+
+

‘शारीरिक सम्बन्ध र बलात्कार छुट्याउन समाज बुझ्नुपर्छ’

उमेरजन्य सम्बन्ध र बलात्कारका विषयमा प्रहरी, सरकारी वकिल र अदालतले सामाजिक पक्ष नहेरी कानुनी पक्ष मात्रै हेर्दा यो जटिलता आएको हो । राज्य संरचनाले जबसम्म सामाजिक सम्बन्ध नबुझी त्यसलाई अपराध मात्रै करार गर्छ यो समस्या हल हुँदैन ।

डा. मीना उप्रेती, समाजशास्त्री डा. मीना उप्रेती, समाजशास्त्री
२०८१ साउन १८ गते १७:०७

कुनै कुरा हेर्दा एउटा कानुनी पाटोबाट हेर्छौं । राज्यको कानुन र संविधानसँग जोडेर हेर्छौं । अर्को चाहिं सामाजिक कानुनबाट हुन्छ । अहिलेसम्म हाम्रो समाजमा चाहिं राज्यको कानुनभन्दा पनि सामाजिक कानुन बलियो भएको अवस्था हो ।

समाजले कुनै पनि कुरामा यति धेरै दबाब दिन्छ कि व्यक्ति र परिवार निरीह बन्न जान्छन् । अनि, कुनै पनि बेला समाज यति धेरै हाबी भइदिन्छ, त्यो पनि समाजका थोरै व्यक्तिहरूको बोलवालामा ।

धनी भनिएकाहरू, जसलाई एलिट भन्छौं-गन्यमान्य भनिएकाहरू, उनीहरूभित्र नेताहरू पर्लान्, धनीहरू पर्लान्, ठूला जातका पर्लान्– उनीहरूको दबाब यति धेरै हुन्छ कि पीडित भनिएका अथवा पीडक भनिएकाहरूको वास्तविक पहिचान हुनै सक्दैन ।

समाजका केही पीडितहरू पहिले पुलिसकहाँ जान्छन्, अदालत पुग्छन्, राम्रै चक्कर लगाउँछन्, अनि यति धेरै संरचनाको दबाब हुन्छ कि उनीहरू थेग्न नसकेर फेरि पहिलेकै ठाउँ समाजमा फर्किन्छन् । अनि, उनीहरूले जे भन्छन्, त्यही मान्न बाध्य हुन्छन् ।

 

अर्को कुरा के हो भने कानुन कार्यान्वयन गर्ने तहमा बस्ने व्यक्ति अथवा पुलिसहरू पनि समाजकै उत्पादन हुन् । उनीहरूलाई कहिल्यै पनि एजेन्डा, सवाल र विषयवस्तुको गाम्भीर्य भन्दा पनि समाजले के भन्छ, भोलि के हुन्छ भन्ने लाग्छ ।

म कुन ठाउँमा छु, मेरो कसरी जागिर जोगाउने भन्नेतिर ध्यान हुन्छ । अर्थात्, मैले कसरी न्याय दिने भन्दा पनि आफूलाई अवसर अथवा हितमा राखेर काम गर्ने गरिन्छ । त्यसैले नेपाल जस्तो समाजमा कानुन सही रूपमा कार्यान्वयन कहीं पनि हुँदैन ।

एउटा उदाहरण– कुनै एउटा घटनालाई बालविवाह होइन भन्छन्, तर्क गर्छन् । तर, पृष्ठभूमि हेर्दै जाने हो भने त्यो बच्चालाई कागज २० वर्ष पुगेको बनाइदिएको हुन्छ । त्यो कसरी बन्यो भन्दा समाजले बनाइदियो ।

त्यो समाजमा को थियो र त्यसरी कागजात बनाइयो ? त्यहाँ अरू कुनै अप्ठ्यारो सम्बन्ध थियो र बनाइयो कि ? अथवा उनीहरू प्रेम सम्बन्धमा थिए भनेर सही शिक्षाको अभावमा बच्चाबच्चीहरू पीडित भए भने त्यसलाई पनि उनीहरूले छुट्याउनु प¥यो ।

समाज एकातिर पुरानो ढर्रामा चलिरहेको थियो । प्रविधिहरू भित्रिएपछि यो झन् डरलाग्दो अवस्थामा पुगेको छ, अहिले । अहिले हेर्ने हो भने हाम्रो मोबाइल, हाम्रो सम्बन्धहरू, फेसबुक, लाइभ, टिकटक आदि सबैले गर्दा समाजमा सहजै सम्बन्ध बन्ने र भत्कने प्रवृत्तिलाई बढावा दिन्छ ।

