+
+
कक्षा १२ को नतिजा :

१२ वर्षसम्म पढाएकै अंग्रेजीमा धेरै फेल

३ लाख ८३ हजार ९२५ जनामध्ये ७२.१० प्रतिशत मात्र अंग्रेजीमा उत्तीर्ण भएका छन् । अंग्रेजी विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २०६ छ ।

नुनुता राई नुनुता राई
२०८१ साउन १८ गते १९:१८

१८ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा दिएकामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार नियमिततर्फ २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका हुन् । ३ लाख ९० हजार ८६८ परीक्षार्थीमा यो संख्या ५२.९१ प्रतिशत हो ।

यो गत वर्ष भन्दा थोरै सुधार हो । पर्याप्त शिक्षक दरबन्दी दिएको छैन, अधिकांश अनुदानका शिक्षकले पढाइरहेका छन्, विषयगत शिक्षक अभावकाका बीच यो नतिजालाई समग्रमा ठिकै मान्न सकिन्छ ।

तर सन्तुष्ट मान्नुपर्ने अवस्था नभएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । ‘समग्रमा नतिजा केही सुधार आएको छ, तर विषयगत नतिजाहरू हेर्दा सन्तुष्ट मान्नुपर्ने अवस्था छैन’ उनले भने, ‘थुप्रै विषयको शिक्षक सिकाइ सुधार गर्नुपर्ने देखिन्छ ।’

कार्यालयका अनुसार यो वर्ष सबभन्दा बढी अनिवार्य अंग्रेजीमा नन ग्रेडिङ (एनजी) आएको छ ।

३ लाख ८३ हजार ९२५ जनामध्ये ७२.१० प्रतिशत मात्र अंग्रेजीमा उत्तीर्ण भएका छन् । अंग्रेजी विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २०६ छ ।

१२ वर्षभन्दा बढी अंग्रेजी पढाउँदा पनि अंग्रेजीमै फेल हुनुले के पढायौं भन्ने प्रश्न उठेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुईंटेल बताए । ‘हाम्रो शिक्षण विधि, पद्धतिमै समस्या छ जस्तो देखिन्छ’ उनले भने, ‘अधिकांश विद्यालयहरू अंग्रेजी माध्याममा गएको अवस्थामा पनि सबैभन्दा धेरै फेल हुनु भनेको शिक्षकको तयारी र पढाउने तरिकामै समस्या हो ।’

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायका उपप्राध्यापक कमलराज देवकोटा पनि शिक्षण सिकाइमै प्रश्न गर्छन् ।

‘नर्सरी कक्षादेखि अंग्रेजी पढाउँदा पनि सामान्य बोलीचालीको अंग्रेजी लेख्न र बोल्न नसक्ने हुनु भनेको शिक्षण सिकाइकै कमजोरी होे’ उनले अनलाइनखबरसँग भने, ‘हामीले विद्यार्थीलाई घोकेर लेख्न सिकाउँछौं, जसले गर्दा परीक्षामा लेख्न लगाएको विषयमा प्रश्न आयो भने पास हुन्छन्, नभए फेल ।’

परीक्षामा जानुभन्दा पहिला यो-यो क्षमता विकास गरिसक्नुपर्छ भनेर विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने नगर्दा नतिजा कमजोर आएको उनले बताए । ‘लेख्नअघि पढन लगाउनुपर्‍यो, पढेको आधारमा टिपोट गर्न लगाउनुपर्‍यो, टिपोटको आधारमा वाक्य बनाउन लगाउनुपर्ने होला, तर हाम्रो सिकाइ प्रणाली त्यस्तो छैन’ परीक्षामुखी शिक्षा प्रणालीमा प्रश्न गर्दै उनले भने ।

लेखा विषयमा सहभागी एक लाख ८८ हजार २०३ जनामध्ये ४७ हजार ७३३ जनाले एनजी ल्याएका छन् । सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षामा ३ लाख १७ हजार ६६१ सहभागीमध्ये ५१ हजार ८९१ जना र गणितमा ५७ हजार २७० सहभागीमध्ये ८ हजार ६०८ जनाले एनजी ल्याएका छन् ।

प्रिन्सिपल एसोसियसन अफ नेपालका अध्यक्ष सुदाम गौतम पनि नतिजा शिक्षकसँगै सम्बन्धित रहेको बताउँछन् । अघिल्ला वर्षहरुमा गणित, विज्ञान, नेपालीमा देखिएको समस्या यो वर्ष अंग्रेजी, सामाजिक विषयहरुमा देखिएको भन्दै उनले भने, ‘टिचिङ लर्निङ मेथोडोलोजीमा ध्यान दिन सकिएन वा समय व्यवस्थापनमा चुक्यौं ।’

विद्यार्थीको नतिजा हेरेर शिक्षकहरूले शिक्षण शैलीलाई मूल्यांकन गर्नुपर्ने देखिएको उनी बताउँछन् ।

शिक्षा मन्त्रालय लगायतका नियामक निकायहरु नयाँ विधिमा शिक्षकलाई अपग्रेड गर्नुपर्ने र विश्वविद्यालयहरुले पनि उत्पादित शिक्षकहरू कस्ता छन्, उनीहरुको क्षमताको स्तर कस्ता छन् भन्ने आलोचनात्मक रुपमा हेर्ने बेला भएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. लुईंटेल बताउँछन् ।

९ हजार बढीको ३.६१ देखि ४ जीपीए

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी भएका थिए । उनीहरूमध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

१०२ जनाको परीक्षा रद्द गरिएको छ । ५ हजार ६३२ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् ।

९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका छन् । २० जनाको परीक्षा रद्द गरिएको छ । २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका छन् ।

निमित र ग्रेडवृद्धि गरी कुल चार लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।

यस पटक ९ हजार ५९१ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । सबभन्दा धेरै ७८ हजार ७५ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयको अनुसार एनजी ल्याएकामध्ये एक लाख २७ हजार ७ जनाले मौका परीक्षा दिन पाउने छन् । एक वा दुई विषयमा एनजी ल्याएका वा अनुपस्थित भएकाहरूले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने हुन् । भदौ २५ र २६ गते ग्रेडवृद्धि परीक्षा हुनेछ ।

दुईभन्दा बढी विषयमा एनजी लागेका विद्यार्थीले अर्को वर्ष एनजी आएको विषयमा परीक्षा दिन पाउनेछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?