर्ड गरी म्युजिक भिडियो समेत बनाई एक वर्षअघि नै सार्वजनिक गरिएको पाइएको विज्ञप्तिमा उल्लेख छ । रचनाकार अन्जान भुटानीको नाममा गीत रेकर्ड तथा प्रसारण गरिएकोप्रति गीतप्रति मौलिक सर्जकको आपत्ति छ ।

भट्टराईको रचना रहेको उक्त गजल ‘हजुर आउनु’ २०७० साल जेठ २९ गते लेखिएको, सन् २०१८ मा केही शब्द सच्याई पुनर्लेखन गरिएको र सन् २०१९ मा अकस्टिक रेकर्डिङ स्टुडियोमा अञ्जु पन्तको आवाजमा रेकर्ड भएको उल्लेख छ ।

सोहीअनुसार उक्त गजलको अडियो तथा भिडियो निर्माता गुरागाईं रहेको र उनले नै म्युजिक भिडियो बनाएर चार वर्षअघि रिलिज गरेको जनाइएको छ ।

यो गजल अझै पनि श्रोता-दर्शकमाझ अपेक्षित रुपमा नपुगेको हो कि भन्ने लागेर गजलकार, संगीकार, गायिका र निर्माताको सहमतिमा एक हप्ताअघि ‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलमा राखिएको समेत प्रष्ट पारिएको छ । यसरी पुनः अर्को च्यानलमा राखिएपछि गजल चोरी भएको भन्ने कमेन्ट आउन थालेपछि चोरीबारे पत्ता लागेको जनाइएको छ ।

‘जानाजान अरुको सिर्जनालाई चोरी गर्नु एक अपराध मात्र होइन, स्रष्टामाथिको अन्याय पनि हो । तसर्थ नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सत्य तथ्य पत्ता लगाई सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरू माथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

क्षणिक लोकप्रियता र युटयुब भ्युज पाउनकै लागि गरिने यस्ता खालका हर्कतबाट नेपाली संगीत क्षेत्रका सम्पूर्ण सर्जक, कलाकार, संगीतकार तथा श्रोता-दर्शकलाई समेत सजग रहन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?