व्यक्तिका सम्बन्धहरूको धरातल एकदम कमजोर हुन्छ, सामाजिक सम्बन्धको धरातल बलियो हुन्छ । जसले गर्दा यस्ता मुद्दाहरू बढ्छन् र त्यो बढेर पनि पूर्ण न्यायिक रूपमा छानबिन नभइकन आफ्नै तरिकाले फैसला हुन्छन् ।

आफ्नै तरिकाले उनीहरू होस्टायल हुन्छन्, अथवा आफ्नै तरिकाका कुराहरू हुने हुनाले जबसम्म सामाजिक संरचनामा, सोचमा निश्चित रूपमा परिवर्तन हुँदैन र पुलिस, सरकारी वकिल र अदालतमा न्यायिक रूपमा छानबिन गर्ने सोच भएका मानिसहरू पुग्दैनन्, तबसम्म यस्ता घटना भइरहन्छन् ।

प्रहरी, अभियोजन गर्ने सरकारी वकिल र अदालत तीनवटै तहमा बसेकाहरूले यस्तो घटनामा सामाजिक पक्षलाई नहेरी कानुनी पक्ष मात्र हेर्दा यो जटिलता देखिएको हो । राज्य संरचनाको त्यो तहमा बसेकाहरूले जबसम्म सामाजिक पक्षलाई नजोडी त्यसलाई अपराधको रूपमा मात्रै हेर्छन्, तबसम्म यो समस्या हल हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा कानुनले के भन्छ र समाजले के भन्छ भनेर दुवै पक्षलाई सँगसँगै हेर्नुपर्छ । हामी सामाजिक प्राणी हौं भनेर पहिल्यैदेखि पढेर आयौं । सामाजिक प्राणी हुुनका लागि पनि हामी समाजमा सामाजिक बन्दै आउनुपर्ने हो, तर हामी असामाजिक बन्दैछौं । त्यसको असर चाहिं पुरुष वा महिला दुवैलाई पर्न जान्छ ।

तर, जुनसुकै धारमा पनि हामीले एउटा कुरा प्रष्ट के बोल्न सक्नुपर्छ भने समाज छोराहरूको हो, छोरीहरूको कम हो । छोराहरूलाई सकेसम्म बचाउने हाम्रो समाज, छोराहरूलाई सकेसम्म बचाउने पुलिस प्रशासन, सकेसम्म बचाउने हाम्रो न्याय प्रशासन । होला कतिपय एक÷दुई वटा केसहरू अपवाद पनि होलान् !

तर, हामीले समग्रमा पनि हेर्नुपर्छ । कतिपय केसहरू अदालतमा आइपुगेका हामीले हेर्छौं, यस्ता यस्ता केस आउँदा रहेछन् भन्छौं । तर, यस्तो विषयमा कहिल्यै गहिरिएर अध्ययन भएको छ ? समाजमा अन्तरनिहित घटनाहरूबारे हामीले कहिल्यै अध्ययन गरेका छौं ?

जब समाजमा भएका यस्ता घटना भित्रभित्रै मिलाइन्छन् भने ती जो पुलिसमा आएका मुद्दाहरूलाई पनि अगाडिको संरचनाले पहिल्यै मिलाउन खोज्छ । अनि, उमेर बढाउने कुरा, जबरजस्ती विवाहका कुरा पनि एकातिर आउँछन्, अर्कातिर छुट्याउने कुराहरू पनि आउँछन् ।

अहिले विवाह गर्ने उमेरको सन्दर्भमा पनि कहिलेकाहीं बहस भइरहेको हुन्छ । विवाहको र यौनको मामला फरक हो । बाहिरी समाजमा यस्तो किन हुँदैन भने जति पनि शारीरिक सम्बन्धमा कुनै बन्देज हुँदैन । त्यो भएपछि विवाह नै गर्नुपर्छ भन्ने हुँदैन ।

हाम्रोमा चाहि शारीरिक सम्बन्ध हुन विवाह नै गरेको हुनुपर्छ भन्ने मान्यता छ । अब यसले के गर्छ भने स्वभावले नै अहिलेका बच्चाहरूमा चाँडै म्याचुरिटी आउँछ, त्यसको अर्थ उनीहरूसँग त्यसबारे ज्ञान हुन्छ, उनीहरू अगाडि आउँछन् भने यो कुरालाई पनि अन्यथा लिनुहुँदैन ।

