+
+

‘किताब जात्रा’को छैटौं संस्करण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १७:११

काठमाडौं । ‘किताब जात्रा’को छैटौं संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

आर्मी अफिसर्स क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य र संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा ‘सामाजिक चेतना : हिजो र आज’ विषयमा छलफल हुँदैछ ।

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दीपेन्द्र गौचन, प्रदीप भट्टराई र ऋचा शर्मासँग ‘सिनेमा मन्थन : नेपाली सिनेमाको सपना’ शीर्षकमा छलफल हुनेछ ।

कवि विप्लव प्रतीकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ । त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् ।

महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स् शीर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समीक्षकको उपस्थिति, मूलधारबाट सधैं उपेक्षामा कला, हास्य विधा : शक्ति र चुनौती, सञ्चारका सारथी लगायत विषयमा छलफल हुनेछ ।

दर्जन बढी किताबका स्टलसँगै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ ।

विप्लव प्रतीकलाई प्रेम साहित्य सम्मान

‘किताब जात्रा’को उद्घाटन समारोहमा कवि तथा गीतकार विप्लव प्रतीक सम्मानित भएका छन् । यात्रा फाउण्डेसनले उनलाई ‘प्रेम साहित्य सम्मान-२०८१’ बाट सम्मान गरेको हो ।

प्रतीकका नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास), साडेन फ्रोएडा (हाइकु संग्रह) प्रकाशित छन् । रंगकर्ममा पनि सक्रिय प्रतीक रियालिटी शो ‘द पोइट आइडल’का निर्णायक समेत छन् । प्रतीकले रचना गरेका थुप्रै गीत लोकप्रिय छन् ।

प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान १ लाख ११ हजार १११ रुपैयाँ राशिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?