+
+

‘रावायण’को एक्सनप्रधान टिजर, पूजा भन्छिन्- अब रोएर फिल्म चल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १४:२५

काठमाडौं । भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको एक्सनप्रधान टिजर सार्वजनिक गरियो ।

टिजरमा शीर्ष भूमिका निर्वाह गरेका अभिनेता पल शाहको एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ । दाह्रीजुंगा र कपालको गेटअपमा देखिएका पल पूरै एक्सन अवतारमा प्रस्तुत छन् ।

टिजरमा पूजा शर्मा र प्रियंका कार्कीलाई पनि स्थान दिइएको छ । प्रियंकालाई मुस्लिम महिला र पूजालाई पलकी प्रेमिकाको रुपमा दर्शाइएको छ । प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल खलपात्रमा प्रस्तुत छन् । पूर्वमिस नेपाल निकिता चाण्डकको पनि झलक देख्न सकिन्छ ।

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । आफूलाई प्रेमकथाका फिल्ममा प्रस्तुत गर्दै आएका सुदर्शनको यो दोस्रो एक्सन फिल्म हो । यसअघि ‘धन्दा’मा उनले सिरियल किलरको कथा पस्किएका थिए । ‘प्रसाद २’ मा जातीय विभेदको कथा भनेका थिए ।

पत्रकार सम्मेलनमा निर्देशक थापासहित कलाकार पल, पूजा र प्रियंका पनि सहभागी देखिए । पूजा यो फिल्मकी निर्मात्री समेत हुन् । ‘अहिले टिजरमा मात्र मेरो भिजन देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ,’ निर्देशक थापाले भने, ‘यो फिल्म मेरा लागि चुनौतीपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोसिस गरेको छु ।’

अभिनेता शाहले आफूलाई रोमान्टिक छविमा देख्दै आएका दर्शकले यसमा आफूलाई नयाँ स्वादमा पाउने बताए । यो फिल्ममा आफू दोहोरो भूमिकामा देखिएको उनले बताए ।

‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र राघव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ,’ उनले भने, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतीपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’

अभिनेत्री तथा निर्मात्री शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ,’ उनले भनिन् ।

कलाकार प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे । अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि फिल्मको पात्र चुनौतीपूर्ण रहेको बताए ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बनेको हो । फिल्मका कार्यकारी निर्माता सुशन पाठक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?