अहिले विद्यालयमा कक्षा ८ देखि १० सम्मका बच्चाहरूले पनि यस्तो सम्बन्ध राखेको पाइन्छ । जुन कुरा औषधि पसलमा गएर सोध्ने हो भने थाहा पाउन सकिन्छ । आकस्मिक ट्याब्लेट लिनेहरूको अध्ययन गर्ने हो भने त्यो थाहा हुन्छ । यी विषयहरूमा खुलेर छलफल गर्ने हो भने आफसेआफ आफैं कम भएर जाने विषयहरू हुन् ।

अहिले अधिकांश भएका कुराहरू के हुन् भने विवाहलाई अर्को व्यक्तिको साथ भन्दा पनि उमेरको जिज्ञासा, उमेरको चाहना जस्ता कुराहरूले बढी ध्यान दिंदैछ । जुन कुराहरू चाहिं बच्चाहरूलाई हामीले के के कुरा सिकाउने, मोबाइलमा के के कुरामा एक्सेस दिने भन्ने कुरामा हाम्रो नियन्त्रण छैन ।

एककिसिमले हामीले खुला रूपमा छाडेका छौं । त्यसले गर्दा पनि बच्चाहरूमा अनेक जिज्ञासा हुन्छन्, उनीहरूमा राम्रो मोबाइलहरूमा एक्सेस हुन्छ । यसले उनीहरू समाजभन्दा लुकेर काम गर्न सक्छन् । लुकेपछि केही समयपछि परिवार, स्कुलबाट थाहा हुन्छ, त्यसपछि उनीहरूलाई आक्षेप लगाइन्छ, कतिपयले त्यस्तो अवस्थामा नराम्रो बाटो पनि लिन्छन् ।

कतिपय जिउनका लागि परिवार र समाजसँग जुध्नुपर्ने हुन्छ । जो सक्दैनन्, सकिहाले पनि बाहिर छवि नराम्रो हुने भएकाले निराश हुन्छन्, फ्रस्टेड हुन्छन् । अप्रिय निर्णय पनि लिनसक्छन् । त्यसलाई पनि हामीले सोच्नुपर्छ ।

अहिले यस्तो किसिमका घटनामा मुछिएका मान्छेहरूमा जीवनभर फ्रस्टेसन आइरहेको हुन्छ । समाजले हेर्ने दृष्टिकोण फरक हुँदैन । समाजले बच्चा भनेर हेर्दैन । किन यतातिर धकेलियौं भनेर हेर्दैन । ती अबोध भनिएका अपरिपक्व व्यक्तिहरूलाई नै आक्षेप लगाइरहेको हुन्छ ।

यो सबभन्दा ठूलो गल्ती हो । समाजमा भएका नियम, कानुन, मान्यता सबै परिवर्तन गर्नुपर्छ । समय अगाडि जाँदैछ, हाम्रो सोचहरू भने पछाडि गइरहेका छन् । त्यसो हुनाले नेपालको सन्दर्भमा समयसापेक्ष, समाजसापेक्ष कानुन बनाउनुपर्छ । हरेक व्यक्तिहरू बढ्दैछन् भने उनीहरूको उमेरसँगै आउने बदलावलाई सम्बोधन गर्ने कार्यक्रम, अभियान पनि चलाउनुपर्छ ।

यस्तै परिवार, समाज, स्कुलमा पनि सचेतना फैलाउनुपर्छ । यो विषयमा बहस, छलफल हुनुप¥यो । दुई जना मान्छेको सनक होइन कि यो विषयमा राष्ट्रिय बहस हुनुपर्छ । किनभने, यो घर–घरको समस्या हो । हाम्रो समाज राजनीतिक मुद्दामा मात्रै विश्लेषण गर्छ, धेरैजसो सामाजिक मुद्दा केलाइँदैन ।

जबसम्म सामाजिक, पारिवारिक मुद्दा केलाइँदैन, जबसम्म व्यक्तिलाई केन्द्रमा राखेर अध्ययन गरिंदैन तबसम्म यस्ता समस्या आइरहन्छन् । हामी एउटा बहस गरिरहन्छौं, घटना अर्को घटिरहन्छ । निर्णय एउटा गर्छौं, असर अर्को परिरहन्छ । त्यसैले यसका लागि अनुसन्धान गर्नुपर्छ, अध्ययन गर्नुपर्छ । बहस चलाउनुपर्छ ।

 (समाजशास्त्री डा. उप्रेतीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?